फोहोर हाम्रा लागि टाउको दुखाइ बनेको छ । देशभर नै फोहोर फाल्नका लागि डम्पिङ साइट अभाव हुँदा फोहोर कहाँ फाल्ने भन्ने चुनौती सबैजसो पालिकालाई छ । अझ काठमाडौँमा त फोहोर फाल्ने विषयमा जहिल्यै विवाद हुने गरेको छ । त्यहाँ भारी परिमाणमा फोहोर निस्किने कारणले पनि त्यहाँ टाउको दुखाइको विषय हुनु स्वभाविकै हो । यो समस्या काठमाडौँमा ठूलो देखिए पनि अन्यत्र छँदै छैन भन्ने होइन । अन्यत्र पनि छ तर, केही कम मात्रामा होला । अझ अस्पतालजन्य फोहोरको समस्या उस्तै छ । अस्पतालका फोहोरहरू अन्य घरायसी फोहोरभन्दा बढी जोखिमपूर्ण हुन्छन् । तर, प्रदेश १ को एकमात्र महानगरपालिका विराटनगरस्थित कोशी अस्पतालले फोहोरलाई मोहरमा परिणत गर्ने जुन प्रयास थालेको छ, त्यसको सिको सबै अस्पतालहरूले गर्नुपर्छ । यदि त्यसो गरेको खण्डमा फोहोरको मात्रा त घट्छ नै त्यसबाट आर्थिक सबलीकरणतर्फ पनि अगाडि बढ्न सकिन्छ । फोहोरलाई निर्मलीकरण गरेर पुनः प्रयोग गर्ने जुन प्रयास कोशी अस्पतालले गरिरहेको छ, यो सबै अस्पतालका लागि पाठ हो ।

अस्पतालमा थुप्रै प्रकारका फोहोरहरू हुन्छन् । जहाँ कुहिने, नकुहिनेदेखि लिएर सिरिन्जजस्ता फोहोरहरूको पनि व्यवस्थापन गर्नुपर्ने हुन्छ । कुहिने फोहोरलाई त सहजै व्यवस्थापन गर्न सकिएला तर, नकुहिने फोहोर र सिरिन्जजस्ता प्रकृतिका फोहोर सबैका लागि चुनौती बन्दै गएको छ । यसले वातावरणलाई पनि ठूलो हानि गर्ने गरेको छ । विश्वमा बढ्दै गएको ‘ग्लोबल वार्मिङ’ को कुरा गर्ने हो भने यस्तै यस्तै परिणामका कारणले बढिरहेको छ । हामी ढुङ्गे युग, कृषि युग, औद्योगीकरणको युग हुँदै सूचनाप्रविधिको युगमा छौँ । यस युगमा धेरैभन्दा धेरै नकुहिने फोहोरहरूको मात्रा बढिरहेको छ । यो सबैका लागि चुनौती हो । फोहोर व्यवस्थापन हेर्दा सामान्य देखिए पनि यसको उचित व्यवस्थापन गर्न नसक्दा थुप्रै प्रकारका व्याधिहरू निम्त्याउँछ भने पृथ्वीको वातावरणलाई खलल पु¥याउँछ । जसको परिणाम हामी अन्य समस्याबाट पनि पीडित हुँदै जाने खतरा हुन्छ । विश्वमा अहिले खानेपानीको समस्या विकराल बन्दै गएको छ । यो समस्याका पछाडि पनि यस्ता नकुहिने फोहोरको भूमिका केही न केही छ । त्यसकारण फोहोरको व्यवस्थापन उचित तरिकाले नगर्ने हो भने हामी कुनै कालखण्डमा अन्य समस्याबाट बढी प्रताडित हुनेछौं । फोहोरको समस्या त छँदै छ । त्योसँगै अन्य समस्याबाट पनि जुध्नुपर्ने बाध्यता हुनेछ ।

फोहोर व्यवस्थापनलाई उचित तरिकाले नियन्त्रण गर्नका लागि कोशी अस्पतालले चालेको कदम जस्तै अभ्यास थाल्नु पर्नेछ । किनकि प्रदेश १ मा अहिले ठूल्ठूला अस्पतालहरू खुल्ने क्रम जारी छ । केही जिल्लामा ठूला अस्पतालहरू पनि छन् । त्यस्ता अस्पतालहरूले फोहोरलाई मोहर बनाउनेतर्फ अहिलेसम्म पाइला चालेको देखिँदैन । त्यस्ता अस्पतालहरूले कोशी अस्पतालबाट सिक्न जरुरी छ । हो, सजिलो छैन तर, प्रयास गर्ने हो भने हामी फोहोरलाई उचित व्यवस्थापन गर्न सक्छौँ भन्ने गतिलो उदाहरण कोशीलाई नै लिन सक्छौँ । त्यसकारण सबै अस्पतालहरूले मात्रै हैन, हरेक गाउँपालिका, नगरपालिका, उपमहानगर र महानगरहरूले फोहोरलाई मोहर बनाउने कार्यमा तल्लीन हुनुपर्छ । यसले आर्थिक पाटोलाई मात्रै सबल बनाउँदैन कि यसले रोग, व्याधिलाई पनि नियन्त्रण गर्दै वातावरणलाई क्षति हुनबाट समेत जोगाउँछ ।