धरान । आज ब्रायन ह्युटन हज्सन (हड्सन) पाण्डुलिपि अध्ययन गर्न सयौँ नेपालीहरू बेलायत पुग्छन् । तर, ती पाण्डुलिपि नेपाल र पूर्वोत्तर भारत दार्जिलिङबाटै बेलायती नागरिक हज्सनले बेलायत पुर्याएका थिए । कुनै समय हज्सन इस्ट इन्डिया कम्पनीमा कामदारका रूपमा भारतको कलकत्ता आएका थिए । तिनै हज्सन नेपालमा भने सन् १८२१ मा नेपालको काठमाडौँ आइपुगेको बहाः जर्नलको वर्ष २ अङ्क २ को पेज नम्बर ९० मा उल्लेख छ ।
त्यहाँ भनिएको छ, ‘हड्सन कुनै विद्वान् होइनन् । उन्नाइसौं शताब्दीको पहिलो दशकमा इस्ट इन्डिया कम्पनीका कामदारका रूपमा आफ्नो भाग्य खोज्ने निर्णय गर्ने थुप्रैमध्ये एक अङ्ग्रेज युवामा हड्सन पर्छन् ।’ तर, उनी त्यहाँ आइनपुग्दै बिरामी भएका कारण स्वास्थ्यअनुकूलको वातावरण खोज्दै काठमाडौँ पठाइएका थिए । बहाः जर्नलमा लेखिएको छ, ‘उनको संवेदनशील स्वास्थ्य स्थितिलाई मध्यनजर राखेर कम्पनीले उनलाई पहाडी भेकमा रहनु पर्ने निर्णय गर्यो ।’
यसरी सन् १८२१ मा काठमाडौँ आइपुगेका उनी २२ वर्ष अर्थात् सन् १९४३ सम्म काठमाडौँमै बसेको थुप्रै तथ्यहरूबाट पाउन सकिन्छ । उनले नेपालका लागि इस्ट इन्डिया कम्पनीको आधिकारिक प्रतिनिधि भएर काम गरेका थिए । तात्कालीन समयमा हज्सनले उपत्यकामा अवस्थित थुप्रै पुस्तकालयबाट सामग्रीहरू सङ्कलन गरेको बताइन्छ ।
तात्कालीन समयमा केही यस्ता पुस्तकालय थिए । जसमध्येको एक वीर पुस्तकालय (हाल रामशाहपथमा अवस्थित राष्ट्रिय अभिलेखालय) मा जो पायो उही नेपालीहरूलाई प्रवेश लगभग बन्द रहेको शताब्दी पुरुष सत्यमोहन जोशीले मदन पुरस्कार गुठीले २०६५ सालमा मदन पुरस्कार वितरण कार्यक्रममा बोलेको विद्वत् प्रवचनमा उल्लेख छ । जहाँ अङ्ग्रेज तथा विदेशी नागरिकलाई मात्रै प्रवेश अनुमति थियो । नेपालीलाई हत्तपत्त प्रवेश नदिने विषयमा प्रवचनमा उनले भनेका छन्, ‘एक त पुस्तकालयका अधिकारीहरूले जो पायो उसलाई पाण्डुलिपिका पुस्तकहरू देखाउँदैनन् पनि, केवल माथिल्लो तहबाट स्वीकृति बक्साएर आउने विदेशी विद्वान् र विदुषीहरू मात्र यदाकदा पुस्तकालयभित्र अध्ययन–अन्वेषण कार्यमा व्यस्त भइरहेका देखिन्थे ।’
त्यस पुस्तकालयमा अङ्ग्रेजहरू महिनौँ दिन त्यहाँ अध्ययन–अन्वेषण गर्दथे । त्यहीमध्येका हज्सन पनि एक थिए । हज्सनले चाहिँ तत्कालीन समयमा सामग्री अध्ययनमा मात्रै सीमित पारेनन् । सामग्रीको पाण्डुलिपि नै गरेर सङ्ग्रह गरेको जोशीको प्रवचनमा उल्लेख छ । त्यहाँ भनिएको छ, ‘अङ्ग्रेजी कूटनीतिज्ञ हड्सन काठमाडौँ आएर दश वर्ष बस्ता उनले त्यसबेला ललितपुर (पाटन) निवासी पण्डित अमृतानन्दा बाँडालाई संस्कृत भाषा सिकाउने गुरु थापेका थिए र उनी आफ्नै गुरुमार्फत् संस्थागत र व्यक्तिगत रूपमा सङ्ग्रह भइरहेका विविध विषयका पाण्डुलिपि ग्रन्थहरू खोजी गरेर पोका पनि पार्थे ।’ वहाः जर्नलमा थप पुष्टि हुने गरी यसरी उल्लेख गरिएको छ, ‘बुद्ध धर्मका पुरोहितको सहयोगमा हड्सनले चाहेजति पाण्डुलिपिहरू भेट्टाउँछन्, बेच्छन्, प्रतिलिपि बनाउँछन्, व्यापार गर्छन् र रेकर्ड गर्छन्, अर्थात् अर्को शब्दमा भन्नुपर्दा जे जति कुराहरू गर्न आवश्यक छ, सबै गर्छन् । सन् १८३७ मा हड्सन लन्डन, पेरिस र कलकत्तातर्फ यी यावत् सामग्रीहरू पठाउन थाल्दछन् ।’
इतिहास अध्येतासमेत रहेका तेह्रथुम लालीगुराँस नगरपालिकाका प्रमुख अर्जुनबाबु माबोहाङ भन्छन्, ‘नेपालमा करिब २०–२१ वर्ष बस्ता यहाँका सबै जातजातिका इतिहास, भाषा, धर्म, संस्कार, संस्कृतिसम्बन्धी पुस्तक, पाण्डुलिपिहरू सङ्कलन गरेको देखिन्छ । काठमाडौँ बसेको विषयमा त किताब नै लेखेका छन् ।’ त्यहाँबाट पूर्वोत्तर भारतको दार्जिलिङ करिब १४ वर्ष बस्दा लिम्बू जातिको इतिहास, भाषा, संस्कृति, धर्मसंस्कार, संस्कृति, सिरिजङ्गाले लेखेका सबै पुस्तकहरू सङ्कलन गरी कलकता पु¥याएको अध्येता माबोहाङले बताए । ‘दार्जिलिङमा सन् १८५८–५९ सम्म बसेको देखिन्छ । लिम्बू जातिको सबै कुराहरू सिक्किमबाट सङ्कलन गरेको देखिन्छ’–उनले भने ।
नेपालमा जतिकाल बसे । त्यो कालमा हज्सनले बुद्ध धर्मको संस्कृतमा लेखिएका पाण्डुलिपिहरू सङ्कलन गरे । जोशीको प्रवचनमा लेखिएको छ, ‘हड्सनले नेपालको राजधानी काठमाडौँ उपत्यकामा ताडपत्र, नीलपत्र आदि कागजमा लेखिएका हस्तलिखित संस्कृतका ग्रन्थहरू (यसभित्र नीलपत्रमा सुनको मसीले लेखिएका विभिन्न आकार–प्रकारका प्रज्ञापारमिता साहित्यका ग्रन्थहरू पनि) सङ्कलन गर्दै आफ्नो कार्यकाल सकिएर स्वदेशतर्फ फर्कन भारी कस्दा, भारतमा त्यसबेला संस्कृत भाषामा लेखिएका बौद्ध ग्रन्थहरू अप्राप्य भइरहेको थियो ।’
सन् १८३३ मा हड्सन अङ्ग्रेज सरकारको तर्फबाट काठमाडौँमा आवासीय राजदूत नियुक्त भएर आएका थिए । उनले सन् १८४३ को अन्तसम्म सोही ओहोदामा रहेर काम गरेका थिए । थप लेखिएको छ, ‘यसै समयमा उनले काठमाडौँमा संस्कृत भाषामा लेखिएको बौद्ध ग्रन्थका पाण्डुलिपिहरू ३८१ पोका खोजखाज गरी सङ्कलन गरे ।’
यसरी आज हज्सन पाण्डुलिपि अध्ययन गर्न हजारौँको सङ्ख्यामा बेलायतको सङ्ग्रहालयमा पुग्छन् । जुन कुनै कालखण्डमा नेपालको सम्पत्ति थियो, हज्सन पाण्डुलिपि । हज्सन; पाण्डुलिपि कि सङ्कलन ? बेला बेला आवाजहरू उठ्ने गरेको छ । इतिहास अध्येता माबोहाङसँग ब्लाष्टकर्मीसहित पर्यटन पत्रकार विराट अनुपम धरानको चिया गफमा वास्तवमा हज्सन सङ्कलनकर्ता तथा खोजकर्ता हुन् भन्ने निष्कर्ष निकालिएको थियो । माबोहाङले भनेका थिए, ‘अग्रज (वैरागी काइँला)हरूले हज्सन पाण्डुलिपि भनी नामकरण गरिदिएँ, आजपर्यन्त त्यही चलिरहेको छ । वास्तवमा उनी सङ्कलनकर्ता र खोजकर्ता मात्रै हुन् ।’