राष्ट्रिय मुद्दा, विचार र दृष्टिकोण साथै एजेन्डाविनै राजनीतिक दलहरू चुनावमा होमिएका छन् । यो एक प्रकारले भन्ने हो भने राजनीतिमा देखिएको स्खलित मनस्थिति हो । यसो किन हुँदैछ । आखिर राजनीति भनेको सत्ता र शक्ति मात्रै हो । यदि त्यसो हो भने अब कुल एक करोड ७९ लाख ८८ हजार ५७० मतदाताले सोच्ने दिन आयो । राजनीति विचारविहीन, सिद्धान्तविहीन, शून्य भएको पहिलो पटक होला सायद । यस्तो राजनीतिबाट हामीले अर्थात् जनताले के अपेक्षा गर्ने ? आज हरेक दल सत्तामा पुग्न चाहन्छ र शक्ति आर्जन गर्न चाहन्छ । त्यो शक्तिको उन्मादमा आफूखुसी निर्णय गर्न चाहन्छ । यसका लागि जनताले आहुती दिनुपर्ने हो ? प्रश्न सामान्य छ तर, उत्तर गम्भीर हुन सक्छ ।
नेपाल दलीय व्यवस्था रहेको देश हो । दलीय व्यवस्थामा कुनै न कुनै दलले बहुमत ल्याउँछ । त्यही आधारमा सरकार बनाउँछ र सरकार सञ्चालन गर्छ । तर, अहिले यस्तो अवस्था सिर्जना हुँदै गएको छ कि यहाँ कुनै दलले स्पष्ट बहुमत ल्याउने अवस्था देखिँदैन । त्यसको एउटै मात्र कारण के हो भने हरेक दलले एक–अर्कासँगै निर्वाचनपूर्व नै सहमति गरेर चुनाव लडिरहेका छन् । नेपालमा प्रत्यक्ष निर्वाचिततर्फ १ सय ६५ वटा क्षेत्र हुन् । यदि कुनै पनि दलले १ सय ६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएन भने उसले बहुमत ल्याउँछ भनेर कल्पना गर्नु मूर्खता मात्रै हुनेछ । जसरी सत्ता गठबन्धनमा नेपाली काङ्ग्रेसले ८४ सिटमा सहमति गरेको अवस्था छ । त्यसबाहेक नेकपा (माओवादी केन्द्र) ले ४७ सिट, नेकपा (एकीकृत समाजवादी पार्टी)ले २० र जनमोर्चाले २ सिटका लागि सहमति गरेका छन् । यता एमाले र जनता समाजवादी पार्टीको अवस्था पनि उस्तै छ । यस आधारमा कुनै पनि दलले स्पष्ट बहुमत ल्याउँदैनन् । यहीँबाट स्पष्ट हुन्छ कि गठबन्धन सरकार कतिञ्जेल टिक्ला ? किनकि यसअगिका सरकारहरूको अवस्था देखेरै नेपाली जनताले २०७४ सालको प्रदेश तथा सङ्घीय निर्वाचनमा नेकपालाई स्पष्ट बहुमत दिएका थिए । झण्डै दुई तिहाइ नजिक पुगेको पार्टीको अवस्था के भयो, त्यो नेपाली जनता भलिभाती जान्दछन् । आजको स्थिति आउनुका पछाडिका कारणहरू पनि तिनै हुन् । त्यसकारण यसपटक नेपाली जनताले पटक–पटक सोचेर, विचारेर मात्रै भोट दिनुपर्ने अवस्था सिर्जना भएको छ ।
राजनीति देशको मूल नीति हो । तर, नेपालमा यसलाई व्यावसायिक यन्त्रजस्तो बनाइएको छ । को शक्तिमा जाने र कसले सबैभन्दा बढी सत्ताको उपभोग गर्ने ? भन्ने रणनीतिमा राजनीतिक दलहरू छन् । आफ्ना आसेपासे तथा कार्यकर्तालाई पोस्ने यन्त्रको रूपमा राजनीतिलाई विकास गरिँदै गएको छ । नेपाली राजनीति कसरी उपभोगमुखी बनिरहेको छ ? आखिर यसो हुनुका कारणहरू के हुन् ? त्यसको खोजी नगरिने हो भने पक्कै हामी ढिला हुनेछौँ । त्यसका लागि मतदाताले गम्भीर भएर सोच्न आवश्यक भइसकेको छ । उपभोगमुखी राजनीतिलाई गतिलो जवाफ दिन आवश्यक छ । स्खलित बन्दै गएको राजनीति र राजनीतिज्ञलाई पाठ सिकाउन जरुरी छ । त्यसबारे मतदाता गम्भीर हुन आवश्यक छ । किनकि राजनीतिलाई सही दिशाबोध गराउनेमा मतदाता नै भगवान् हुन् ।