निर्वाचन निष्पक्ष र धाँधलीरहित बनाउन निर्वाचन आयोग दत्तचित्त भएर लागिपरेको छ । आयोगले बारम्बार राजनीतिक दलका उम्मेदवार तथा पार्टीलाई निर्वाचनमा आचार–संहिता उल्लङ्घन हुने खालका गतिविधि नगर्न चेतावनी दिँदै आएको छ । तर, दलहरूले आचार–संहिता उल्लङ्घन गर्ने क्रम रोकिएको छैन । सत्ता र शक्तिका आडमा सत्ताधारी दलका उम्मेदवार र विपक्षी दलका उम्मेदवारहरू आचार–संहिता उल्लङ्घन गर्नेमा अग्रपङ्क्तिमा देखिएका छन् । यसै क्रममा वर्तमान सरकारका सूचना तथा सञ्चारमन्त्रीसमेत रहेका सुनसरी ४ का उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीमाथि आचार–संहिता उल्लङ्घन भएको आरोप लागेको छ । आरोप नेकपा (एमाले)को निर्वाचन परिचालन कमिटीको छ । आरोप सत्य–असत्य के हो पत्ता लगाउने जिम्मेवारी आयोग र आयोगका अधिकारीहरूको हो । तर, एउटा सत्य चाहिँ के हो भने हरेक चुनावमा सत्ताधारी र विपक्षी त्यसमा पनि ठूला दलहरूले नै आचार–संहिता उल्लङ्घन गर्छन् भन्ने कुरा घाम जत्तिकै छर्लङ्ग छ ।

आयोगले निर्वाचनको मिति घोषणा गर्नुपूर्व नै आचार–संहिता निर्माण गरेको छ । उक्त आचार–संहिता निर्माणमा सबै राजनीतिक दलहरूको त्यसमा  पनि विशेषगरी ठूला राजनीतिक पार्टीहरूको संलग्नता रहेकै हुन्छ । तर, उनीहरू नै आचार–संहिता उल्लङ्घन गर्नेमा पहिलो पंक्तिमा देखिने गरेका छन् अर्थात् नेपाली उखान ‘जो अगुवा, उही बाटो ...’ भने झैँ छ । राजनीतिक दल तथा तिनका नेता कार्यकर्तामा नैतिकताको खडेरी मौलाएको छ । आफू शक्ति र सत्तामा पुग्नका लागि ‘साम, दाम, दण्ड र भेद’ सबै खालका उपायहरू अपनाउने गरेका छन् । ‘मनी र मसल्स’ को भरमा चुनाव जित्ने परिपाटी यसरी मौलाएको छ कि मानौँ यो हाम्रो संस्कृति हो । एउटा साधारण मान्छे लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकमा उम्मेदवार बन्न सक्ने सामथ्र्य राख्दैन । राखी हाले पनि ऊ निम्छरो सावित हुन्छ । यी चुनावी उपक्रममा देखिएको तीतो यथार्थ हो । अझ सूचना, प्रविधि र इन्टरनेटको बढ्दो प्रयोगले चुनावी माहौल नै परिवर्तन भएको छ । यहाँ आचार–संहिता उल्लङ्घन भए पनि गतिलो संयन्त्र नहुँदा नियन्त्रणमा कठिनाइ भएको छ । आयोगले यसतर्फ त्यति ध्यान दिन सकेको छैन । अर्कातिर आचार–संहिता उल्लङ्घनका घटनामा उजुरी परेको हकमा मात्रै आयोगले तदारुकता देखाउने गरेको छ । जसले गर्दा जनतामा आयोगप्रति विश्वास छैन । यस विषयमा आयोगले सुधार गर्नुपर्छ र आफूलाई प्रजातान्त्रिक बनाउनुपर्छ ।

नेपालमा निर्वाचनको शैली नै गलत छ । आयोगहरू पनि निष्कलङ्क र निस्पक्ष छैनन् । कुनै न कुनै दलबाट प्रतिनिधित्व गरी आयोगको प्रमुख पदमा पुगेका छन् । जसले गर्दा निष्पक्ष होलान् भन्ने आधार भेटिँदैन । पक्षधरता नै हाम्रो शत्रु हो । अर्कातिर राजनीतिक दलहरू आफै संलग्न भई बनाएको आचार–संहिता उनीहरूले नै उल्लङ्घन गर्छन् भने त्यसको अर्को कुनै दबाई हुँदैन । सुधार राजनीतिक दलहरूले गर्न आवश्यक छ । कानून बनाएर पालना नगर्ने हो भने त्यसको कुनै अर्थ हुन्न । कानून सबैका लागि बराबर हुनुपर्छ । यसतर्फ चाहिँ उम्मेदवारहरूले पनि सोच्ने हो भने हामीमा सही संस्कारको विकास भएर जान्छ । अन्यथा जतिसुकै उत्कृष्ट ऐन, नियम बनाए पनि पालना नहुने हो भने कागजी खोस्टोमा परिणत हुन्छ । यसतर्फ चाहिँ सचेत हुन सबै उम्मेदवारहरूलाई यही मञ्चबाट आग्रह गर्दछौँ । शक्तिको दुरुपयोग होइन, सदुपयोग गर्नेतर्फ उम्मेदवारहरू सचेत बनून् र आचार–संहिता उल्लङ्घन भए कानूनअनुसार आयोगले कारबाही गर्ने हिम्मत राखोस् हाम्रो कामना ।