- -गोपाल दाहाल
‘केटाहरु, आउँदै छु पनि भन्दैन,
यसो फोनसोन गर्नु पर्छ नि’
सन् २०१४ मा हङकङमा भेट हुँदा किसन राईले आफ्नै शैलीमा सम्झाउनु भयो । नेपाल क्लब हङकङले आयोजना गरेको ईन्फा फिल्म अवार्ड कार्यक्रममा पहिलोपटक हङकङ पुगेको मैले चिनेजानेका कसैलाई सम्पर्क गरेको थिईंन । यस्तै तिहारका बेला भएको अवार्ड कार्यक्रम सकिएको केहीदिन पछि पत्रकारको नाताले किसन दाईले नै हामीलाई खोजिरहनु भएको रहेछ । भेट भएपछि फोन नगरेकोमा सम्झाउँदै उहाँले ‘लु घुम्न जाऔँ’ भनेर समुन्द्र किनारतिर घुमाउन लैजानु भयो । गफै पिच्छे जसो हँसाउने किसनदाई सँगको दिनभरको यात्रा खुब रमाईलो भएको थियो ।
हङकङ पुग्ने नेपाली अतिथिहरुलाई निम्त्याउने आयोजकहरुले त एयरपोर्टदेखि नै स्वागत, सम्मान गर्ने, घुमाउने व्यवस्था मिलाउँछन् नै । त्यसबाहेक आफन्त, आफ्नो पेशा व्यवासाय मिल्ने संघ संस्था, आफ्नो जात, क्षेत्र मिल्ने संघ संस्थाले पनि घुमाउने, उपहार दिने, खानपिन गराउने गज्जबको चलन रहेछ । अरु साथीहरुले पहिला देखि नै हङकङ आउन लागेको जानकारी गराउँदा रहेछन् । सँगै गएका पत्रकार दिपेन्द्र लामा, कलाकार विजय लामा लगायतलाई तामाङ घेदुङका पदाधिकारीहरु आएर सम्मान गर्नका लागि लिएर गए । नेवार समाजका पदाधिकारीले चलचित्र निर्देशक दीपक श्रेष्ठ, कलाकार शिव श्रेष्ठ, ईभेन्ट म्यानेजर तथा पत्रकार साथी सौरभ श्रेष्ठ लगायतलाई लगे । विश्व लिम्बु लगायतका लिम्बु साथीहरु पनि त्यसरी नै आफन्त र संस्थाका मान्छेहरुसँग गए । पत्रकार दिपेन्द्र लामाले चाहिं मलाई जिस्क्याउँदै भने, ‘गोपाल यहाँ त क्षेत्री बाहुनको संस्था छैन जस्तो छ, अघि नै तामाङको ज्वाईं हुँ भनेको भए सँगै जानुहुन्थ्यो ।’ हामी एकदिन हाँस्यौं ।
आफ्नो त हङकङमा आफन्त कोहि थिएन । चिनेजानेका लागि ‘आउँदैछु’ भन्ने आईडिया पनि भएन । तीन दिनसम्म आयोजकले व्यवस्था गरेको होटलमा बसियो । त्यसपछि कान्छा भुजेल दाई र पत्रकार दाई देवराज राईसँग बसियो । घुमियो । यहि क्रममा किसन दाईले पत्रकारको नाताले घुमाउनु भएको थियो । उहाँसँग जोडिएको अर्को नाता थियो, एभरेष्ट । उहाँले प्रकाशन गर्ने एभरेष्ट पत्रिकामा पत्रकार दाई डम्बरकृष्ण श्रेष्ठ मार्फत अलि पहिल्यैदेखि जोडिएको थिएँ । त्यसपछि एभरेष्टका लागि समाचार र फिचरहरु लेख्ने गरेको थिएँ । किसन दाईलाई एभरेष्टको सञ्चालक, सम्पादकका रुपमा र धरानका जुझारु युवाका रुपमा चिनेको थिएँ । बेला बखत एभरेष्टमा लेख्न थालेपछि उहाँसँगको निकटता बढ्यो । तर उहाँ हङकङ, म नेपाल त्यति भेटघाट थिएन ।
केही महिनापछि उहाँ धरान आउनु भएको रहेछ । आफ्नै शैलीमा फोन गर्नु भयो ।
‘हौ भाई, कता हो, म किसन राई ।
लु यता आउँ त । भेटु ।’
शान्तिपथमा पुनर्जीवन केन्द्रको अफिसमा हुनुहुँदोरहेछ । त्यहिं गएर गफगाफ भयो ।
‘अनि भाईको पहाड चाहिं कहाँ पो हरे ?’
मैले भनें, ‘जन्मिएको चाहिं ओखलढुङ्गा हो दाई । सानैमा आएको, गईएको छैन ।’
‘मेरो पनि पुख्यौली त ओखलढुङ्गै हो नि । तर म जन्मेको चाहि होईन ।’ उहाँले थप्नुभयो, ‘भाईलाई ओखलढुङ्गाको मिसन हस्पिटल थाहा छ ?’
‘सानोमा विरामी हुँदा धेरै पटक ममीहरुले लागु भएको रे तर अहिले याद छैन ।’ लगभग यस्तै यस्तै गफ भएको थियो । त्यसबेला पनि दाई ओखलढुङ्गा जाने भनिरहनु भएको थियो ।
उहाँ हङकङ फर्किएपछि सामाजिक सञ्जाल मार्फत उहाँका गतिविधिहरु देखिन्थ्यो । लाईक, कमेन्ट गरिन्थ्यो तर कुराकानी खासै भएन । म्यासेन्जरमा कहिले काहिं कुरा हुन्थ्यो ।
गएको वर्ष एकदिन पत्रकार तथा लेखक बसन्त थापा दाईले फोन गर्नुभयो । ‘किसनहरु हिजो आएका थिए । क्यामेराको विषयमा कुरा गर्नु पर्ने थियो । मसँग नम्बर छैन । तिमीले फोन गरेर भनिदिनु पर्यो ।’
दाईको फोनपछि मैले किसन दाइको साला निर्मल मगरको श्रीमति अर्थात गायिका, अभिनेतृ विष्णु चेम्जोङ बहिनीलाई फोन गरें । उनले भनिन् ‘उहाँको त नेपालको नम्बर छैन दाई तर उहाँको साथी प्रेम श्रेष्ठको नम्बर छ, त्यसमा कल गर्नुस् न ।’
विष्णुले दिएको फोनमा सम्पर्क गरें । फोन अलि डिस्टर्व थियो । किसन दाईले घुम्न घान्द्रुकतिर गएको बताउनु भयो । मैले बसन्त दाईको खबर भनिदिएँ । उहाँले पनि फोन गरेर समस्या समाधान गरिदिनु भएछ । मसँग कुरा गर्दा उहाँले भन्नुभएको थियो, ‘भाई यताबाट फर्किएर ओखलढुङ्गा जान्छु । त्यहाँबाट धरान झरेपछि भेटौंला है ।’ त्यसपछि उहाँको घुमघामका तस्विरहरु सामाजिक सञ्जालमा देखिरहेको थिएँ ।
एकदिन विहानै काठमाडौंबाट पत्रकार जेवि पुन र बावुराम विश्वकर्माको फोन आएको रहेछ । ‘किसनको खबर के हो ?, केही थाहा छ ?’ उहाँहरुले सोधेपछि झसङ्ग भएँ । पूर्वकै घटना भएकाले मलाई जानकारी छ कि भन्ने उहाँहरुलाई लागेको रहेछ तर मलाई त्यतिबेलासम्म केही थाहा थिएन ।
अघिल्लो दिन साँझै ओखलढुङ्गाबाट खोटाङहुँदै धरान आउने क्रममा उहाँको निधन भईसकेको रहेछ । घटनाको खबर खोटाङबाट बेलायत, हङकङ हुँदै काठमाडौं र त्यसपछि धरान आईपुगेको रहेछ । मैले धरानकै अन्य पत्रकार साथीहरुसँग सोधखोज गरें तर स्पष्ट जवाफ आएन । हङकङमा डम्बरकृष्ण दाईलाई सम्पर्क गरेपछि परिवारबाटै घटना भएको पुष्टि भयो । तर पनि विश्वास लागिरहेको थिएन । केही समयपछि समाचार पनि सार्वजनिक भयो ।
दुर्घटना हो वा नियोजीत घटना ? हङकङदेखि नेपालसम्म यस्तै शंका आशंका पनि जन्मिए । त्यस्तो आशंका बढ्नुका विविध कारण थिए । एकातिर किसन दाई हङकङमा खरो स्वभावको, सही लागेको कुरा लेखेरै छाड्ने, बिना कारण कसैसँग नझुक्ने । उहाँले समाचार लेखेकै कारण कतिपटक धम्कि आएका थिए । कार्यालयमा भौतिक आक्रमण भएको थियो । विकृति विरुद्ध सँधै दह्रो आवाज उठाउने किसन दाईले हङकङमा गलत धन्दा गर्नेहरुका विरुद्ध पटक पटक लेख्नु भएको थियो । उहाँको निधनमा सारा हङकङ स्तब्ध हुँदा केही खराब मनसायका व्यक्तिहरुले ‘भाईरस सखाप भएको’ भन्दै खुसीयाली मनाएको सामाजिक सञ्जालमा सार्वजनिक भयो । त्यसले शंकाको वातावरण बनाउनु स्वभाविकै थियो ।
यहि आधारमा हामीले पनि घटनाको अनुसन्धान गरेका प्रहरीहरुलाई सम्पर्क गर्यौं तर उनीहरुको जवाफ सँधै दुर्घटना नै हो भन्ने रह्यो । किनभने उनीहरुले सुरुबाटै दुर्घटनाको रुपमा मात्र हेरे अर्को एङ्गलबाट अनुसन्धानै अगाडि बढाएनन् । कम्तिमा शुभचिन्तकहरु र परिवारबाट आशंकाको नजरले हेरिंदा प्रहरीले पनि अनुसन्धानका अन्य विकल्पमा ध्यान दिनु पर्थ्यो तर प्रहरी त्यतातिर लागेन ।
उहाँको मलामी जाँदा पनि सारा मान्छे रोईरहेका थिए । हङकङमा अहिलेपनि कुनै कार्यक्रम आयोजना हुँदा किसन राईको सम्झना गर्दै आँशु झार्नेहरु धेरै छन् । वास्तवमै किसन राईले जीवनकालमा कमाएको सम्पत्ति पनि यहि हो ।
नेपालबाट हङकङ जाने अधिकांशको उद्देश्य पैसा कमाउने नै हुन्छ । तर किसन दाई कहिलेपनि पैसा कमाउनतिर लाग्नु भएन । बरु पत्रकारिता मार्फत नेपाली समुदायको विकासमा लाग्नुभयो । सामाजिक संस्था मार्फत विभिन्न जातजाती, भाषा संस्कृतिको विकास, नेपाली समुदायको व्यक्तित्व विकास जस्ता काममा उहाँ निरन्तर लाग्नु भयो ।
नेपाली समुदायमध्ये बहुसंख्यक आदिवासी जनजाती रहेको हङकङमा उहाँकै निरन्तरको पहलमा पहिलोपटक जनजाती समुदायको महावाणिज्यदुत पठायो सरकारले । यो त देखिने काम भयो । समाज, भाषा, संस्कृतिका अधिकांश काम आँखाले देख्न सकिदैन, मनले महसुस मात्र गर्न सकिन्छ । त्यस्ता नदेखिने धेरै काम किसन दाईले गरेर जानु भयो । जुन लाखौं डलर भन्दापनि मूल्यवान छ ।
मैले पत्रकारको नजरबाट हेर्दा किसन राईले हङकङको नेपाली समुदायबीच पत्रकारितालाई समाजको पहरेदारका रुपमा चिनाउनु भएको छ । एउटा पत्रकारले इमान्दारितापूर्वक आफ्नो कर्तव्य निर्वाह गर्दा समाजका कति ठूलो परिवर्तन आउन सक्दो रहेछ भन्ने कुरा अहिले हङकङको समुदायले पनि बुझेको हुनुपर्छ । मैले कुरा गर्ने क्रममा धेरै जनाले ‘किसनले लेख्छ भन्ने डरले खराब मान्छे हच्किन्थे । अब फेरि अराजकता मौलाउन सक्छ ।’ भनेर चिन्ता समेत गरेका थिए । अहिलेको समयमा समाजले यसरी पहरेदारका रुपमा विश्वास गर्नु जतिको गौरवको कुरा के हुन सक्ला र एउटा पत्रकारका लागि ? आफ्नो व्यक्तिगत जीवन, परिवारलाई प्राथमिकता नदिएर खाली समाज र समुदायलाई बोकेर हिड्ने किसन दाई जस्तो मान्छे फेरि पाउला नेपाली समाजले ?
किसन दाईले छाडेर जानु भएको पनि एक वर्ष बितेछ । यो संसारमा नरहेपनि किसन राईले नेपाली पत्रकारिता र समाजका लागि देखाएर गएको बाटो भुल्नु हुँदैन । किनभने, नेपाली समुदायलाई किसन राईले पत्रकारिता के हो ? भन्ने प्रष्ट बुझाउनु भयो । समाजसेवा के हो ? त्यो पनि बुझाउनु भयो ।
किसन दाईले हङकङमा भेट भएपछि नेपाल फर्किने बेलामा एउटा हार्डडिस्क उपहार दिनु भएको थियो । त्यो देख्ने वित्तिकै उहि किसन दाई, उहि हङकङको समुन्द्र किनार, उहि हाँसो मनभरि आईदिन्छ । उहाँले दिनुभएको हार्डडिस्कमा उहाँसँगका सम्झनाहरु त राख्न नसकिएला तर मनको हार्डडिस्कमा उहाँका छापहरु अमिट बनेर रहिरहने छन् ।
फेरि पनि श्रद्धासुमन किसन दाई ।