प्रजातन्त्र पुनर्वहालीपछिको तीन दशकमा धेरै खालका परिवर्तनको साक्षी भयौँ । यहीबीचमा माओवादीको १० वर्षे सशस्त्र द्वन्द्व भोग्यौँ । राजाको सङ्कटकाल भोग्यौँ । २०६२/०६३ को परिवर्तनको साक्षी भयौँ । त्यसपछि अन्तरिम संविधान, पहिलो र दोस्रो संविधानसभाको चुनाव र २०७२ सालमा नेपालको सातौँ संविधान पनि बनाउने अवसर पायौँ । यी यावत् परिवर्तनहरू यही तीन दशकको दर्बियानमा भए । परम्परावादी शक्ति नेपाली काङ्ग्रेस जब मूलधारको राजनीतिमा प्रवेश ग¥यो । कम्युनिष्टहरू पनि मूलधारका राजनीतिमा आए । काङ्ग्रेसको एकोहोरो सत्तामाथिको ‘राज’ को अन्त्य भयो । विभिन्न कालखण्डमा जनता कहिले काङ्ग्रेस, कहिले एमाले र कहिले माओवादी केन्द्रप्रति आकृष्ट भइरहे । उनीहरूप्रति जनता जनार्दन कुनै न कुनै रूपमा सकारात्मक थिए । तर, २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तहको चुनावपछि भने राजनीतिमा नयाँ ‘कोर्ष’ को प्रारम्भ भएको छ । स्वतन्त्रको उदयले राजनीतिमा ‘नयाँ बहस’ ले प्रवेश पाएको छ । भलै, स्वन्तत्रमा वैचारिक स्पष्टता, स्पष्ट मार्गचित्र र खाका देखिँदैन । तर, राजनीतिक दलप्रतिको रुष्टता र आक्रोसको परिणामको फाइदा भने पक्कै उठाएको छ ।

अहिले दलहरू तथा तिनका कार्यकर्ताले जबर्जस्त एउटा भाष्य निर्माण गरिरहेका छन्, त्यो के भने नेपाल दलीय व्यवस्था भएको मुलुक हो, त्यसकारण स्वतन्त्रले चाहेर पनि केही गर्न सक्दैन । यो भाष्य केही हदसम्म ठीक छ, एउटा कोणबाट । किनकि मुलुक दलीय व्यवस्थाबाटै चल्नेछ भनी हामीले संविधानमा व्यवस्था गरेका छौँ । तर, यसको अर्थ यो होइन कि सदैव उनीहरूले नै रजगज गर्नुपर्छ । हो, स्वतन्त्रहरूमा वैचारिक विविधता छ, देशलाई कतातिर लाने भन्ने स्पष्ट मार्गचित्र छैन । सीमित आक्रोसको भरमा आफूलाई उभ्याएका छन् । यस हिसाबमा हेर्दा क्षणभङ्गुर मात्रै हो कि भन्ने पनि दिशानिर्देश भएको छ । राजनीति दलका अगुवाहरू आफूले के गरे ? के गर्न सकिनँ र किन स्वतन्त्रहरू सल्बलाउन थाले भन्ने विषयमा गम्भीर चिन्तन र मनन् गरेको देखिँदैन । खालि यिनीहरू केही होइनन् भन्ने बुझाइबाट प्रेरित भएको देखिन्छ । स्मरण गरौं, जतिबेला माओवादीको सशस्त्र द्वन्द्व सुरु हुनुपूर्व बाबुराम भट्टराईले तत्कालीन समयमा हालका प्रधानमन्त्री शेरबहादुर देउवालाई ५२ बुँदे मागपत्र लिएर जाँदा सामान्य ठानिएको थियो । त्यसरी नै अहिले राजनीतिक दलहरूले स्वतन्त्रहरूलाई सामान्य रूपमा ठानेका छन् । तर, यिनीहरू सङ्गठित भए भने के हुन्छ ? भन्ने परिणाम आँकलन गर्न सकेको देखिँदैन । राजनीति अब नयाँ कोर्षबाट अगाडि बढेको छ । भलै, त्यो सानो रूपमा किन नहोस् । यो सबै राजनीतिका अगुवा तथा आजसम्म हालीमुहाली गर्नेहरूकै कार्यशैलीबाट सिर्जित समस्या हो ।

हरेक समाजमा वैकल्पिक धारहरू सुशुप्त अवस्थामा रहिरहेका हुन्छन् । फरक यति हो, उनीहरूले कुन बेला टाउको उठाउँछन्, त्यो आँकलन गरिएको हुँदैन । गतिशील समाजलाई डो¥याउनका लागि ‘डिसकोर्ष’ हरू भइरहेका हुन्छन् । त्यो चिया पसलमा होला, कपडा पसलमा होस् या त पत्रिका पसलमा होस् । सुशुप्त अवस्थामा रहेको वैकल्पिक धारलाई सामान्य आँक्न हुँदैन । किनकि आज संसारमा जे जति परिवर्तनहरू भएका छन् । त्यसमा वैकल्पिक धारहरूको भूमिका महŒवपूर्ण छ । परम्परागत राजनीतिको यो तीन दशकमा नयाँ पुस्ताको जन्म भइसकेको छ । ती नयाँ पुस्ता जो आज वैश्विक समाजलाई हेरेर बाँचेका छन् । विश्वव्यापीकरणले उनीहरूलाई गाँजिसकेको छ । हो, उनीहरूको विचार तरल छ । ढलपलाउने किसिमको छ । तर, एउटा खण्डमा प्रवेश गरिसकेपछि त्यही विचार ठोसमा परिणत हुन्छ र त्यसले राजनीतिक डिसकोर्षलाई नयाँ ढङ्गबाट हेर्न बाध्य बनाउँछ । हो, अहिले हामी त्यही अवस्थाउन्मुख छौँ । यसलाई जन्माउने र मलजल गर्ने काम पनि राजनीतिक दल र तिनका कार्यकर्ताले नै गरेका छन् । किनकि विचार शून्य अध्यात्ममा मात्रै सम्भव छ, समाजमा सम्भव छैन ।