विजयपुर । विराट मेडिकल कलेज टिचिङ अस्पताल विराटनगरको सेवा अब धरानमा सुरु भएको छ ।

बुधबार धरान–८ मा विराट मेडिकल सेन्टरको उद्घाटन भएसँगै अस्पतालको ओपिडी सेवा धरानमा सुरु भएको हो । धरानस्थित विराट मेडिकल सेन्टरको धरान उपमहानगर प्रमुख हर्कराज राई र विराट मेडिकल कलेज टिचिङ अस्पतालका अध्यक्ष ज्ञानेन्द्रमान सिंह कार्कीले संयुक्त रूपमा उद्घाटन गरे । नगर प्रमुख राईले स्वास्थ्य उपचार पाउनु मानवको मौलिक अधिकार भएको बताए ।

स्वास्थ्य सेवा क्षेत्रको विकृति राज्य पक्षको नीति निर्माणले मात्र सुधार नहुने भन्दै स्वास्थ्यकर्मीले पनि ध्यान दिनुपर्ने उनको भनाइ थियो । अस्पतालका सह–सञ्चालक डा. निकिता कार्कीले विराट अस्पतालका ओपिडी सेवा धरानमा सुरु भएको बताइन् । उनले ओपिडीमा विशेषज्ञ चिकित्सक सेवा उपलब्ध गराउने बताइन् । उनले भनिन्, ‘अहिले पोलिक्लिनिक मात्रै हो ।’

साथै, धरानमा उपचारका लागि आएका बिरामीको लागि विराट मेडिकल टिचिङ अस्पताल जान निःशुल्क एम्बुलेन्स सेवा पनि दिने उनले बताए । उनका अनुसार कार्डियोलोजी, ल्याव, एक्स–रे, युएसजी, इको, टीएमटीलगायतका सेवा उपलब्ध रहेको छ ।