विजयपुर । असोज १३ गतेको कार्यपालिका बैठकमा सदस्य अनुप देवानले सप्तरङ्गी पार्कलाई बहुसांस्कृतिक पार्क बनाउने प्रस्तावका विषयमा फरक धारणा राख्दै गर्दा उनलाई नगर प्रमुख हर्कराज राईले ‘बैठक बाहिर जानू’ भन्ने निर्देशनले बिथोलिएको बैठक फेरि बस्न सकेको छैन । धरान–१७ स्थित पार्कलाई बहुसांस्कृतिक पार्क बनाउने नगर प्रमुख राईको एजेन्डामाथि असहमति जनाउनु नै बैठक रोकिनुको प्रमुख कारण बन्यो ।
आखिर नगर प्रमुख राईले कसको इच्छामा त्यसलाई बहुसांस्कृतिक पार्क बनाउने योजना अगि सारे ? जबकि सप्तरङ्गीलाई पार्क बनाउने योजना निवर्तमान नगर प्रमुख तिलक राईको कार्यकालको नगरसभामा पारित गरी विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) बनिसकेको छ । निवर्तमान नगर प्रमुख तिलक राई भन्छन्, ‘मेरो कार्यकालको कार्यपालिका बैठकले पर्यटनसहित धरानको विकासका लागि निजी क्षेत्रसमेतको लगानीमा पार्क निर्माण गर्ने प्रस्ताव गरेका थियौँ ।’
निवर्तमान नगर प्रमुखकै पालामा प्रस्ताव अगाडि बढाएपछि बीडीए क्यूस्ट जेभीले डीपीआर पनि बनाइसकेको छ । त्यहाँ पार्क बनाउनका लागि ३१ करोड लगानी आवश्यक रहेको डीपीआरमा उल्लेख छ । धरान उपमहानगरपालिकाका इन्जिनियर प्रकाश शर्माका अनुसार बीडीएले २४ लाख रुपैयाँमा डीपीआर बनाउन सम्झौता गरी हाल डीपीआर नै निर्माण भइसकेको छ ।
एउटा चरण पूरा गरिसकेको अवस्थामा नयाँ नगर प्रमुख हर्कराज राईद्वारा अर्को योजना प्रस्ताव गरिनुलाई जानकारहरूले निको मानेका छैनन् । अधिवक्तासमेत रहेका आदिवासी अभियन्ता मानभगत चाम्लिङ विगतको कार्यपालिकाले गरेको निर्णय कार्यान्वयन गर्नु नै उत्तम हुने बताउँछन् । उनी भन्छन्, ‘नयाँ प्रमुख आउँदैपिच्छे निर्णय परिवर्तन गर्दा गलत नजिर बस्छ । अर्को मेयर आउँदा फेरि अर्कै राख्ला । परिवर्तन गर्दै जाँदा स्थायित्व पनि हुँदैन ।’
धरानमा बहुसांस्कृतिक उद्देश्य लक्षित धरान–१४ मा बहुजातीय सङ्ग्रहालय निर्माण भइरहेको छ । जुन बजेट अभावले गर्दा त्यसै रोकिएको छ । आदिवासी अभियन्ताहरूले नगर पिता हर्कराज राईले त्यतातर्फ बजेट लगाउने विषयमा सोच्नुपर्ने बताउँछन् । निवर्तमान नगर प्रमुख तिलक राई भन्छन्, ‘धरान–१४ मा निर्माणाधीन बहुजातीय सङ्ग्रहालय स्रोत अभावमा पूरा हुन सकेको छैन । यो हुँदाहुँदै अर्कातिर किन लानू ? धरानमा बहुसांस्कृतिक पहिचान खुल्ने थुप्रै सम्पदा छन् ।’ उनले विगतको कार्यपालिका बैठकले गरेको निर्णय परिवर्तन गर्दा नीतिगत रूपमा पनि राम्रो नदेखिने बताए । उनी भन्छन्, ‘सबैको सहभागितामा गरेको निर्णयमा खोट छ भने परिवर्तन गर्नु प¥यो ।’
स्वर्गीय प्रमुख तारा सुब्बादेखि निवर्तमान प्रमुख राईसम्मको पालामा उपप्रमुख रहेकी मञ्जु भण्डारी सुवेदी अगिल्लो सरकारको निर्णय कार्यान्वयन गर्दा राम्रो हुने बताउँछिन् । उनका अनुसार पब्लिक–प्राइभेट पार्टनरसिप (पीपीपी)को मोडलमा निर्माण गर्ने गरी डीपीआर बनेको थियो । उनले भनिन्, ‘अहिले भएकै बहुजातीय सङ्ग्रहालय अलपत्र छ । अगिल्लो नगरसभाले गरेका निर्णय परिवर्तन गर्दा गलत संस्कृतिको विकास हुने देखिन्छ ।’
सप्तरङ्गी पार्कको अवधारणा अहिले सुरु भएको होइन । २०४८ सालको स्थानीय तह (तात्कालीन समयमा स्थानीय निकाय) निर्वाचनमा नगर प्रमुख जितेर आएका ध्यानबहादुर राईले सरकारी, ऐलानी तथा पर्ती जग्गाहरू खोज गरी संरक्षण गरेपश्चात् नै त्यहाँ पार्कको अवधारणा ल्याइएको हो ।
पहिलो संविधानसभाको चुनावपश्चात् पार्क निर्माण गर्न योजना नै सुरु गरिएको थियो । २०६६ सालमा तत्कालीन योजना आयोगका प्रमुख दिनेश थपलियाले तीनवटा नगरपालिकाको जगेडा कोषबाट ७५ लाख रुपैयाँको योजना दिएका थिए । तात्कालीन समयमा कलाकार विक्रमश्रिको कम्पनी शान्ति निकेतनमार्फत् काम गरिएको थियो ।
७ बिघाभित्र अन्तरधार्मिक सांस्कृतिक पार्क बनाउने योजनाअनुसारको अवधारणा पत्र तयार गरिएको तात्कालीन समयमा निर्माणको जिम्मेवारी पाएका शान्ति निकेतनका प्रमुख विक्रमश्रि बताउँछन् । सप्तरङ्गीमा सात जातका मान्छेले समस्या हल गर्दै गरेको मूर्तिहरू पनि निर्माण गरिसकेको उनको भनाइ छ । सोही स्थानमा नगर प्रमुख हर्कराज राईले सप्तरङ्गी पार्कलाई बहुसांस्कृतिक पार्कको रूपमा अगाडि बढाउने धारणा सार्वजनिक गर्दै आएका छन् ।
नगरका प्रवक्तासमेत रहेका धरान–१७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराईले बहुसांस्कृतिक पार्क निर्माण गर्नुपर्ने कारणबारे आफू अनभिज्ञ रहेको बताए । उनले भने, ‘अगिल्लो सरकारको कार्यकालमा पारित गरी डीपीआरसमेत बनिसकेको छ । खै के उद्देश्यले फेरि नगर प्रमुखज्यूले यस्तो प्रस्ताव ल्याउनुभो । सुनिन्छ, सबै जातिलाई जग्गा बाँड्ने रे ।’