२००७ साल अर्थात् राणा सरकारभन्दा अगाडि धरानमा शिक्षाको जग बसाल्ने पब्लिक हाईस्कुल र शारदा बालिका विद्यालयमात्र हुन् । यी दुवै स्कुलहरूको धरानको शिक्षा विकासमा अहम् भूमिका छ । शारदा बालिका विद्यालय २००५ सालमा स्रोह श्राद्ध पूर्णिमाको दिन पं. छविलाल पोखे्रल, श्रीमती कुशुमदेवी श्रेष्ठ, सतिसचन्द गिरी, भागवत गोविन्द, गणेशमान श्रेष्ठ, प. दीनानाथ शर्मा तथा प. मेघराज शर्मा, सुरेन्द्र मास्के र अन्य धेरै महानुभावहरूको ठूलो प्रयत्नबाट स्थापना भएको हो । जग्गादातामा भागवत खनाल, सूर्यप्रसाद खनाल तथा मोहनकुमारी पलिखेबाट सिंहदेवीमा जग्गा प्रदान भयो । महिला शिक्षामा पूर्वमै यस विद्यालयको अहम् भूमिका छ ।
पूर्वी नेपालको पुरानो हाईस्कुलमध्ये धरानको पब्लिक हाईस्कुल धनकुटा, चैनपुर, विराटनगर, राजविराजमा खोलिएकामा यो पनि एक हो । यस विद्यालयले नेपाल राज्यको पूर्वी भेगका असङ्ख्य महानुभावहरूलाई शिक्षाको ज्योति दिने सुअवसर प्रदान गरी आएको तथ्य यहाँ स्मरणीय हुन आउँछ ।
‘राणा भनेको तलवार हो, जनता भनेको खसी बोका हुन्’ रिस उठ्दा यस्तो भाषा बोल्ने राणा शासकहरूले राणाकालीन शासनरूपी कालरात्रीको समयमा शिक्षारूपी कल्पवृक्षको वृक्षरोपण गर्ने पुनित उद्देश्यबाट अभिप्रेरित भई पं. नन्दीशङ्कर दाहाल (झोले बाहुन वा झोले पण्डितको उपनामले चिनिने) ले घर–घर गई एक मुठ्ठी चामल मागी धरानमा यस पब्लिक हाईस्कुलको स्थापना गरी शिक्षाको जग बसालेको कार्य धरानको शैक्षिक इतिहासले पुष्टि गरेको छ । यस्तो परम्पुनित कार्यमा योगदान गर्ने समूहमा पं. चिदानन्द ढुङ्गेल, पदमलाल गिरी, लक्ष्मीप्रसाद श्रेष्ठ, भक्तबहादुर थापा, रामजी श्रेष्ठ, कालीप्रसाद श्रेष्ठ, भजगोविन्द श्रेष्ठ, सुरेन्द्र मास्के, देवलाल श्रेष्ठ, वीरबहादुर मास्के, पं. छविलाल पोखे्रल, पं. मेघराज शर्मा आदिको ठूलो योगदान रहेको छ ।
विद्यालय स्वीकृतिका लागि प्रथम पटक गठित सञ्चालन समिति र पछि विद्यालय भवन निर्माण गर्न व्यापारी, साहु, महाजन, सर्वसाधारण, मारवाडी समुदायले अर्थ सङ्कलन गर्ने कार्य र विद्यालय सञ्चालन गर्न टेकबहादुर थापाले सक्रियतापूर्वक अगुवाइ गर्नुभएको थियो । भवन निर्माणतर्फ डेडराज मोतीलाल, लादुराम भुरामल, पन्तराम दास, मुखराम अग्रवाल, नरेन्द्रबहादुर बस्नेत र अन्य विभिन्न महानुभावहरूबाट सहयोग पुर्याइएको यस विद्यालयको इतिहासले देखाउँछ ।
धरान नगरीमा बसोबास वि.सं.१९३८/१९३९ सालमा सुरु भएको हो भन्ने जनरल स्व. भूपालमान सिंह कार्कीको भनाइ छ । वि.सं. १९९५ सालभन्दा पूर्व(हालः वडा प्रहरी कार्यालय भएको पाटीमा) एक सरकारी भाषा पाठशाला थियो । तिनताका सरकारी दरबन्दीमा भाषा शिक्षक नियुक्ति हुन्थे । त्यस स्कुलमा वि.सं. २००२ सालको अन्ततिर पं. अभिनन्द झा नाम गरेका शिक्षक नियुक्ति हुनुभयो । वहाँ भारतीय हुनुहुन्थ्यो । यसरी धरानको शिक्षा विकासको रूप भाषा पाठशालाबाट सुरु भयो ।
वि.सं. १९९६ सालमा धरानमा शारदा स्कुलको नामबाट स्कुल स्थापना गर्ने कार्य भयो । यसका संस्थापकहरू पनि पब्लिक हाईस्कूलका संस्थापकहरू नै हुनुहुन्थ्यो । पहिलो प्र.अ. देवलाल श्रेष्ठ त्यसपछि क्रमशः दुःख मोचन झा र तृतीय प्र.अ. का रूपमा महानन्द सापकोटा हुनुभयो । स्कुल हालः गीता भवन भएको स्थानमा एउटा टहरा निर्माण गरी सुरु गरियो । त्यसबेला त्यस स्कुलमा पं. छविलाल पोखरेल धनकुटाबाट आएर सत्यनारायण कथावाचन गरी सबै धरानका जनतालाई भेला पारी एउटा सभाबाट शारदा स्कुल नामकरण गरी ११ सदस्यीय कार्यकारिणी समिति गठन गरियो ।
जसमा पं. चिदानन्द शर्मा, पं. छविलाल पोख्रेल, पं.दीनानथ शर्मा, ननिदशङ्कर दाहाल, पदमलाल गिरी, गोविन्दकृष्ण श्रेष्ठ, लक्ष्मीप्रसाद श्रेष्ठ, पं. मेघराज शर्मा आदि हुनुहुन्थ्यो । त्यसबेला स्कुलको नाम ‘शारदा’ किन राखियो भने पूर्वमा त्यसताका शिक्षा डाइरेक्टर शारदा शमशेर राणा हुनुहुन्थ्यो । पछि स्कुल हालः विजयपुर बोर्डिङ स्कुल भएको स्थान धरान–१ मा सारियो । देवलाल श्रेष्ठ सरकी आमा श्रीमती कमलकुमारी श्रेष्ठले ३ कठ्ठा १० धुर जग्गा प्रदान गर्नुभयो । भा.रु. ८००।– (आठ सय) चन्दा सङ्कलन गरी विद्यालयको सानो भवन पनि बनाइयो । वि.सं. २००१ सालसम्म विद्यालय सञ्चालन भयो ।
त्यसपछि स्कुल बन्द गर्नू भन्ने राणा शासकले कडा आदेश दिएको कारणले गर्दा स्कुल बन्द भयो । विद्यार्थीहरू तितर–बितर भए । २००२ सालमा खरसाङ पढेर सुरेन्द्र मास्के धरान आउनुभयो । वहाँले वीरबहादुर मास्केको धरान–१ (हालः युरेका स्कुल भएको स्थान) मा धरान पब्लिक ब्वाइज मिडिल स्कुल खोल्नुभयो । धरानको शिक्षा विकासको लागि सुरेन्द्र मास्केको सक्रियतामा धरान पब्लिक ब्वाइज मिडिल स्कुल नामकरण गरी एउटा बिन्तीपत्र तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शमशेर जबरासमक्ष स्कुल खोल्न अनुमति पाऊँ भनी निवेदन पेश भयो । निवेदन स्वीकृत भयो । यसरी पब्लिक ब्वाइज मिडिल स्कुलले धरानमा शिक्षाको ज्योति फैलाउन सुरु गर्यो ।
पब्लिक हाईस्कुलको स्थापनाः
सुरुमा धरान–३ स्थित गौधारामा २००३ साल साउन २३ गते विधिवत् पढाइ प्रारम्भ गरी विद्यालयको जन्म दिने कार्य भयो । यसभन्दा अगाडि धरान पब्लिक ब्वाइज मिडिल स्कुलका संस्थापक सुरेन्द्र मास्के (प्र.अ.) तथा जनभावनाअनुसार जनताको तर्फबाट भक्तबहादुर थापा (मुन्सी काजी) बीच दुवै स्कुलहरू एकै ठाउँमा सञ्चालन गर्ने कुराकानी भयो । दुवैतर्फ जनदबाव पर्यो । अन्त्यमा सुरेन्द्र मास्केले सञ्चालन गरेको स्वीकृति प्राप्त मिडिल स्कुल पनि धरान पब्लिक हाईस्कुलमा गाभिन पुग्यो । नि.प्र.अ. का रूपमा माधवप्रसाद काफ्लेले कार्य गर्न थाल्नुभयो ।
यसरी दुवै स्कुलको एकीकरण कार्यमा तत्कालीन जनचाहनाअनुरूप भक्तबहादुर थापा र सुरेन्द मास्केकै भूमिका स्मरणीय छ । पब्लिक हाईस्कुलको हेडसर हुन त्यसताका पनि बी.ए. पास गरेकै हुनुपर्दथ्यो । २००३ साल भदौ ४ गते पहिलो हेडसरका रूपमा दीर्घकराज कोइरालाको नियुक्ति भयो । त्यसताका प्र.अ. नेपाल सरकारले नै नियुक्ति गर्दथ्यो । त्यसबेला दीर्घराज कोइरालाको तलब रु. १००।– थियो । पछि नेपाल सरकारले वहाँलाई शिक्षा मन्त्रालयको शिक्षा विभागको डाइरेक्टरमा तानेपछि हरिहरप्रसाद वर्मालाई नियुक्ति गरी शिक्षा मन्त्रालयले पठायो । २०२८ सालमा नयाँ शिक्षा लागू भएपछि वहाँ पनि शिक्षा मन्त्रालयको उप–सचिवमा तानिनुभयो ।
पछि धरान–१२ को हालः पब्लिक हाईस्कुल भएको स्थानमा भवन बन्यो । जग्गादातामा धरान ब्वाइज मिडिल स्कुलको जग्गा टेकबहादुर थापाले लिएर धरान–१२ मा १ बिगाहा जग्गा प्रदान गर्नुभयो । बाँकी अरू श्रीमती कमलकुमारी श्रेष्ठ, (देवलाल सरकी आमा) गणेशप्रसाद श्रेष्ठ (काइँला साहु), गौरीमान श्रेष्ठले जग्गा प्रदान गरी अब पब्लिक हाईस्कुलको जग्गा २ बिगाहा भयो । भवन निर्माणतर्फ मारवाडी समुदायले जिम्मा लियो ।
वि.सं.२००६ सालदेखि एस.एल.सी. पास विद्यार्थीहरू निस्किन थाले । वि.सं. २००६ सालमा पहिलोपटक प्रथम श्रेणीमा उत्तीर्ण हुने कृष्णप्रसाद श्रेष्ठ (बी.ए.) हुनुहुन्छ । यस विद्यालयबाट धेरै विद्वान, डाक्टर, चिफ इन्जिनियर, सचिव, लेखक, कवि जन्मिएका छन् । पूर्वी तराई र पहाडको शिक्षा ग्रहण गर्ने थलो नै यही हो । २०१२ सालमा रामबाबु शर्मा खनाल एस.एल.सी. बोर्डमा पहिलो स्थान र २०३० सालमा विश्वनाथ अधिकारी बोर्डमा तृतीय स्थान आउन सफल हुनुभएको थियो । मैले यसै स्कुलबाट २०२१ सालमा एस.एल.सी. पास गरेर यसै स्कुलको छैठौं प्र.अ. बन्ने मौका पाएँ । मैले पनि यस स्कुलमा बसेर १६ वर्ष प्र.अ.को पदमा काम गरेँ । प्र.अ.हरूमा क्रमशः माधवप्रसाद काफ्ले, दीर्घराज कोइराला, हरिहरप्रसाद वर्मा, राजेन्द्रप्रसाद आचार्य, जगेश्वर झा, रेवती नन्दन झा, कमल पोख्रेल, लेखनाथ भट्टराई हालमा इन्द्रमोहन झा हुनुहुन्छ ।
मैले यस विद्यालयको शैक्षिक र भौतिक विकासमा साहै्र ठूलो मिहिनेत गरेको छु । त्यो सबै धरानवासी र देशव्यापीरूपमा नै बुझ्नु भएको छ । यो स्कुल हिजो पनि रो.नं.१ मा थियो र अहिले पनि रो. नं.१ मा नै छ । यसमा काम गर्ने व्यवस्थापन समिति, प्र.अ., शिक्षक, कर्मचारी, विद्यार्थी, साहु महाजन, शिक्षा मन्त्रालय सबैलाई म पूर्व प्र.अ. को नाताले धन्यवाद दिन चाहन्छु ।
धरानका अन्य स्कुलहरूको स्थापना निम्न मितिमा भयो–
१. भगवती मिडिल स्कुल धरान–१६, यो स्कुल हालमा प्रा.वि. स्तरमा छ । यसको स्थापना २००८ सालमा भयो ।
२. पब्लिक मिडिल स्कुल धरान–१३ फुस्रे, यो स्कुल हाल मा.वि. स्तरमा छ । स्थापना मिति २००९ साल हो ।
३. शिक्षा निकेतन मा.वि. धरान–२, २०१० साल माघ १ गते स्थापना भएको हो ।
४.शिक्षा सदन मा.वि. धरान–१५, २०१२ साल फागुन १७ गते स्थापना भएको हो ।
५. ल्यावोरेटरी मा.वि. धरान–८, २०२२ सालमा स्थापना भएको हो ।
६. डिपोट मा.वि. ब्रिटिश क्याम्प धरानमा स्थापना भएपछि स्थापना भएको हो ।
७.धरान सेकेण्डरी स्कुल धरान–१, २०३४ सालमा स्थापना भएको हो ।
८. चन्द्र संस्कृत मा.वि. धरान–१६, २०२१ साल सरस्वती पूजाको दिन स्थापना भएको हो ।
९.सरस्वती मा.वि. पानवारी धरान–६, २०१६ साल श्रीपञ्चमीका दिन स्थापना भएको हो ।
१०. पूर्वाञ्चल ज्ञानचक्षु विद्यालय धरान–१५, २०३४ साल पुस १४ गते स्थापना भएको हो ।
११. पिण्डेश्वर संस्कृत महाविद्यालय धरान–१४, २००८ साल मङ्सिर २७ गते स्थापना भएको हो ।
१२. महेन्द्र कलेज धरान–१०, २०१२ साल माघ ४ गते स्थापना भएको हो ।
१३. केन्द्रीय प्रविधिक क्याम्पस धरान–१४ हात्तीसार, २०२८ साल नयाँ शिक्षा लागू भएपछि स्थापना भएको हो ।
१४. पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस, २०२८ सालमा नयाँ शिक्षा लागू भएपछि स्थापना भएको हो ।
(लेखकः पब्लिक हाईस्कुलका पूर्व प्रधानाध्यापक हुन् ।)