विषय प्रवेशः
हामी आम निर्वाचनको सन्निकट छौं । दशैं, तिहार र छठजस्ता चाडबाडपछि चुनावी सरगर्मी निकै तातेको देखिन्छ । चुनाव भनेको जनताका जनादेशलाई अद्यावधिक गर्ने महत्वपूर्ण लोकतान्त्रिक प्रक्रिया हो । यो चुनावी महासङ्ग्राममा सबै राजनैतिक पार्टी तथा स्वतन्त्र उम्मेदवारहरू भिड्दैछन् । सबैले चुनावी प्रतिबद्धता र आश्वासनहरू बाँडिरहेका छन् । आ–आप्mनो तरिकाले मतदाताहरूलाई आकर्षित गरिरहेका छन् । मतदाता सामु सबैले आफूलाई अब्बल सावित गर्न अधिकतम् प्रयास गरिरहेका छन् ।
सामान्यतः चुनावको बेला सबैले राष्ट्र र जनताप्रति बफादार, विकास र समृद्धिको ठेकेदार, न्याय र समानताको पक्षधर, भ्रष्टाचारको कट्टर विरोधी, सुशासनको पहरेदारजस्ता सकारात्मक बिम्बहरूमा आफूलाई उभ्याउने र चिनाउने जमर्को गर्दछन् । यही सकारात्मक आवरणमा उनीहरू जसरी पनि चुनाव जित्ने रणनीति अन्तर्गत चुनावी ब्याटलमा सहभागी हुन्छन् । निर्वाचन भनेपछि सारभूत रूपमा हार र जित अन्तरनिहीत हुन्छ । सबैको जित्ने साझा लक्ष्य हुन्छ । यद्यपि वस्तुतः एउटाले जित्दा अर्कोले हार्नै पर्दछ । यो हार र जितको सार्वभौम द्वन्द्वात्मक नियम हो । तसर्थ मङ्सिर ४ गतेको निर्वाचनमा पनि अरू पार्टी वा व्यक्तिहरूलाई हराउँदै कसरी जित्न सकिन्छ ? यो सबैको लागि सर्वाधिक महŒवपूर्ण सवाल हो । यस आलेखमा निर्वाचन जित्नको लागि खानैपर्ने केही क्याप्सुलहरूबारे चर्चा गरिएको छ ।
(क) सैद्धान्तिक तथा दृष्टिकोणीय क्याप्सुलः
कुनै पनि राजनैतिक पार्टी वा व्यक्तिसँग स्पष्ट सैद्धान्तिक र राजनैतिक दृष्टिकोण अनिवार्य हुन्छ । दृष्टिकोण विना मुलुक र समाजलाई कसरी र कता दिशानिर्देश गर्ने भन्ने कुरा स्पष्ट हुँदैन । जुन पार्टी वा व्यक्तिसँग निश्चित गन्तव्यसहितको दृष्टिकोणीय कार्यक्रम र योजनाको खाका हुँदैन, उसले समाजलाई माग र आवश्यकता सापेक्ष पथप्रदर्शन गर्न सक्दैन । यो साश्वत् सत्य कुरा हो । माग र आवश्यकता सापेक्ष नेतृत्व गर्न नसक्नु भनेको मुलुकको गति र जनताका अग्रगामी मर्म र भावनाहरूले सही दिशा लिन नसक्नु हो । जनताका चाहनाहरू भताभुङ्ग हुनु हो । सिङ्गो राष्ट्रिय राजनीति अन्यौलता र भद्रगोलमा फस्नु हो, जुन आज तपाईं हामीले भोगी नै रहेका छौं ।
यद्यपि वर्तमान सिङ्गो नेपाली राष्ट्रिय राजनीतिमा स्पष्ट र सही राजनैतिक दृष्टिकोणले नेतृत्व गरिरहेको छैन । सिद्धान्त, दृष्टिकोण र एजेण्डाहरू हावी भइरहेका छैनन् । चुनावमा त झन् साम, दाम, दण्ड र भेदको पर्याय बनिरहेको देखिन्छ । यो दुःखद् विडम्बनाको कुरा हो । तर, पनि हामीले जनता सामु स्पष्ट सिद्धान्त, दृष्टिकोण र एजेण्डाहरू राख्नै पर्दछ । उनीहरूलाई स्पष्ट गराउनै पर्दछ । यस्ता एजेण्डाहरूको दीर्घकालीन सकारात्मक तथा नकारात्मक असरहरूबारे स्पष्ट ज्ञान दिनै पर्दछ । जनताले दृष्टिकोण र एजेण्डामा सुझबुझ राखेर मतदान गर्ने हो भने परिणाम गुणात्मक फलदायी हुनसक्छ । अन्यथा राजनीति यथास्थितिको गोलचक्करमा घुमिरहन्छ । यसकारण चुनाव जित्नको लागि सबैभन्दा भरपर्दो क्याप्सुल भनेको सही दृष्टिकोण र एजेण्डालाई स्थापित गराउनु नै हो ।
(ख) सङ्गठन परिचालनः
हरेक चुनावमा सिङ्गो समाज राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिक र धार्मिकरूपमा चलायमान हुन्छ । यो एक–दुई जनाको मात्र प्रयास र प्रयत्नको सवाल होइन । यो त व्यापक पार्टी सङ्गठन, जनवर्गीय सङ्गठन, जातीय मोर्चा अनि पेशागत सङ्गठनहरूको कुल योगमा गरिने सामूहिक महापर्व हो । खास गरेर जति सङ्गठित, सचेत, सुदृढ, प्रतिबद्ध र एकताबद्ध सङ्गठन हुन्छ, त्यति नै बढी चुनाव जित्ने सम्भावना प्रबल हुन्छ । अर्थात् जसले व्यापक र प्रतिबद्ध सङ्गठनलाई निर्दिष्ट उद्देश्य र योजनामा दृढतापूर्वक परिचालन गर्दछ, उसैले चुनाव जित्दछ । वस्तुतः चुनाव जित्ने सङ्गठन भनेको अरूभन्दा आकारमा ठूलो र व्यवस्थित हुनु पर्दछ । अरूभन्दा जुझारु हुनुपर्दछ । अरूभन्दा प्रतिबद्ध हुनुपर्दछ । अरूभन्दा सङ्गठनको व्यवस्थित संयन्त्र हुनुपर्दछ । अरूभन्दा एकताबद्ध हुनुपर्दछ । गुटगत र स्वार्थगत झगडामा रुमल्लिएको हुनुहुँदैन । अरूभन्दा जिम्मेवारी बोध गर्नसक्ने हुनुपर्दछ । वर्तमान राष्ट्रिय राजनैतिक आवश्यकता र बाध्यतालाई ग्रहण गर्न र बुभ्mन सक्ने हुनुपर्दछ ।
यस अतिरिक्त पार्टी वा सङ्गठन तलदेखि माथिसम्म चेन अफ कमाण्डमा रहेको हुनुपर्दछ । नेता तथा कार्यकर्ताहरू ठोस परिस्थितिको ठोस विश्लेषण गर्ने हैसियत भएको हुनुपर्दछ । न्यूनतम् राजनैतिक ज्ञान भएको हुनुपर्दछ । अन्यथा ठूलो सङ्गठन भए पनि प्रभावकारीरूपमा परिचालन हुँदैन । परिचालन भइहाले पनि औपचारिकतामा मात्र सीमित हुन्छ, जुन लक्ष्य र परिणाममुखी हुन सक्दैन । सङ्गठन विधि, प्रक्रिया र पद्दतिमा चल्नु पर्दछ । प्रतिबद्ध र अनुशासित हुनुपर्दछ । समाज सापेक्ष आवश्यकतामा उच्च स्पिरिटसहित वा बलीदानी भावसहित होमिन सक्ने हुनुपर्दछ । यस्तो बलियो सङ्गठनलाई चुनावको बेला अधिकतम्रूपमा परिचालन गरियो भने जित सुनिश्चित गर्न सकिन्छ । यसकारण चुनाव जित्ने दोस्रो महŒवपूर्ण क्याप्सुल भनेको निश्चित योजना र उद्देश्यमा सङ्गठनको व्यापक तथा अधिकतम् परिचालन नै हो । किनभने सङ्गठन परिचालनमा असीमित र अथाह शक्ति, जोश, जाँगर र सम्भावनाका ताकतहरू लुकेको हुन्छ ।
(ग) भावी उद्देश्य र कार्ययोजनाः
चुनावको बेला गर्न सकिने नसकिने सबैखाले वाचा कसमहरू खाने गरिन्छ । अब त जनता पनि यस्ता अधुरो र उधारो बकम्फुसे वाचा कसमहरूबाट आजित छन् । परम्परागत विकासे नाराहरू अब पुरानो भइसकेको छ । यस्तो वस्तुगत राजनैतिक धरातलमा जुन पार्टी वा व्यक्तिले स्पष्ट र वस्तुवादी उद्देश्य र कार्ययोजनाहरू पेश गर्दछ, उसलाई मतदाताहरूले बढी विश्वास गर्ने सम्भावना रहन्छ । हुन त मतदाताहरू पनि विभन्न प्रलोभन, हावादारी, मनगढन्ते र उडन्ते कुराहरूमा अल्मलिएका छन् । यसरी मतदाताहरू गलत सूचनामा रुमल्लिनु भनेको मुलुकको राष्ट्रिय राजनीति नै अँध्यारो सुरुङभित्र छिर्नु बराबर हो । राजनीति मुलुक, जनता र समाजले चाहेको र खोजेको दिशातर्पm नजानु वा नलानु हो ।
त्यसैले अबको चुनावमा जितको बाजी मार्ने हो भने ठोस र वस्तुवादी उद्देश्य, कार्ययोजना तथा स्पष्ट भिजन अनिवार्य शर्त हुन्छ । अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन कार्ययोजनाहरू प्राथमिकताको शृङ्खलामा राखेर योजनाबद्धरूपमा अघि बढ्ने पार्टी वा व्यक्तिले मात्र चुनाव जित्ने हैसियत राख्दछ । हुन त पछिल्लो समय निश्चित उद्देश्य र कार्यक्रमभन्दा पनि हावादारी हल्लाखल्ला र प्रचारबाजीकै भरमा पनि चुनाव जित्ने वातावरण पैदा भइरहेको तीतो यथार्थ तपाईं हामीले भागिरहेकै छौं । यो दुःखद् कुरा हो । यस्तो प्रवृत्तिले हामीलाई वा हाम्रोे राष्ट्रिय राजनीतिलाई जनअपेक्षित अग्रगामी वा सही गन्तव्यमा पु¥याउँदैन । त्यसैले जनताका परीक्षामा सामेल भएर अब्बल दर्जामा उत्तीर्ण हुने हो भने जनतालाई विश्वास र भरोसायोग्य उद्देश्य, कार्यक्रम र कार्ययोजना निर्माण अनिवार्य शर्त हुन्छ । यसकारण हावादारी र महŒवाकाङ्क्षी सपनाहरू होइन, जसले वस्तुगत धरातलमा टेकेको अनि व्यावहारिक कार्यान्वयनमा उतार्न सकिने निश्चित गन्तव्यसहितको वस्तुवादी उद्देश्य र कार्ययोजनासहित पेश गरेको हुन्छ, उसैले चुनाव जित्नेमा दुईमत छैन ।
(घ) विपक्षीहरूको सही मूल्याङ्कनः
चुनाव भनेको पनि विना हतियारको एउटा युद्ध मोर्चा नै हो । हामी सबै मङ्सिर ४ को युद्धमोर्चामा छौं । यस्तो मोर्चामा एउटा पक्षले अर्को पक्षलाई वस्तुवादी ढङ्गले चिन्न सक्नु पर्दछ । यसमा अधिमूल्याङ्कन र अवमूल्यन दुवै हानिकारक हुन्छ । अधिमूल्याङ्कन गर्दा निराशा र हार मात्रै हावी हुन्छ भने अवमूल्यन गर्दा त्यसै जितिहालिन्छ नि भन्ने बेवास्तापूर्ण मनोविज्ञानले घर गर्दछ । गाम्भीर्यता बोध हुँदैन । परिणामतः युद्धमोर्चामा पराजय भोग्नु पर्ने हुन्छ । त्यसैले कुनै पनि मोर्चाहरूमा दोस्रो पक्षको असाध्यै सही र वस्तुवादी आँकलन अनिवार्य शर्त हुन्छ ।
वस्तुतः चुनावी मोर्चामा विजय सुनिश्चित गर्नको लागि विपक्षी पार्टी, नेता, स्वतन्त्र व्यक्ति आदिलाई राम्रोसँग पहिचान गरी त्यसै अनुरूपको रणनीति अङ्गीकार गर्न सक्नुपर्दछ । उदाहरणको लागि गत स्थानीय तह निर्वाचनमा केही स्वतन्त्र उम्मेदवारहरू अनपेक्षितरूपमा विजयी हुनु भनेको उनीहरूलाई वस्तुवादी ढङ्गले चिन्न नसक्नुकै दुष्परिणाम हो । त्यतिखेर स्वतन्त्रहरू पनि हाम्रो प्रतिस्पर्धी हुन् । प्रतिस्पर्धी भएपछि त्यो स्वतः चुनौती पनि हो भनेर विश्लेषण गर्दै सोही अनुरूपको रणनैतिक योजना बनाएर अघि बढेको भए पक्कै पनि भिन्न परिणाम आउने थियो । यसकारण सानो भए पनि एउटा पार्टी वा स्वतन्त्र उम्मेदवारले अर्को पार्टी वा स्वतन्त्र उम्मेदवारलाई समानान्तर प्रतिस्पर्धीको नजरबाट हेर्नै पर्दछ । अर्थात् विपक्षीलाई नजरअन्दाज गर्नु सही हुँदैन साथै पहाडै ठान्नु पनि हुँदैन । स्थानीय तह निर्वाचनबाट हामीले त्यो पाठ सिक्नै पर्दछ । त्यसैले आगामी चुनावमा जित सुनिश्चित गर्ने हो भने विपक्षी पार्टी वा व्यक्तिहरूलाई पहाडै पनि नठानी अनि नजरअन्दाज पनि नगरी तथ्यपरक मूल्याङ्कन गर्नुपर्दछ । उनीहरूको वस्तुवादी, तथ्यमा आधारित वा धरातलीय मूल्याङ्कन गर्दैै त्यसलाई काउन्टर गर्ने रणनीति अख्तियार गरेर योजनामा अघि बढ्यौं भने मात्र जित पक्का गर्न सकिन्छ ।
(ङ) सामाजिक सम्बन्धः
चुनाव जित्नको लागि राजनैतिक विचार, सङ्गठन र कार्ययोजनासँगै सामाजिक सम्बन्ध पनि निकै महत्वपूर्ण देखिन्छ । राजनीति रक्षात्मक भएको बेला झनै सामाजिक पक्षहरू हावी हुन्छन् । यसमा जुन पार्टी वा व्यक्तिको सङ्गठन समाजमा भिजेको छ वा भित्रभित्रसम्म घुसेको छ, उसैको जितको सम्भावना बढी हुन्छ । यो साश्वत् सामाजिक नियम हो । अर्थात् हाम्रो समाजमा विद्यमान भइरहेका सबैखाले गतिविधिहरूमा जनतासँग एकाकार भएर उनीहरूको दिनदैन्यको उठबससँग जोडिएर बनाइएको सामाजिक सम्बन्धले चुनावी परिणामलाई पनि सजिलै प्रभाव पार्दछ । त्यसैले जसले समाजमा हुने राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिक तथा धार्मिक क्रियाकलापहरूमा समायोजित भएर पार्टी वा व्यक्तिको संयन्त्रहरूलाई चलायमान गराउँछ, उसैले जित्ने सम्भावना बढी रहन्छ । यसकारण विचार, एजेण्डा र सङ्गठन परिचालनमा जोड दिँदै सामाजिक सम्बन्धमा ध्यान दिन जरुरी छ ।
(च) प्रचार–प्रसारः
आज हामी सूचना प्रविधिको अभूतपूर्व विकासको चरणमा छौं । संसार सानो गाउँजस्तो भएको छ । विश्वको एउटा कुनामा भएको घटना अर्को कुनामा क्षणभरमै सञ्चार गर्न सकिन्छ अनि त्यसको सकारात्मक र नकारात्मक प्रभाव पनि पलभरमै अभिव्यक्त हुने गर्दछ । यो खुसीको कुरा हो । आज मान्छेले गर्ने सम्पूर्ण गतिविधिहरू सूचना सञ्चारसँग जोडिएकै हुन्छ । यो वर्तमान मानव समाजको अभिन्न अङ्ग बनिसकेको छ । अर्थात् सूचना र सञ्चार विना कुनै पनि मानवीय आयामहरू जीवन्त हुँदैन ।
त्यसैले हिजोआजको चुनाव जित्ने महŒवपूर्ण क्याप्सुलहरूमध्ये प्रचार–प्रसार एक हो । जसले सामाजिक सञ्जाललगायतका सूचना प्रविधिको अधिकतम्, वस्तुवादी र वैज्ञानिक ढङ्गले उपयोग गर्दछ, उसैले चुनाव जित्छ । यो आजको हाम्रो वस्तुगत यथार्थता हो । यसकारण प्रचार ब्यूरो बनाएर निर्वाचनसँग जोडिएका सम्पूर्ण गतिविधिहरू वा सङ्गठनले गरिरहेको क्रियाकलापहरूलाई तुरुन्तै जीवन्त सम्प्रेषण गर्नु अनिवार्य हुन्छ । यो अभ्यासहरूबाट प्रमाणित सत्य पनि हो । त्यसैले चुनाव जित्न प्रचार–प्रसारमा गम्भीर ध्यान दिन जरुरी छ ।
निष्कर्षः
त्यसैले चुनाव जित्नको लागि निश्चित विचार, सङ्गठन, एजेण्डा, कार्ययोजना, कार्यक्रम सबै अनिवार्य हुन्छ । एजेण्डालाई जनतामा दर्ज गर्नु, सङ्गठनलाई चस्तदुरुस्त परिचालन गर्नु, भावी वस्तुवादी कार्ययोजना र कार्यक्रमहरू तय गर्नु, विपक्षीहरूको सही मूल्याङ्कन गर्दै त्यसविरुद्ध रणनीति बनाएर अघि बढ्नु, सामाजिक सम्बन्ध विस्तार र सुदृढ गर्नु अनि प्रचार–प्रसारमा विशेष ध्यान दिने हो भने चुनाव जित्न त्यति कठिन छैन । यसको लागि सबै आयाम र पक्षहरूको सम्पूर्णरूपमा परिचालन र उपयोग गर्नु अपरिहार्य हुन्छ । तब मात्रै जित सुनिश्चित हुन्छ ।