विराटनगर । असुरक्षित रुपमा हुने गरेको गर्भपतन कार्यलाई निरुत्साहीत पारी सुरक्षित रुपमा जनचेतना अभिवृद्धिमा जोड दिनुपर्ने सरोकारवालाहरुले जोड दिएका छन् ।
स्वास्थ्य लाइभले विराटनगरमा शुक्रबार आयोजना गरेको कार्यक्रममा गर्भपतन गराउने अवस्था आउनै नदिनुपर्नेमा सबैलाई जनचेतना जगाउन आवश्यक रहेको बताए । उनीहरुले असुरक्षित गर्भपतनका कारण महिलाहरुले नै जोखिम मोल्नु पर्ने अवस्था रहेको उनीहरुले बताए ।
कार्यक्रममा बोल्दै विराट मेडिकल कलेजका अध्यक्ष तथा स्त्री तथा प्रसूती रोग विशेषज्ञ डा. ज्ञानेन्द्रमान सिंह कार्कीले असुरक्षित रुपमा हुने गरेको गर्भपतनलाई सुरक्षित बनाउनु र सकभर परिवार नियोजनका साधनहरु प्रयोग गरि गर्भपतन गराउनु हुदैन भन्ने सन्देश दिनु आवश्यक रहेको बताए ।
‘सकभर गर्भपतन गर्न नपरोस भन्ने मान्यता राख्ने गर्दछु,’ डा. कार्कीले भने, ‘तर पनि अहिले गर्भपतन गराउन आउने गरेका छन् ।’ गर्भपतन गराउने अवस्था आउनै नदिनुपर्नेमा सबैलाई जनचेतना जगाउनुपर्नेमा डा. कार्कीले बताए । ‘गर्भपतन गराउन पाईन्छ वा पाईदैन भन्ने कुराको सबैलाई ज्ञान छैन,’ उनले भने, ‘कस्तो अवस्थामा कहाँबाट गर्न पाईन्छ कस्तो अवस्थामा पाईदैन भन्ने कुराको सबैलाई ज्ञान हुन आवश्यक रेहको छ ।’ यसमा सरकारी तथा गैरसरकारी संघ संस्थाहरुले विशेष पहल गर्नुपर्ने उनले बताए ।
कार्यक्रममा विपी कोइराला विज्ञान प्रतिष्ठानका प्राडा श्याम लम्सालले जथाभावी गर्भतपन गराउँदा महिलाको स्वास्थ्यमा असर पर्ने बताए । औषधि खाँदा अरूले थाहा नपाउने, समय थोरै लाग्ने र सहजरूपमा पाइने भएकाले महिलाहरू बढी मेडिकलमा गई अबैधरुपमा गर्भपतन गराउने समस्या बढेको उनले बताए । असुरक्षित गर्भपतनलाई निरुत्साहि गर्न जनचेतना अभिबृद्धी गर्नु जरुरी उनले बताए ।
कार्यक्रममा औषधी व्यवस्था विभाग विराटनगरका सूचना अधिकारी दिपेन्द्र खड्का, मेरी स्टोप्सका केपी उपाध्यय, प्रदेश १ का स्वास्थ्य मन्त्रालयका नर्सिङ अधिकृत कृतिश्री दाहालले गर्भपतन गराउने अवस्था आउनै नदिनुपर्नेमा सबैलाई जनचेतना जोगाउन आवश्यक रहेको बताए । उनीहरुले इच्छाविपरीत भइहालेमा सुरक्षित तरिकाले गर्भपतन गराउन नेपाल सरकारवाट सुचिकृत स्वास्थ्य संस्था र सुचिकृत स्वास्थ्य कर्मि भएको स्वास्थ्य संस्थामा जानुपर्ने बताए ।