आसन्न मङ्सिर ४ गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा सदस्यको प्रत्यक्षतर्फका उम्मेदवारहरू यतिबेला जनताको घरदैलोमा छन् । उनीहरू आ–आफ्ना एजेन्डा लिएर चुनावी मैदानमा होमिएका छन् । यसबेला जनता निर्वाचनप्रति त्यति धेरै आशावादी पनि नदेखिएको अवस्थामा सत्तारुढ गठबन्धन दलबाट नेपाली काङ्ग्रेसका प्रदेशसभा सदस्य उमेश थापासँग ब्लाष्ट टाइम्स दैनिकले गरेको कुराकानीको सम्पादित अंशः
प्रचार–प्रसारमा हिँडिरहनुभएको छ, जनताको राय र सुझावहरू चाहिँ कस्तो आइरहेको छ ?
–हामी निर्वाचनको मध्यभागमा आइपुगेका छौं । अहिले हामीले घरदैलो एकदम तीव्र गतिमा अगाडि बढाइरहेका छौँ । घरदैलोमा जनताको उत्साह हेर्दा निर्वाचन उत्साहजनक हुने देखिएको छ । निर्वाचनका कार्यक्रमहरू जनताले रुचाइरहनुभएको छ ।
के लिएर जनतामा माझ जानुभएको छ ?
–विशेषगरी यो क्षेत्रको विकासको गुरुयोजना लिएर गएका छौं । जनताको समस्या लिएर गएका छौं । हालसम्म जनताको जनप्रतिनिधिले केही गर्न सक्नुभएन । अब हामी गर्छौं भनेर हामी मतदाताको समस्या लिएर गएका छौं । विस्तृत खाकासहित योजना लिएर नै अगाडि बढेका छौँ ।
जनताको अपेक्षा के हुँदो रहेछ ?
–जनतामा चाहिँ साना–साना, मसिना कुराहरू पनि हुँदा रहेछन् । जुन स्थानीय सरकारले पनि पूरा गर्नुपर्ने खालको हुँदोरहेछ । घरदैलोमा जाँदा प्रमुख रूपमा औषधिको, बाटोघाटोको, कुलो, सिंचाइ, पानीलगायतको समस्या उठ्दो रहेछ । अहिले चाहिँ रोजगार छैन भन्ने कुरा प्रमुखताका साथ उठाइरहनुभएको छ ।
तपाईं प्रदेशसभामा जानुभयो भने धरान र प्रदेशका लागि के काम गर्नुहुन्छ ?
–मेरो पहिलो पहिलो एजेन्डा चाहिँ के हो भने यो पाँच वर्ष नामकरणमा खेर गयो । पहिलो काम प्रदेशसभाबाट प्रदेशको नामकरण गर्नेछु । ऐतिहासिक पृष्ठभूमि र पहिचानका आधारमा नामकरण गरिनेछ । त्यो काम गर्न सकिएन भने जनताले फेरि पनि धिक्कार्नेछन् । ६ महिनाभित्र नामकरण गरिनेछ । त्यस्तै धरान आर्थिक, सांस्कृतिक र सामाजिक रूपले एकदमै पछाडि परेको छ । यसको प्रदेश र केन्द्रसँग पहुँच पनि भएको छैन । प्रदेश र केन्द्रसँग पहुँच पु¥याउनका लागि नेतृत्वदायी भूमिका खेल्नेछु । आर्थिक विकासका लागि प्रदेश सरकारको आयोजनाहरू ल्याउने छु । केन्द्रसँग पनि पहल गर्नेछु । धरानको धार्मिक पर्यटनलाई विकसित गर्नेछु । यहाँको पिण्डेश्वर, विजयपुर दरबार, विश्व सम्पदाको सूचीमा राख्न पहल गर्नेछु । धरानको छेउमै वराहक्षेत्र मन्दिर छ । हिन्दु सनातनका लागि यसको छुट्टै महŒव छ । भारत र नेपालमा गरी चारधाममध्ये दुई–दुई वटा छन् । त्यसमध्येको यो पनि एउटा हो । वराहक्षेत्र ओझेलमा परेको छ । प्रदेशमा म निर्वाचित भएर गएमा सरकारको तर्फबाट भारतीय मूलका हिन्दु पर्यटकहरूलाई ल्याउन पहल गरिनेछ । त्यसले धरानलाई पनि फाइदा पु¥याउनेछ । धरानमा बीपी प्रतिष्ठान छ । यसमा बेला–बेला व्यवस्थापनको विषयलाई लिएर प्रश्न उठ्छ । म त्यही संस्थामा २१ वर्ष काम गरेर आएको हुनाले त्यहाँको व्यवस्थापन र सुधारको पक्षमा ध्यान दिनेछु । बीपी प्रतिष्ठानको स्वामित्वमा धरानको छाताचोकमा रहेको जग्गा त्यतिकै छ । त्यहाँ प्रदेश सरकारको गौरवको आयोजनाअन्तर्गत १ सय शøयाको सिटी अस्पताल बनाउनेछु । प्रदेश सरकारको छुट्टै ऐनबाट चल्ने गरी निर्माण गरी गरिब तथा विपन्नहरूलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउनमा फोकस दिनेछु । सुनसरी १ को प्रदेशसभा (क) तर्फको धरानभित्र रहेको ४, ५ र ६ नम्बर वडा विकासको दृष्टिकोणले पछि परेको छ । यहाँको शिक्षाको विकास गर्न लागिपर्नेछु । यो आदिवासीको बाहुल्य क्षेत्र हो । विगतदेखि निर्माणाधीन अवस्थामा रहेको बहुजातीय सङ्ग्रहालयका लागि बजेट विनियोजन गर्न भूमिका खेल्नेछु । मैले जितेर गएमा धरानको विकासको लागि प्रदेश र केन्द्रको सेतुका रूपमा काम गर्नेछु र धरानलाई आर्थिक रूपमा कसरी चलायमान बनाउन सकिन्छ भन्नेबारे पहल गर्नेछु ।
धरान बजार के कारणले सुस्ताएको जस्तो लाग्छ ?
–धरान पूर्वाञ्चलको करिडोर थियो । तर, अहिले धरानको अर्थतन्त्र जर्जर भइरहेको छ । पहिला मृत सहर भनिन्थ्यो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान आयो । धरानले प्रधानमन्त्रीसम्म पनि पायो । सङ्घीयता आएपछि मुख्यमन्त्री पनि पायो । तर, धरानले के पायो । उहाँहरूले किन गर्न सक्नुभएन, म त्यतातिर जाँदिनँ ।
खासमा प्रदेशसभा र प्रतिनिधिसभामा जाने सदस्यहरूको काम नीति, निर्माण गर्ने हो तर, अहिले चाहिँ जनतामाझ जाँदा सर्भिस प्रोभाइडरका रूपमा जानुभएको छ ?
–हो, प्रदेश तथा प्रतिनिधिसभा सदस्यले कानून, ऐन नै बनाउने हो । त्यही सदस्यहरूबाटै सरकार पनि बन्छ । ऊ सरकारमा पनि भागिदार हुन्छ । कानून मात्रै बनाउने काम हो भनेर केही पनि नगर्ने त ? विकास निर्माणको काम चाहिँ कसले गर्ने होला ? देश सङ्घीयतामा गइसकेको छ । आ–आफ्नो तहगत अधिकार छ । सबैले अधिकार क्षेत्रभित्र रहेर काम गर्नुपर्छ । प्रदेश सरकारले के के गर्ने, के के नगर्ने भन्ने संविधानमा उल्लेख गरिएको छ । सङ्घीय सरकारको काम, कर्तव्य र अधिकार पनि व्यवस्था छ । यस्तो व्यवस्था भए पनि कतिपय अवस्थामा कानून बनेको छैन । त्यसलाई फुकाउनु पर्छ सरकारले । सरकारको काम त डेलिभरी पनि हो नि त ! जनताले सर्भिस पनि खोज्छन् । त्यो काम भनेको सरकारको हो । हाम्रो दोहोरो काम छ ।
धरानलाई अर्थतन्त्रमा टेवा पुग्ने गरी यहाँको पर्यटनलाई कसरी विकास गर्न सकिएला ?
–धरानको विकासको मुख्य मेरुदण्ड भनेको पर्यटन नै हो । अब धरानको भौगोलिक अवस्था हेर्दाखेरी हामी चुरे र महाभारतको फेदीमा छौं । धरानको विकासमा पहिलो ध्यान दिनुपर्ने के हो भने धार्मिक मठमन्दिर संरक्षण गर्नुपर्छ । मैले पहिलो पनि भनिसकेँ । यहाँको मठमन्दिरलाई ऐतिहासिक सम्पदाको सूचीमा राख्न सक्यौँ भने विदेशी पर्यटकहरू पनि आउँछन् । वार्षिक १० लाख विदेशी पर्यटकहरू भित्र्याउन सक्यौँ भने कति तारे होटल खोल्छन् । कति लगानी भित्रिन्छ ।
विश्व सम्पदा सूचीमा राख्दा मात्रै त्यो सम्भव होला त ?
–एउटा सांसद्ले १० लाख, २० लाख, ५० लाख रुपैयाँ खर्च गरेको छ । संसद् विकास कोषबाट रकम छुट्याएर रङरोगन पोत्नेभन्दा अरू केही काम भएको छ त ?
नीति बनाउने क्षेत्रमा तपाईंहरू जाँदै हुनुहुन्छ ?
–समुचित रूपमा गुरुयोजना बनाउनुप¥यो । लगानी सम्मेलन गर्नुप¥यो । विज्ञहरूको सम्मेलन गर्नुप¥यो । अहिलेसम्म सदनमा गएमा प्रतिनिधि तथा प्रदेशसभा सदस्यहरूले धरानको विकासमा, अर्थतन्त्रलाई टेवा दिने हिसाबले बोल्नुभएको छ ? यहाँ व्यवसाय गर्ने, उद्योग कलकारखाना खाल्ने वातावरण ल्याउनुप¥यो । हाम्रो घोषणा–पत्रमा ती कुराहरू ल्याएका छौँ । उद्योगका लागि १० वर्ष कर लिँदैनौं भनेर यसरी नीति लिएर आएमा होटल, कलकारखाना खुल्छन् । धरानमा एउटा तारे होटल खोल्ने खालको नीति ल्याउनु प¥यो नि त ! ५ वर्षसम्म कर निःशुल्क गरिदिनुप¥यो नि ।
तपाईं तारे होटलको कुरा गर्नुहुन्छ, यहाँ भएका होटललाई नै व्यवस्थापन भएको छैन ?
–हो, एकदमै सही भन्नुभयो । धरानमा आउने मान्छेहरू कि भेडेटार गएर बसिदिनुहुन्छ कि विराटनगर गएर बस्नुहुन्छ । धरानमा किन बस्न चाहनु भएन ? त्यसको अध्ययन गर्नुप¥यो । यसको मुख्य दायित्व स्थानीय सरकारको पनि हो । प्रदेश सरकारको पनि हो । अहिलेसम्म २०४८ सालदेखि एउटै दलले जित्दै आयो । अहिले भलै स्वतन्त्र हुनुहुन्छ । यसअघि हाम्रो दलले जित्यो । तर, हामीले अल्पमतमा सरकार चलायौँ । हामीलाई कतिपय काम गर्न दिइएन । जसले हिजोदेखि हालीमुहाली गर्नुभयो । उहाँहरूले ग्याप के हो भनेर छलफल चलाउनुभएको छ त ? धरानमा कस्तो कार्यक्रम ल्याइदिनुपर्छ । सङ्घमा के पहल गर्नुपर्छ ? भनेर छलफल चलाउनुभएको छ ? यहाँका जनप्रतिनिधि र उद्योगी व्यवसायीबीच ग्याप छ । त्यो ग्याप पूर्ति गर्न हामी आएका छौँ ।
अहिले दलहरूप्रति जनताको वितृष्णा छ । विशेषगरी युवामै वितृष्णा छ, यस आधारमा जित्ने आधारहरू के के देख्नुहुन्छ ?
–राजनीतिक दलहरूका शीर्षस्थ नेताहरूप्रति युवाहरूको वितृष्णा छ, त्यो यथार्थ कुरा हो । हामीले विशिष्ट परिवेशमा २०७४ सालमा संविधान बनिसकेपछि र सङ्घीयता कार्यान्वयन भइसकेपछि स्थायी सरकारको परिकल्पना गरेर नेपाली जनताले नेकपाको तत्कालीन गठबन्धनलाई अभिमत दिनुभयो । देशमा राजनीतिक क्रान्ति धेरै भयो, अब देश आर्थिक रूपमा अगाडि जाओस्, समृद्धितर्फ अगाडि बढोस् भन्ने हिसाबमा जनताले स्थायी सरकारका लागि गठबन्धनलाई अभिमत दिनुभयो । तर, त्यसको सम्मान भएन । आफ्नै आन्तरिक कारणले गर्दाखेरी सरकार पनि गि¥यो र गठबन्धन पनि फुट्यो । अहिले हामी गठबन्धन छौँ । हिजो एकमना सरकार हुँदा त केही भएन भने गठबन्धनले केही गर्छ भन्ने हिसाबमा जनतामा एक प्रकारको उत्साह छ, गठबन्धनप्रति । अहिले सकारात्मक सोच के छ जनतामा । गठबन्धनप्रति आश्वस्त हुनुहुन्छ । युवाहरू पनि आश्वस्त हुनुहुन्छ । म युवा उम्मेदवार छु । त्यो हिसाबमा मेरो जित्ने आधार पनि युवा नै हुन् । जनतामा आक्रोस छ । किनकि एउटा युवा हातमा डिग्रीको प्रमाण–पत्र लिएर बसेको छ । एकदम दक्ष युवा छ । अर्को चाहिँ सीप र प्राविधिक शिक्षा प्राप्त होस् भन्ने चाहन्छ । यी युवाहरूलाई रोजगारको अवसर सिर्जना गर्न सकेका छैनौँ । त्यो भइसकेपछि फ्रस्टेसन भएको छ । दलहरूले सरकार सञ्चालन गर्दै गर्दा नीति नल्याएका कारणले फ्रस्टेसन देखिएको छ । युवाहरूको भावना र मर्मलाई बुझ्नुपर्छ । यही आधारमा युवाहरूले मेरो भावना बुझेर भोट दिनुहुन्छ भन्ने लाग्छ । मेरो जित्ने आधार पनि यही नै हो ।
सैद्धान्तिक रूपमा हेर्ने हो भने गठबन्धनमा रहेका दलहरू फरक–फरक वैचारिक धरातलका हुनुहुन्छ । यसका कारणले गर्दा पनि युवाहरूमा वितृष्णा छाएको छ भन्ने आरोप छ नि ?
–अन्य पार्टीका युवाहरूको अवस्था के छ, त्यसप्रति मलाई कमेन्ट गर्नु छैन । हाम्रो पार्टीको १४ औँ महाधिवेशनलाई हेर्ने हो भने पार्टीको महामन्त्रीहरू युवाहरू हुनुहुन्छ । उहाँहरू नीति निर्माणमा पनि प्रमुख भूमिकामा हुनुहुन्छ । हाम्रा सम्मानीय प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले पनि युवाहरूलाई को–अर्डिनेसन गरेर अगाडि बढिरहनुभएको छ । युवामुखी नीति छ । युवाहरू निर्णायक भूमिकामा हुनुहुन्छ । माओवादी पनि निर्णायक देखिन्छ । प्रचण्डपछि महासचिव वर्षमान पुनः जनार्दन शर्माहरूलाई नै हेरौँ । हो, उहाँहरू र हाम्रो सिद्धान्त फरक छ । आ–आफ्नो सिद्धान्त छ । तर, नीति बनाउँदा देशलाई हेरेर बनाउने हो । यहाँको अर्थतन्त्रसँग, राष्ट्रियतासँग, शिक्षा, स्वास्थ्यसम्बन्धी कमन धारणा बनाउने हो । त्यसको आधारमा राज्य सञ्चालन हुने हो ।
गुटको राजनीति धेरै छ पार्टीमा, तपाईं पनि गुटकै पक्षपोषण गर्नुहुन्छ भन्ने हल्ला छ नि ?
–यो चाहिँ हल्लै हो । विपक्षीहरू हतास हुनुहुन्छ । आम मतदाता, जनताबाट सोचेजस्तो रेस्पोन्स पाइरहनुभएको छैन अनि काङ्ग्रेसमा गुटबन्दी छ भनेर भनिदिनुहुन्छ । अहिले उहाँहरूमा चाहिँ चरम गुटबन्दी छ । म काङ्ग्रेसको प्रदेशको महामन्त्री भएँ, यो सबैको सहयोग र माया ममताले नै भएको हुँ । हाम्रो पार्टीमा समस्या छैन, यो निर्वाचनमा । हामीले एउटा मात्रै सिट पाएका छौँ । एउटा सिटलाई सदुपयोग गर्नुपर्छ भनेर सबै नै निर्वाचनमा होमिएका छौँ ।
तपाईंको प्रतिस्पर्धीका रूपमा नेकपा (एमाले)का नेता रमेश बस्नेत हुनुहुन्छ, उहाँको पनि जनतामाझ छुट्टै विरासत छ, प्रतिस्पर्धीका रूपमा उहाँलाई कसरी लिनुभएको छ ?
–प्रतिस्पर्धीका हिसाबमा हेर्दा उहाँमा म सालिनता पाउँछु । उहाँले दुई कार्यकाल पाँचकन्या गाविसको नेतृत्व गर्नुभयो । उहाँको कार्यकालमा मैले भन्नुभन्दा पनि त्यहाँका जनतालाई सबै थाहा छ । धरानको ४, ५ र ६ मेरो हिसाबमा पछाडि परेको वडा हो । यस क्षेत्रलाई प्रदेश र केन्द्रले पनि हेरेन । उहाँहरूको सरकार बन्यो तर, पनि केही भएन । उहाँहरू सरकारमा बस्दा पनि काम गर्न सक्नुभएन ।
अरू उम्मेदवारभन्दा आफूलाई कसरी फरक प्रतिस्पर्धी ठान्नुहुन्छ ?
–म एउटा युवा हुँ । म २१ वर्ष प्रशासनिक क्षेत्रमा र सामाजिक क्षेत्रमा पनि २०–२२ वर्ष काम गरेको छु । सामाजिक क्षेत्रमा पनि लामो अनुभव छ । मैले आफूले आफूलाई अरूभन्दा फरक देखाउँदै गर्दा सामाजिक सेवाको क्षेत्रमा आफूले जुन हिसाबमा काम गरेको छु । मैले लो प्रोफाइलमा बसेर जनताको काम गरेको छु । बीपी प्रतिष्ठानमा बस्दा प्रदेश १ भरिकै नागरिकको सेवा गरेको छु । अरू युवाहरूभन्दा आफूलाई फरक ठानेको छु । ममा जवाफदेहिता छ । कसैले पनि ममाथि आर्थिक अपलचनको आरोप लगाउन सकेको छैन । विघटित रेडक्रसलाई पनि ब्यूँताएर काम गरेँ । बीपी प्रतिष्ठानमा जागिर खाँदा पनि र छाड्दा पनि सम्पत्ति विवरण बुझाएर आएको छु । अहिले चुनावमा लड्दै गर्दा पनि सम्पत्ति विवरण बुझाएको छु ।
सुकुम्बासी समस्या देशकै विकराल समस्या हो, यसलाई कसरी लिनुभएको छ ?
–अव्यवस्थित भूमिहीनहरूको नीति पनि बन्यो, कार्यान्वयनको फेजमा पनि छ । कतिपय ठाउँमा लगत सङ्कलन गरिरहेको छ भने कतिपय ठाउँमा थोरै थोरै लालपुर्जा पनि वितरण भइरहेको छ । तर, हाम्रो गठबन्धनको माग चाहिँ भूमि ऐन ८ औँ पटक संशोधन हुनुपर्छ । लालपुर्जा वितरण भइसकेपछि त्यसलाई सम्बन्धित व्यक्तिले क्यापिटलका रूपमा प्रयोग गर्न पाओस् न । अहिले १० वर्षपछि मात्रै बेच्न पाउने, अन्य कुरा गर्न पाउने भन्ने छ । लालपुर्जा पाएको ५–६ महिनामा व्यवसाय र सदुपयोग गर्न पाउनुप¥यो नि । बिक्री नै नभनौं न । बैङ्किङ प्रोसेसमा गई लोन लिन पाउने व्यवस्था गर्नुप¥यो नि । यो ऐन अपूर्ण छ । यो ऐन संशोधन हुनुपर्छ भन्ने गठबन्धनको स्पष्ट धारणा छ । अहिले राजनीतिक दलले भोट बैङ्कका रूपमा हेरे गठबन्धनले स्थायी प्रकृतिको लालपुर्जा वितरण गरिनेछ । सेउती र सर्दुको करिडोरमा बसेकाहरूलाई कुनै पनि नाममा हटाउने छैनौँ । करिडोरको विकास गर्दैगर्दाखेरी उठाइने छैन । करिडोर लाइफलाइन बनोस् भन्ने हिसाबले योजना ल्याएका छौं ।
मतदाताले उमेश थापालाई किन मत दिने ?
–मलाई किन भोट दिने भन्ने कुरा गर्दैगर्दाखेरी धरानको समृद्धिका लागि, प्रदेशसभा (क) का जनताको समृद्धिका लागि, प्रदेश र केन्द्रबाट ओझेलमा परेका विषयहरूलाई अगाडि बढाउनका लागि उम्मेदवारी दिएको छु । युवाहरूको वितृष्णालाई निराकरण गर्नका लागि, धरानका समष्टिका लागि धरानको विकासका लागि एकपटक परीक्षण गरौँ न । आम मतदातालाई भोट माग्न चाहन्छु ।