पत्रकारिता पेसाको आधारशिलाबाट खोजपूर्ण लेखन एवम् सङ्कलनमा जुटेका पथरीशनिश्चरे–१० (मोरङ) निवासी दीपेन्द्रराज तिम्सिना सामाजिक स्तरमा भिन्न पहिचान बनाउन सफल हुँदै छन् । निरन्तर ५ वर्ष ब्लाष्ट टाइम्स दैनिकमा पथरी संवाददाता भई कार्य गरेका तिम्सिनाले त्यही सञ्चारीय गुण र जनसम्पर्कको आधारमा २०६८ सालमा पहिलो लघुकृति ‘टेलिफोन डायरी’ प्रकाशन गरे । टेलिफोन नम्बर पाउन गाह्रो हुने तत्कालीन समयमा प्रकाशित उक्त डायरीमा साविक मोरङ क्षेत्र नं. २ का सम्पूर्ण लेन्डलाइन नम्बरको पहिचान स्पष्टसँग उल्लेख गरिएकाले सञ्चार प्रभावकारिता बढाउन ठुलो सहयोग पुग्यो ।
पत्रकारिताले यथार्थ र तथ्यपरक लेखनमा जोड दिने हुँदा त्यसैको जगमा तिम्सिनाले पनि खोजीलेखन र सङ्कलनमा जुटेको सम्झँदै भने, ‘२०७० सालमा पत्रकारिता पेसाबाट बिदा लिँदा नै मैले टेलिफोन डायरी (२०६७), मोरङको सामुदायिक वन एक चिनारी (२०६९) र मोरङको क्षेत्र नं. २ एक चिनारी (२०७०) कृति प्रकाशन गरिसकेको थिएँ । ती पुस्तकाकार कृतिका लागि विषयवस्तु सङ्कलन एवम् लेखनको जग भनेको पत्रकारितामा सक्रिय हुँदाको जनसम्पर्क एवम् आर्जित लेखनकला नै हो ।’
पत्रकारिताले कुनै पनि विषयवस्तुको तथ्यपरक लेखनमा जोड दिनेमात्र नभई व्यक्तिको तार्किकता पनि विकास गर्छ भन्ने तिम्सिनाले २०७७ सालमा ‘पथरीशनिश्चरे नगरपालिका एक चिनारी’ भन्ने अर्को चौथो नम्बरको पुस्तकाकार कृति प्रकाशन गरे । त्यसो त २०७७ सालमा नेपालमै पहिलो पटक ‘जेसीज दस्तावेजः विगतदेखि वर्तमानसम्म’ पुस्तकाकार कृतिको सङ्कलन, लेखन एवम् प्रकाशन गरेर दीपेन्द्रराजले आफ्नो लेखकीय पहिचान देशव्यापी प्रसार गर्दै गए । जेसीजका १ सय ६१ ओटै नेपाल शाखाका संस्थापक अध्यक्ष, सन् २०२१ सम्मका अध्यक्ष एवम् प्रत्येक शाखाबाट जेसीजमा प्रतिनिधित्व गर्नेको पूरा विवरण समावेश गरी प्रकाशन गरिएको उक्त पुस्तककार कृतिलाई सम्झँदै लेखक एवम् सङ्कलक तिम्सिनाले भने, ‘यस पुस्तकको माग पूरा गर्न म त्यतिबेला झापादेखि कञ्चनपुरसम्म नै पुस्तक बोकेर पुगेँ । सबैले जेसीजको ऐतिहासिक दस्तावेजको उपलब्धि भनी मेरो कामको प्रशंसा गर्नुभयो ।’ राष्ट्रव्यापी मागअनुसार उक्त पुस्तक २०७८ सालमा दोस्रो संस्करणसमेत प्रकाशन भएको छ ।
यसैगरी २०७८ सालमै ‘धिमाल जातिको इतिहास विगतदेखि वर्तमानसम्म’ नामक पाँचौँ नम्बरको कृति प्रकाशन हुँदा धेरैजसो शोधार्थी एवम् अनुसन्धानकर्ताले लेखक एवम् सङ्कलक तिम्सिनालाई भेटेरै थप जानकारी हासिल गर्न थाले । यसबाट थप हौसला ग्रहण गरी तिम्सिनाले सोही वर्ष ‘इतिहासमा पथरी शनिश्चरे’ नामक कृति सार्वजनिक गरे । जसमा पथरी शनिश्चरेभित्रका विभिन्न स्थानको नामकरणदेखि प्रमुख सङ्घ–संस्थाको इतिहास, प्रमुख व्यक्तित्व र यहाँको स्वास्थ्य, शिक्षा, उद्योगव्यवसाय, खेलकुद, कृषि, पर्यटन आदिको ऐतिहासिक दस्तावेज बनाइएको छ ।
खोजीलेखनमा अझ सशक्त बन्दै तिम्सिनाले भर्खरै मात्र ‘मोरङका जनप्रतिनिधि सँगालो, २०७९’ कृति प्रकाशन गरेका छन् । यस कृतिमा मोरङका १७ ओटै पालिकाका प्रमुख एवम् उपप्रमुख र १ सय ५९ जना नै वडाध्यक्षको सचित्र विस्तृत विवरण प्रस्तुत गरिएको छ भने ६ सय ३६ जना वडासदस्यको सम्पर्क नम्बरसहित परिचय समावेश गरिएको छ । यस्तै मोरङ जिल्लाबाट बनेका प्रधानमन्त्री, मन्त्री, निर्वाचित सांसद्, मनोनीत सांसद्, विभिन्न कालखण्डका सहिद तथा प्रमुख जिल्ला अधिकारी आदिबारे गहन खोजी गरी लेखिएको यस पुस्तकले समेत तिम्सिनालाई ‘उदीयमान इतिहासकार’ बनाउँदै छ ।
एक दशककै अवधिमा ८ ओटा पुस्तकाकार कृति सार्वजनिक गरेका तिम्सिनाले अब भने नेपाल र विश्वका शरणार्थी सम्बन्धमा खोजमूलक पुस्तक प्रकाशन गर्ने तयारीमा जुटेको बताएका छन् । उनले भने, ‘नेपालका भुटानी शरणार्थी मात्रै होइन, विश्वका विभिन्न देशमा शरण लिई बसेका १८ हजार नेपालीको बारेमा पनि खोजी गर्दै छु ।’ तथ्यको खोजी, लेखन र सम्पादन मात्र नभई प्रकाशनमा पनि स्वलगानी गर्दै आएका तिम्सिनाले प्रकाशित सबै पुस्तक आफै बिक्रीवितरण गर्ने गरेका छन् । साधारण साइकलमै यात्रा गरेर तथ्य सङ्कलन गर्दै आएका लेखक तिम्सिना पछिल्लो समयमा भने मोरङका १७ ओटै पालिकामा पैदल हिँडेर पुगेको अनुभव सुनाउँदै भन्छन्, ‘जनप्रतिनिधि भेट्ने सवालमा मैले दैनिक २० किलोमिटरसम्म पैदलयात्रा पनि गरेको छु ।’
पत्रकारिता पेसाबाट विस्तारै खोजीलेखनमा प्रवेश गरेका लेखक तिम्सिनाले केही समय ‘दिलासा छापाखाना’ व्यवसाय सञ्चालन गरे पनि पछि उक्त जिम्मेवारी श्रीमती दुर्गा निरौलालाई दिई निरन्तर नवीन विषयको खोजी गर्दै छन् । लकडाउनको समयमा अत्यधिक पुस्तक लेखनकार्यमा सक्रिय भई त्यसलाई अहिलेसम्म निरन्तरता दिएका तिम्सिनालाई ‘लकडाउनले जन्माएको लेखक’ समेत भन्ने गरिएको छ । अहिलेसम्म ३६ ओटा विषयसन्दर्भमा पुस्तकाकार कृति तयार पारिसकेका तिम्सिनाले अझै पूर्ण तल्लीन भई शरणार्थीसम्बन्धी अर्को पुस्तकाकार कृतिको खोजी गरिरहनुले उनको दीर्घ साधना, त्याग र सङ्घर्षपूर्ण कार्यको प्रशंसा मात्र होइन, अनुकरणसमेत गर्न सकिन्छ ।