विराटनगर। घटना १: विराटनगर महानगरपालिका–२ सरस्वती टोलका ५८ वर्षीय सुरेश भुजेललाई प्रेसरले हानेपछि घरमा ढले । परिवारका सदस्यले उनलाई तत्काल १६ कात्तिकमा राति १० बजे कोसी अस्पतालको आकिस्मक कक्षमा पुर्याए ।
भुजेल परिवारको आर्थिक अवस्था नाजुक भएको कारणले उनीहरूले कोसी अस्पताल लगेका थिए । त्यसबेला आकस्मिक कक्षमा अहेव अजय यादव रहेका थिए । उनले बिरामीको अवस्था हेरेपछि उपचारको लागि ठाउँ खाली नभएको, राम्रो र गुणस्तरीय स्वास्थ्य उपचार सेवा रेड प्लस हस्पिटलमा हुने कुरा बिरामीलाई बताए । उक्त हस्पिटलका सञ्चालकसमेत रहेका अहेव यादवसहित कोसी अस्पतालका अवकाशप्राप्त लेखा अधिकृत राजकुमार दाहाल र अर्का एक जना अस्पतालका कर्मचारीको लगानी रहेको छ । त्यो हस्पिटल कोसीदेखि करिब तीन सय मिटर उत्तर विराटनगर–७ शनिहाटमा रहेको छ ।
आफ्नै अस्पतालमा बिरामी लैजान पल्किएका अहेव यादवले फोन गरेर मे.१ च १६७९ नम्बरको एम्बुलेन्स बोलाए । एम्बुलेन्समा राखेर बिरामी भुजेललाई रेड प्लस हस्पिटलमा राति ११ बजे पु¥याए । सस्तोमा उपचार हुने बताएर स्वास्थ्यकर्मीले उनीहरूलाई रेडप्लस हस्पिटल पठाएका थिए । दुई दिन उपचार गरेको बिल ७० हजार आएपछि बिरामीका आफन्तलाई चिन्ताले सतायो । ऋण काढेर रेडप्लसको पैसा तिरेपछि तत्काल उनीहरूले रेफर मागेर पुनः कोसी अस्पतालमा १७ कात्तिकमा भुजेललाई लिएर आए । अहिले भुजेलको कोसी अस्पतालको आइसियुको ५ नम्बर बेडमा राखेर उपचार भइरहेको छ ।
घटना २
मोरङको बूढीगङ्गा गाउँपालिका–१ का ३० वर्षीय समिर ढकाल १५ कात्तिकको साँझ घरको सिँढीबाट लढेर बेहोस भए । ढकालका आमा रामरेखा र दिदी उर्मिलाले उनलाई कोसी अस्पतालको आकस्मिक कक्षमा पु¥याए । त्यसबेला रातिको १० बजेको थियो । ड्युटीमा थिए, अहेव अजय यादव । बिरामीको अवस्था हेरेपछि उनले ‘बिरामीलाई आइसियुमा राख्नुपर्छ, यहाँ ठाउँ खाली छैन’ भनिदिए । त्यसपछि अघिल्लो बिरामी सुरेश भुजेललाई जस्तै अहेव यादवले आफ्नो हस्पिटलमा लैजान सिफारिस गरे । यादवले बोलाएको एम्बुलेन्समा राखेर राति ११ बजे रेडप्लस हस्पिटलमा बिरामी लिएर गए । रेडप्लस पुर्याएपछि बिरामी ढकाललाई आइसियुमा राखियो । १६ कात्तिकमा एक रात राखेको बिल २३ हजार ४ सय रुपैयाँ आयो । सस्तोमा उपचार हुने भनेर आएका ढकाल परिवार हस्पिटलको बिल सोचेभन्दा बढी आएपछि आत्तिए । स्वास्थ्य बिमाबाट उपचार गर्ने भनेर आएका ढकाल परिवारले सहकारीबाट ऋण काढेर रेड प्लसको एक दिन उपचार गरेको पैसा बुझाएपछि रेफर मागेर मोरङ सहकारी हस्पिटल लिएर गए । रेडप्लसमा आइसियुमा राखेर उपचार गरेको बिरामीको मोरङ सहकारीमा जेनेरल वार्डमा दुई दिन राखेर उपचार गरेपछि १८ कात्तिकमा डिस्चार्ज भयो । मोरङ सहकारीमा उनीहरूले स्वास्थ्य बिमाबाट उपचार गरेका थिए । ‘सुरुमै मोरङ सहकारीमा रेफर गरिदिएको भए यति धेरै पैसा खर्च हुने थिएन’ बिरामीका आमा रामरेखा ढकालले भनिन्, ‘सरकारी हस्पिटलमै केही स्वास्थ्यकर्मी र बिचौलियाको कारणले बिरामीमा ठगिनु परेको छ ।’
घटना ३
३ कात्तिकमा विष सेवन गरेर मोरङको कानेपोखरी गाउँपालिका–४ की ३० वर्षीया एक महिला अर्धचेत भएकी थिइन् । आर्थिक अवस्था नाजुक रहेको ऋषिदेव समुदायकी ती महिला सुकुम्बासी हुन् । उनी डाँसखोलानजिक फुसको छानो भएको छाप्रोमा बस्ने गरेकी थिइन् । बिरामी भएपछि परिवार र छिमेकीले १० हजार रुपैयाँ ऋण काढेर विराटनगरस्थित कोसी अस्पतालमा लिएर आए । कोसीमा आएपछि जेनेरल वार्डमा भर्ना भएर उनको उपचार भइरहेको थियो । ५ कात्तिकमा बिचौलियाले ती बिरामीलाई कोसी अस्पतालको शय्याबाट हस्पिटल चौकमा रहेको विराट सिभिल हस्पिटलमा पुर्याए । कोसीमा भर्ना भएका बिरामी होसमा आउँदा विराट सिभिलमा थिए । विराट सिभिलमा तीन दिन राखेर उपचार गरेको बिल फार्मेसीको २० हजार र हस्पिटलको ३० हजार भएको थियो ।
पैसा तिर्न नसकेपछि स्थानीयले चन्दा सङ्कलन गरेर हस्पिटललाई २० हजार रुपैयाँ बुझाएपछि बाँकी रहेको औषधि र उपचार खर्च हस्पिटलले मिनाहा गरिदिएको थियो । ती बिरामी विराट सिभिल हस्पिटलमा ल्याएबा पत बिचौलियाले १० हजार रुपैयाँ कमिसन पाएका थिए । उल्लेखित घटनाले कोसी अस्पतालमा आएका बिरामी कसरी स्वास्थ्यकर्मी र बिचौलियाको फन्दामा परेर विपन्न परिवारका बिरामी चर्को शुल्क असुल्ने निजी हस्पिटलमा जान बाध्य भइरहेका छन् भन्ने उदाङ्गो भएको छ । गुणस्तरीय उपचार हुने भनेर आस्थाको केन्द्रको रूपमा कोसी अस्पताल आएका दैनिक २ देखि पाँच जना बिरामीलाई राति ९ बजेपछि रेफर गरिदिने गरेको पाइएको छ ।
कोसीका स्वास्थ्यकर्मीले नै बिचौलियाका रूपमा बिरामीलाई निजी अस्पतालमा रिफर गर्ने प्रवृत्ति अहिले बढेको छ । कोसी अस्पतालमा २४ शय्याको आइसियु १२ बेडमा झारेर, भएको एचडिसियु वार्ड बन्द गरेर, अस्पतालका उपकरण बिगारेर, थन्क्याएर वा बिग्रिएको बहाना बनाएर बिरामीलाई निजी अस्पतालमा दौडाउने खेल व्यापक रूपमा मौलाइरहेको छ । साढे ३ सय शøयाको यस अस्पतालमा विविध सेवासुविधाका कारण बिरामीको चाप बढेको छ । अस्पताल प्रशासनका अनुसार दैनिक १ हजार ५ देखि दुई हजारको हाराहारीमा बिरामी उपचारका लागि कोसीमा आउने गर्छन् । उपकरण लगायत स्तरीय उपचार सेवा हुँदाहुँदै पनि त्यहाँका कर्मचारीले निजीमा रिफर गर्ने गरेको प्रमाण भेटिएको छ ।
छोराको उपचारको लागि कोसी ल्याएकी रामरेखा घिमिरेले कोसी अस्पतालका स्वास्थ्यकर्मीको कारण निजीमा चर्को शुल्क तिरेर उपचार गर्नुपरेको बताइन् । ‘कोसीमा आउने बिरामी विपन्न समुदायका हुने गरेका छन् । कोसीमै उपचार सम्भव हुने बिरामीलाई रेफर गर्दा हामीजस्तो पैसा नहुने मान्छेको बिल्लीबाठ भयो’ उनले भनिन्, ‘यसरी उपचार सम्भव हुने बिरामीलाई कमाउधन्दामा लागेका स्वास्थ्यकर्मीले रिफर गरेर आफ्नो हस्पिटलमा पठाउनेलाई कारबाहीको दायरामा ल्याउनु पर्दछ । आगामी दिनमा यस्तो गल्ती हुनबाट रोक्नु पर्छ ।’
रेड प्लससहित यहाँका निजी हस्पिटल र च्याउसरी खुलेका हस्पिटलमा बिरामी पठाइदिएबापत निश्चित कमिसन छुट्याउने गरेका हुन्छन् । एक हस्पिटल सञ्चालकका अनुसार यसरी रिफर गर्ने स्वास्थ्यकर्मी र बिचौलियालाई हस्पिटलले ३० प्रतिशतसम्म कमिसन दिने गरेका छन् । कोसी अस्पतालका मेसु डा. लक्ष्मीनारायण यादवले आफूले पनि अस्पतालका बिरामी अन्यन्त्र पठाउने गरेको गुनासो सुनेको बताए । ‘बिरामीको पनि गुनासो आएकाले हामीले ड्युटीमा खटिएको चिकित्सक र स्वास्थ्यकर्मीलाई सचेत गराएका छौं’ मेसु यादवले भने, ‘कोसीमा उपचार सम्भव हुने बिरामीलाई अन्यन्त्र रिफर गरेको भेटिए तत्काल कारबाहीको दायरामा ल्याउनेछौं ।’ ४० शय्याको कोसी अस्पतालको आकस्मिक कक्षको सुधारमा आफू लागिपरेको उनले सुनाए ।
यसरी बिरामीलाई अन्यत्र रेफर गर्ने यादवलाई हस्पिटलले स्पष्टीकरणको लागि पत्र पठाएको छ । तर, उनले उक्त पत्र बुझेका छैनन् । यता कोसी अस्पताल आकस्मिक कक्षका अहेव अजय यादवले हस्पिटलमा आएका बिरामीलाई अन्यत्र नपठाएको दाबी गरे । हस्पिटलले स्पष्टीकरण सोधेको विषयमा भने उनले अनभिज्ञता प्रकट गरे । ‘हस्पिटलले स्पष्टीकरण पत्र काटेको भन्ने मैले पनि सुनेको हो । पत्र बुझेको छुइनँ’ उनले भने, ‘मङ्गलबार हस्पिटल गएर पत्र बुझ्नेछु । त्यसपछि थाहा हुनेछ ।’
बिग्रिएको ‘सिटीस्क्यान’ नबन्दा निजीमा उपचार
विराटनगर । प्रदेश १ को सबैभन्दा ठूलो सरकारी अस्पताल कोसीमा ‘सिटीस्क्यान’ बिग्रिँदा बिरामी मारमा परेका छन् ।
कोसी अस्पतालको ‘सिटीस्क्यान’ बिग्रिएकाले बिरामी महँगो शुल्क तिरेर निजी अस्पताल जान बाध्य छन् । कोसी अस्पतालमा दैनिक आउने १ हजारदेखि १ हजार ५ सय बिरामीमध्ये ४० प्रतिशतलाई अल्ट्रासाउण्ड र ८–१० प्रतिशतलाई सिटीस्क्यान, एमआरआई र एक्स–रेको आवश्यकता पर्छ । तर, कोसी अस्पतालकोे सिटीस्क्यान बिग्रिएको छ । साढे आठ इमेजेज निकालिसकेको कोसीको यो सिटीस्क्यानको ट्युव बिग्रिएको छ र ट्युव परिवर्तन गर्न १ करोड खर्च लाग्छ ।
कोसीको सिटीस्क्यान बिग्रिएकोले मार बिरामीलाई परेको छ । अहिले बिरामी निजी अस्पताल जानुपर्ने बाध्यतामा छन् । कोसीमा २ हजार ६ सय रुपैयाँमा हुने सिटीस्क्यानका लागि निजी अस्पतालमा ६ देखि १० हजारभन्दा बढी तिर्नुपर्छ ।
पछिल्लो वर्ष कोसी अस्पतालमा नयाँ–नयाँ उपकरण भिœयाइए पनि बिरामीको भारलाई धान्ने क्षमता भने नरहेको बताइन्छ । सरकारीमा भन्दा अगाडि भित्र्याइएको निजी अस्पतालका उपकरण बिग्रिएको खासै सुनिदैन । तर, सरकारीमा नयाँ होस् वा पुरानो, साना होस् ठूला उपकरण महिनैपिच्छे बिग्रिन्छन् । नयाँ किन्दा वा मर्मत गर्दा पाइने कमिसनले पनि सरकारी अस्पतालका उपकरण धेरै बिग्रनुमा ‘नियत’ लाई समेत दोष दिने गरिएको छ ।
कोसी अस्पतालका मेसु डा. लक्ष्मीनारायण यादवले बिग्रिएको सिटीस्क्यान चाँडै बन्ने बताए । ‘सिटीस्क्यान सप्लाइ गर्ने कम्पनीका इन्जिनियरहरूले हेरेर गएका छन् । फ्रि अफ कस्टमा कसरी बनाउने भन्ने उपाय हामीले खोजेका छौं’ मेसु यादवले भने, ‘एउटा मेसिन नेपालगञ्जमा रहेको भन्ने खबर आएको छ । स्वास्थ्य सेवा विभागसँग समन्वय गरी त्यहाँबाट उपकरणहरू ल्याएर चाँडै बनाउने प्रयत्नमा लागिपरेको छु ।’