हरेक वर्ष चाडपर्वका बेला सडक दुर्घटनाको सङ्ख्या पनि बढ्ने गरेको छ । दशैं र तिहारका बेला देशका विभिन्न ठाउँमा बस, मोटरसाइकलजस्ता साधन दुर्घटनामा पर्दा धेरैको ज्यान जाने गरेको छ । कयौं मान्छे घाइते भएर जीवनभर अपाङ्गता भोग्नुपर्ने बाध्यता छ । दुर्घटना न्यूनीकरण हुनुको साटो बर्सेनि बढ्दै जाँदा पनि राज्यको तर्फबाट दुर्घटना किन भइरहेको छ र कसरी कम गर्न सकिन्छ ? भन्ने विषयमा उपलब्धिमूलक नीति निर्माण हुन सकेको छैन । यसरी बढ्दो दुर्घटनाबारे सबै पक्षको ध्यान जानु आवश्यक छ । प्रहरीको तथ्याङ्कअनुसार प्रदेश १ मा मात्र तिहारको पाँच दिनभित्र ९९ वटा दुर्घटना भएका छन् । पाँच दिनमध्ये भाइटीकाको दिन १७ वटा दुर्घटना भएका थिए । पाँच दिनमा भएका दुर्घटनामा परी १७ जनाले ज्यान गुमाएका छन् भने १७ जना गम्भीर र १ सय ६३ जना सामान्य घाइते भएका छन् । पाँच दिनमा यति धेरै दुर्घटना हुनुका कारणहरूको खोजी हुनु आवश्यक छ । चाडपर्वकै बेला किन यसरी धेरै दुर्घटना हुन्छन् भन्ने तर्फ पनि सोच्न जरुरी छ ।

प्रहरी अधिकारीहरूका भनाइमा अहिले भइरहेका दुर्घटनाको मुख्य कारणमा अत्यधिक गति, चालकले मादक पदार्थ सेवन गरी लापरबाही गरिनुलगायत बताउने गरेका छन् । त्यस्तै पुराना र थोत्रा बनिसकेका यातायातका साधनको जथाभावी प्रयोगलाई पनि लिने गरिएको छ । हुन त दुर्घटना कसैले पनि जानीजानी गराउँदैन भन्ने मान्यता राखिन्छ तर, चालक वा यातायातका साधनका सञ्चालकहरूको लापरबाही पनि कारण हुन सक्ने भएकाले यसतर्फ ध्यान पुग्नु आवश्यक छ । नेपालमा सडक दुर्घटना हुनुको कारणमा यहाँको सडकको अवस्थालाई पनि औंल्याउने गरिन्छ । सडक निर्माणका क्रममा लापरबाही गरी अलपत्र छाड्ने, जथाभावी खाल्डाखुल्डी भए पनि समयमा मर्मत नगर्ने जस्ता समस्या देखिने गरेका छन् । त्यस्तै पहाडी क्षेत्रमा भौगोलिक अवस्थाले पनि कतिपय दुर्घटना बढाउन सहयोग पु¥याउने गरेको छ । सडक दुर्घटना सतर्कता अपनाउँदा धेरै हदसम्म न्यूनीकरण गर्न सकिने सम्भावना रहन्छ । यातायातका साधनको अवस्था सधैँ चुस्त दुरुस्त राख्ने, आफ्नो साधनको सुरक्षाबारे जानकार रहने, सडकको अवस्था राम्रो र सुरक्षित बनाउने, चालकले गाडी चलाउँदा सधैँ सतर्कता अपनाउनेजस्ता सामान्य कुरामा ध्यान दिने हो भने पनि धेरै हदसम्म सडक दुर्घटना कम हुन सक्छन् । त्यसबाहेक सम्पूर्ण चालकहरूले सडक अनुशासन पालना गर्नु जरुरी छ ।

सडक अनुशासन पालना नगरेका कारण धेरैजसो दुर्घटना हुने गर्छन् । अनुशासन पालन गराउनका लागि भनेर ठाउँ–ठाउँमा ट्राफिक प्रहरीले चेकिङ गर्ने र कानून पालना नगर्नेलाई जरिबाना तिराउने गरेको लामो समय भइसक्यो । तर, पनि सडक दुर्घटना बढिरहेकै छ । ट्राफिक प्रहरीको चेकिङ सडक अनुशासन सिकाउनभन्दा जरिबाना तिराउनमा केन्द्रित छ । त्यसकारण पनि दुर्घटना कम हुनुको साटो बढिरहेको छ । ट्राफिक प्रहरीले पैसा उठाउनभन्दा कानून पालना गराउनेतर्फ केन्द्रित हुन जरुरी छ । प्रदेश १ मा मात्र होइन, देशैभर सडक दुर्घटना ठूलो समस्याका रूपमा देखापरिरहेको छ । राज्यले सडक अनुशासन कायम गराउने ट्राफिक प्रहरीको व्यवस्था, चेकिङ, जरिबानालगायतका उपाय लगाउँदा पनि यसको न्यूनीकरण किन हुन सकेको छैन ? यसबारेमा गम्भीर बन्नु आवश्यक छ । त्यहीअनुसार नीति निर्माण गर्नु जरुरी छ ।