नेपालमा विभिन्न सम्बत्हरू जस्तै येले सम्बत्, शक सम्बत्, मानदेव सम्बत्, विक्रम सम्बत्, नेपाल सम्बत् ,ईश्वी सम्बत् आदि छन् । यी सम्बत्हरूमध्ये नेपालमा विक्रम सम्बत् निकै प्रचलित रहेको छ र यसले सरकारी कार्यालयमा मान्यता पाएको छ । तर, हाम्रा छिमेकी मुलुक भारतका रजौटा विक्रमादित्यको नामबाट राखिएको विक्रम सम्बत् भारतमै प्रचलित छैन । त्यहाँ ईश्वी सम्बत् प्रचलित छ ।
यस वर्ष नेपाल सम्बत् ११४३ यही २०७९ साल कात्तिक ९ गते बुधबार अर्थात् कात्तिक शुक्ल प्रतिपदा तिथिबाट सुरु हुँदैछ । तर, नेपालको मौलिक सम्बत् नेपाल सम्बत् नेपालकै भएर पनि नेपालमा व्यापकरूपमा चल्न सकेको छैन । यसलाई अहिले पनि नेवारहरूको मात्र सम्बत् भन्ने गरेको पाइन्छ, जुन सर्वथा गलत छ ।
पृष्ठभूमि
नेपाल सम्बत् ई.सं. ८७९ अक्टोबर २० देखि चलेको हो । यसका प्रणेता शङ्खधर साख्वा हुन् । नेपाल सम्बत्को विषयमा राजभोगमाला, वंशावली आदिमा उल्लेख गरेको पाइन्छ भने नेपालका तत्कालीन मुद्राहरूमा पनि यसको उल्लेख गरिएको पाइन्छ । विष्णुमति नदीको लुँखु तीर्थबाट शुभ साइतमा ल्याइएको बालुवा सुनमा परिणत भएपछि त्यसलाई बेची कान्तिपुरका सम्पूर्ण ऋणीहरूको ऋण शङ्खधर साख्वाले तिरिदिएको र तत्कालीन राजाले आफ्नो राज्य ऋणमुक्त भएकाले नेपाल सम्बत् चलाए भन्ने कुरा उल्लेखित छ । आजको युगमा बालुवा सुनमा परिणत हुने कुरा सजिलै पत्याउन सकिने कुरा भएन । तर, शङ्खधर साख्वा व्यापारी भएको वंशावलीमा उल्लेख छ ।
त्यसैले व्यापारबाट कमाइएको अथाह पैसाले कान्तिपुरवासीलाई ऋणमुक्त गरिदिएको हुनसक्छ । यस सम्बन्धमा तर्क वितर्क जे जस्तो भए तापनि नेपाल सम्बत्का प्रवर्तक शङ्खधर साख्वा नै हुन् । त्यसैले त उनलाई वि.सं. २०५६ साल मङ्सिर २ गते स्व. कृष्णप्रसाद भट्टराईको प्रधानमन्त्रीत्वकालमा राष्ट्रिय विभूति घोषणा गरियो । त्यस्तै पुष्पकमल दाहाल (प्रचण्ड) को प्रधानमन्त्रीत्वकालमा गणतान्त्रिक सरकारले वि.सं. २०६५ साल कात्तिक ८ गते नेपाल सम्बत्लाई राष्ट्रिय सम्बत्को मान्यता दियो । यसरी तत्कालीन सरकारहरूले नेपाल सम्बत्का प्रवर्तक शङ्खधर साख्वालाई राष्ट्रिय विभूति घोषणा गरिनु र उनले चलाएको नेपाल सम्बत्लाई राष्ट्रिय सम्बत्को मान्यता दिनु फगत् संयोग मात्र कदापि हुन सक्दैन । यो त उनको योगदानको कदर र नेपाल सम्बत्लाई आत्मसात गर्न खोजिएको प्रष्ट हुन्छ ।
प्रचलन
चन्द्रमास तिथिअनुसार चल्ने नेपाल सम्बत्को प्रचलन तत्कालीन समयमा नेपालमा मात्र सीमित नभएको अध्ययनले देखाउँछ । यसको प्रयोग दुई ठूला देश भारत र तिब्बत (चीन) मा समेत भएको पाइन्छ । महाचीनका मिङवंशी राजा तायिमिङले बनेपाका शासक शक्तिसिंह रामलाई नेपाल सम्बत् ५३५ आषाढ शुक्ल दशमी तिथि उल्लेख गरी पठाएको फरमान पत्रले तत्कालीन चीनमा र भारत कुच विहारका राजा प्राण नारायणले नेपाल सम्बत् ७५३ उल्लेख गरी निकालेको सुवर्ण मुद्रा (सुनको पैसा) ले भारतमा पनि नेपाल सम्बत् प्रचलित भएको पुष्टि हुन्छ । नेपालको इतिहासलाई सामान्यतया तीन तहमा विभक्त गरी अध्ययन गर्ने गरिन्छः प्राचीनकाल, मध्यकाल र आधुनिककाल । नेपालका शाह वंशीय राजा प्रतापसिंह शाहको पालामा भएको नेपाल सम्बत् ७५३ उल्लेखित भोटसितको सन्धि पत्रले आधुनिककालमा समेत नेपाल सम्बत्को प्रयोग नेपालमा भइरहेको पुष्टि हुन्छ ।
ईश्वी सम्बत् १९०३ मा नेपाल सम्बत् हटाई श्री ३ चन्द्र शम्सेरले विक्रम सम्बत्को प्रयोग सरकारीस्तरमा गरे तापनि नेपाल अधिराज्यमा जनमानसमा कुनै न कुनै रूपमा नेपाल सम्बत् चलिरहेको छ । अझ यस सम्बत्लाई राष्ट्रिय सम्बत् र यसका प्रवर्तक शङ्खधर साख्वालाई राष्ट्रिय विभूति मानिएपछि यसको चर्चा परिचर्चा अझ बढ्न थालेको पाइन्छ । केही समय अघिदेखि भित्तेपात्रोमा समेत यसको उल्लेख गर्ने सरकारी निर्णयपछि त यसको चासो बढेको पाइन्छ । यसको साथै स्थानीय पत्र पत्रिकामा समेत नेपाल सम्बत्को प्रयोग गरिनुले यसको महत्व बढ्न थालेको पाइन्छ ।
नेपाल सम्बत् नेवारहरूको मात्र होइन
नेपाल सम्बत् नेपालकै मौलिक र आफ्नो सम्बत् हो, तैपनि यसले व्यापकता जति मात्रामा पाउनु पर्ने हो, त्यति मात्रामा पाउन सकेको छैन । सरकारीस्तरमा व्यापकरूपले प्रयोग हुन नसक्नु यसले व्यापकता नपाउनुको एउटा प्रमुख कारण हो भने नेपाल सम्बत्को विषयमा चर्चा परिचर्चा यसको नयाँ वर्षको अवसरमा मात्र सीमित हुनु अर्को कारण हो । त्यसैगरी नेपाल सम्बत् मनाउने तिथि मितिको विषयमा व्यापक रूपमा प्रचार–प्रसार स्थानीय पत्रपत्रिकामा नगरिनु पनि एउटा कारण हुन सक्छ । नेपाल सम्बत्लाई एक दिन धुमधामसँग मनाउने र त्यसपछि बिर्सिदिने परिपाटी अर्को कारण हुनसक्छ ।
त्यस्तैगरी यो सम्बत् चलायमान गर्ने विषयमा नयाँ पुस्तालाई जागरुक गर्न नसक्नुले पनि यसले व्यापकता पाउन सकेन । अझै पनि नेपाल सम्बत् नेवारहरूको मात्र सम्बत् हो भन्ने मान्यता जनमानसमा रहेको भ्रमलाई चिर्न नसक्नु पनि यसले व्यापकता नपाउनुको प्रमुख कारण हो । नेपाल सम्बत् नेवारको मात्र होइन, सबै नेपालीको हो । यसका प्रवर्तक नेवार हुन्, त्यत्ति मात्र हो । यदि यो नेवारको मात्र सम्बत् भएको भए यसलाई राष्ट्रिय सम्बत्को रूपमा मान्यता दिइँदैनथ्यो र यसका प्रवर्तक शङ्खधर साख्वालाई राष्ट्रिय विभूति मानिदैनथ्यो । राष्ट्रिय विभूति र राष्ट्रिय मान्यता पाएको नेपाल सम्बत् कुनै एक जाति विशेषको हुनै सक्दैन भनेर बुझ्नु र बुझाउनु अत्यन्त आवश्यक छ । नेवार र नेवारी सङ्घ–संस्थाहरूले मात्र नेपाल सम्बत् मनाउने गरेकाले यो नेवारहरूको मात्र सम्बत् हो भन्ने कतिपयको सङ्कुचित बुझाइ हुन सक्छ ।
यो सम्बत् राष्ट्रको सम्बत् भएकोले राष्ट्रले नै मनाउनु पर्ने हो तर, यस मामलामा राष्ट्र अघि नबढेकाले मात्र कोही त अघि बढ्नु पर्छ भनेर नेवार र नेवारी सङ्घ–संस्थाहरू अन्य गैरनेवार जातजाति र सङ्घ–संस्थाहरूको हातेमालोबाट नेपाल सम्बत् मनाउन अघि बढेका मात्र हुन् । फेरि नेवारहरूको म्हः पूजा गरिने दिन नै यो सम्बत् मनाइने भएकोले पनि यो सम्बत् नेवारहरूको मात्र हो भन्ने भनाइ छ तर, यो भनाइ पनि तर्कसङ्गत मानिन्न । किनकि यो सम्बत्को नयाँ वर्षको पहिलो दिन हरेक वर्षको म्हः पूजाकै दिन पर्ने गर्दछ । म्हः पूजा भनेको नेवारहरूको आफ्नै मौलिक संस्कृति र परम्परा हो, जसमा आफ्नै शरीरको पूजा गर्ने गरिन्छ । नेवारहरूले यस दिन ‘न्हु दँया भिन्तुना’ भन्ने गरेको पाइन्छ ।
त्यसैले यसलाई नेवारहरूको सम्बत् भन्ने गरेको पनि पाइन्छ, जुन सर्वथा गलत नै हो । यी शब्दहरूलाई केलाउने हो भने नेवारी भाषामा ‘न्हु’ भनेको ‘नयाँ’, ‘दँया’ भनेको ‘वर्षको’ र ‘भिन्तुना’ भन्नाले ‘शुभकामना’ भन्ने बुझिन्छ । यस अर्थले हेर्ने हो भने वि.सं.को पहिलो दिन वैशाख १ गते र ईश्वी सम्बत्को पहिलो दिन जनवरी १ तारिखका दिन पनि त नेवारी भाषामा कसैलाई शुभकामना दिने हो भने ‘न्हुदँया भिन्तुना’ नै भन्नुपर्ने हुन्छ ।
निष्कर्ष
विगत केही वर्षदेखि अन्य सहरजस्तै धरानमा पनि नेपाल सम्बत् मनाउन जागरुक भएको पाइन्छ । झीगु समाजको आयोजना तथा स्थानीय सरकार धरान उपमहानगरपालिकाको विशेष सहयोगमा सम्पन्न हुने गरेको छ भने नेपाल आदिवासी जनजाति महासङ्घ, नेवा देय दबू तथा विभिन्न खलःपुचहरूको समन्वयमा नेपाल सम्बत् मनाउने गरिएको पाइन्छ । अन्य गैरनेवार जातजाति तथा सङ्घ–संस्थाहरूले पनि सहयोगी भूमिका निभाएको पाइन्छ र यो साथ सहयोग सधैँ पाइनेछ भन्ने यो स्तम्भकारलाई अत्यन्त विश्वास पनि छ ।
झीगु समाजले औपचारिक रूपमा २०६५ सालदेखि नेपाल सम्बत् मनाउने गरेको छ र सदा झैं यस पटक पनि झीगु समाजको अगुवाइमा विभिन्न झाँकीसहित कात्तिक ९ गते बुधबार प्रभात फेरीका साथ एकापसमा शुभकामना आदान–प्रदान गर्दै बृहत् रूपले नेपाल सम्बत् मनाइँदै छ । सोही दिन झीगु समाजद्वारा प्रकाशित, समाजका उपाध्यक्ष्य हरेराम कर्माचार्यद्वारा सम्पादित नेपाल सम्बत्को तिथि मिति भएको झीगु गोजी पात्रो पनि विमोचन हुँदैछ । वि.सं. राजाको नाममा, ईश्वी सम्बत् धर्मको नाममा प्रचलित छ तर, नेपाल सम्बत् हाम्रै देश नेपालको नाममा राखिएको छ ।
त्यसैले यो सम्बत् कुनै एक जातिविशेषको हँ्ुदै होइन, नेपाल र नेपालबाहिर बस्ने सम्पूर्ण नेपालीहरूको हो । यसरी हामी सबैको संलग्नता भएको, आफ्नै देशमा जन्मेको, आफ्नै मौलिक सम्बत्, आफ्नै माटोमा हुर्केको हामी सबैको सम्बत् हो भन्ने कुरा सबैले मनन् गर्नुपर्छ र यसलाई आत्मसात गर्न सक्नुपर्छ, प्रयोग गर्न सक्नुपर्छ । अनि मात्र यसले व्यापकता पाउन सक्छ भन्ने कुरामा कसैको पनि दुईमत नहोला । नेपाल सम्बत् ११४३ को अवसरमा स्तम्भकारको तर्फबाट आदरणीय पाठकवृन्दलगायत सबैलाई हार्दिक शुमकामना ।
(स्तम्भकार झीगु समाजका सचिव, सिद्धि नेवा परिषद् तथा बुद्ध विहार धरानका आजीवन सदस्य हुन् ।)