धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रा.डा.मोहनचन्द्र रेग्मीले अन्तर्राष्ट्रिय अवार्ड पाएका छन् ।

मोजाम्बिकको राजधानी मोपुतोमा भएको फिस्टुला सर्जनहरूको अन्तर्राष्ट्रिय सङ्गठनको आठौं सम्मेलनमा प्रा.डा.रेग्मीलाई ‘इन्टरनेशनल सोसाइटी अफ अब्स्ट्रेटिक फिस्टुला सर्जन’(आईसोफ्स) अवार्ड प्रदान गरिएको हो । विगत १५ वर्षदेखि हालसम्म ८ सय फिस्टुला बिरामीको अप्रेसन गरेका उनलाई अब्ट्रेष्टिक फिस्टुलाको उपचारमा असाधारण योगदान पु¥याएको भन्दै अवार्ड प्रदान गरिएको हो ।

विश्वका ५० देशका फिस्टुला सर्जनहरू सहभागी सम्मेलनमा दक्षिण एसियाका ३ जना र अफ्रिकाका ३ जनाले अवार्ड पाएका थिए । त्यसमध्ये नेपालबाट प्रा.डा.रेग्मी र पाकिस्तानका २ जनाले पाएका थिए । नेपालबाट यो अवार्ड पाउने प्रा.डा.रेग्मी पहिलो व्यक्ति हुन् ।

उनी फिस्टुला फ्रि नेपालका अध्यक्ष तथा राष्ट्रिय प्रशिक्षकसमेत हुन् । उनकै पहलमा बीपी प्रतिष्ठानमा फिस्टुलाको राष्ट्रिय केन्द्र स्थापना भएको छ । बीपीसहित नेपालका ३ ठाउँमा अब्स्ट्रेटिक फिस्टुलाको जटिल अप्रेसन हुने गरेको छ । फिस्टुलाका बिरामीको निःशुल्क उपचारसँग कुरुवाका लागि समेत खाने, बस्ने व्यवस्था मिलाइएको छ ।

प्रा.डा.रेग्मीले यो अवार्ड आफूले मात्र नभई नेपालले फिस्टुलाका लागि गरेको कामको मूल्याङ्कनका रूपमा आएको बताए । उनले भने, ‘हामीले संस्थागत रूपमा गरेको कामले सम्मान पाएको छ । हाम्रो कामलाई विश्वले चिनेको छ । त्यसमै खुसी लागेको छ ।’ अक्टोबर ३० देखि नोभेम्बर ४ सम्म सञ्चालन भएको सम्मेलनले प्रा.डा.रेग्मीलाई सोसाइटीको मुख्य चार पदमध्ये एक कोषाध्यक्षमा समेत चयन गरेको छ ।