जलवायु वैश्विक मुद्दा बन्न थालेको धेरै वर्ष भएको छैन । जलवायु परिवर्तनको असर तत्कालै नदेखिने हुँदा पनि यो मुद्दा बन्नका लागि निकै समय पर्खिनु प¥यो । ढिलै भए पनि अहिले यो गम्भीर मुद्दा बन्दै छ, विश्वका लागि । यस हिसाबमा भने हाम्रोजस्तो विकासोन्मुख देशहरू खुसी हुनै पर्छ । तर, अहिले पनि जलवायु परिवर्तनको सबैभन्दा बढी मार हाम्रैजस्ता देशले भोगिरहेका छन् । त्यसबाट सबैभन्दा बढी पीडित पनि हामी नै भइरहेका छौँ । जलवायु परिवर्तनले हाम्रो खानपान, जीवनशैली, पर्यावरण, वातावरणलाई पूर्णरूपमा प्रभाव पारिरहेको छ । ठूला देश अर्थात् शक्ति सम्पन्न देशहरूले हरितगृह ग्यास उत्पादन गर्ने कारण हाम्राजस्ता शक्तिहीन देशहरू त्यसको सिकार भइरहेका छन् । यस्ता प्रभावलाई न्यूनीकरण गर्न हरेक वर्ष पक्ष राष्ट्रहरूले सम्मेलन गर्न थालेका छन् । राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष मुलुकहरूको महासन्धिको २७ औँ सम्मेलन इजिप्टमा सुरु भएको छ । यसले फेरि पनि एकपटक हरितगृह ग्यास उत्पादनलाई कम गर्ने भन्ने विषयमा व्यापक छलफल गर्नेछ ।

शक्ति राष्ट्रबीच औद्योगिक होडबाजीको प्रत्यक्ष मारमा अल्पविकसित र विकासोन्मुख देशहरू परिरहेका छन् । एकातिर शक्ति राष्ट्रहरू क्षेप्यास्त्र परीक्षणको होडबाजीमा लागेका छन् । अर्कातिर हरितगृह ग्यासको उत्सर्जन चाहिनेभन्दा बढी भइरहेको छ । यसले गर्दा हाम्रा हिमालहरू काला पत्थरमा परिणत हुँदै छन् । मानिसहरूको गाँस, बास र जीवनशैली प्रभावित बन्दै छ । कोप–२६ मा विश्वको तापक्रम १ दशमलव ५ डिग्रीमा सीमित राख्ने प्रतिबद्धता गरे पनि त्यो प्रतिबद्धताअनुसार काम हुन सकेको छैन । यसपटकको सम्मेलनमा पनि त्यस्तै प्रतिबद्धता हुने देखिन्छ । कोप–२६ मा पक्ष राष्ट्रहरूले सन् २०३० सम्ममा हरितगृह ग्यास उत्सर्जन ४५ प्रतिशतमा कायम गराउने प्रतिबद्धता गरेका थिए । सन् २०५० सम्म हरितगृह ग्यास शून्य (नेट जिरो) बनाउने लक्ष्य छ । तर, विश्वमा बढिरहेको औद्योगीकरणको होडबाजीले त्यो छनक देखिएको छैन । हुन त पछिल्ला दिनहरूमा विद्युतीय उपकरणहरूको निर्माण तीव्र गतिमा भइरहेको छ । यो सकारात्मक सङ्केत अवश्य नै हो ।

जलवायु परिवर्तन नेपालको मुद्दा हो या होइन ? यस प्रश्नको चिन्तन राजनीतिक दलहरूमा पाइँदैन । अहिले राजनीतिक दलहरू निर्वाचनको मुखमा छन् ।  प्रमुख राजनीतिक दलहरूले हालै घोषणा–पत्रहरू पनि सार्वजनिक गरेका छन् । तर, जलवायु परिवर्तनका विषयमा लगभग मौन छन् अर्थात् अनुदार देखिन्छन् । वातावरणका विषयमा केही बोलेको भए पनि त्यो यथेष्ट छैन । हाम्रा आवाजहरू जसरी विश्वसामु पु¥याउनुपर्ने हो, त्योअनुसार पु¥याउन सकेको देखिँदैन । यसमा राजनीतिक दलहरू चुकेका छन् नै, उनीहरू यसमा स्पष्ट पनि छैनन् । अबको मुद्दा जलवायु परिवर्तन बन्नुपर्छ भन्नेभन्दा पनि उनीहरूको मुद्दा अहिले पनि जनताको आँखामा छारो हालेर सत्ता र शक्तिको लाभ लिने भन्नेमा सीमित छ । शक्तिमा पुगेपछि गर्नुपर्ने कामहरू भुलेका छन् । यो वैश्विक मुद्दालाई पेचिलो बनाउनुपर्छ भन्नेतर्फ ध्यान भने गएको छैन । त्यसकारण जलवायु परिवर्तन र कोप–२७, हाम्राजस्ता देशका लागि अभिसाप नबनोस् ।