राज्य सञ्चालनमा अर्थतन्त्रको अहम् भूमिका हुन्छ । उक्त अर्थतन्त्रको मार्गनिर्देशन गर्ने राष्ट्र बैङ्क हो । तर, अहिले राष्ट्र बैङ्कविरुद्ध उद्योगी–व्यापारी खनिएका छन् । राष्ट्र बैङ्कको नीतिका विरुद्ध उनीहरूको असन्तुष्टि छ । बैङ्कको चर्को ब्याजदरका विषयमा उद्योग वाणिज्य महासङ्घ आन्दोलनमा होमियो । त्यसका शाखाहरू पनि आन्दोलित भए । चर्को ब्याजदरविरुद्ध खनिएका उनीहरूको माग सुनुवाइ हुने सङ्केत भने पटक्कै देखिएको छैन । अर्कातिर महासङ्घले नै आन्दोलनलाई तुहाएको आरोप पनि अर्कातिर लाग्ने गरेको छ । उद्योगी व्यवसायीहरूको साझा संस्थाविरुद्ध नै आवाज उठाउने अवस्था जिल्लाका सङ्घहरूलाई छ । बैङ्क तथा वित्तीय संस्थाका विरुद्ध उभिएको जिल्लाका सङ्घहरू अहिले महासङ्घ विरुद्ध पनि उठ्नुपर्ने अवस्थामा छन् । आन्दोलनले एउटा गति लिनुपर्ने हो । तर, त्योअनुरूप भएको छैन । निष्कर्षमा नपुगी महासङ्घ थाक्नुका पछाडिको रहस्य के हो बुझ्न गाह्रो छ ।

यो आन्दोलनको गुत्थी बैङ्कको चर्को ब्याजदर मात्रै नभई अन्य कारण पनि रहेको निष्कर्ष निकालिँदै छ । त्यो के हो भने अहिले उद्योगी व्यवसायीलाई दिँदै आएको ‘ओडी लोन’ कटौती गरी चल्तीमा राख्नका लागि दबाव सिर्जना गरिँदै छ । यसले धेरै उद्योगी व्यवसायीहरूलाई प्रत्यक्ष असर पुग्छ । ‘ओडी लोन’ बन्द हुने बित्तिकै एउटा व्यवसायीले करोडौँ करोड रुपैयाँ तत्काल बैङ्कलाई फिर्ता गर्नुपर्ने हुन्छ । यस्तो अवस्था सिर्जना भएमा उद्योगी व्यवसायीको ढाड भाचिने निश्चित छ । अर्कातिर एकोहोरो अङ्कमा रहेको ब्याज दोहोरो अङ्कमा पु¥याइएको अवस्था छ । यसको प्रत्यक्ष मार उद्योगी व्यवसायीलाई देखिए पनि त्यसको अप्रत्यक्ष मार जनतामा पर्नेछ । किनकि उत्पादन, सेवा तथा वस्तुको लागतमा ह्वात्तै वृद्धि हुनेछ र त्यसको सिधा असर अर्थात् महँगी जनतामाथि थोपरिनेछ । जनताले त्यो धान्न सक्ने अवस्था हुँदैन । देशमा प्रचण्ड रूपमा महँगी बढ्ने स्थिति सिर्जना हुनु भनेको कतै न कतै राष्ट्र बैङ्कको नीतिसँग जोडिन्छ । सरकारसँग जोडिन्छ । राष्ट्र बैङ्कको हरेक वर्ष आउने मौद्रिक नीतिले देशको अर्थतन्त्रलाई टेवा दिने कि नदिने भन्ने प्रश्न उठ्छ ।

बैङ्क एक प्रकारले साहुमहाजनको भूमिकामा देखिएको आरोप लाग्दै आएको छ । केही हदसम्म व्यवसायीको आरोप पनि ठीकै होला । बैङ्क पनि आफूसँग पैसा हुँदा अर्थात् निक्षेप बढ्दा व्यवसायीलाई थोरैभन्दा थोरै ब्याजदरमा पनि रकम दिने गरेको छ । जब निक्षेप घट्दै जान्छ । एकाएक ब्याजदरमा वृद्धि गर्दै लाने गरेको छ । अर्कातिर ‘ओडी लोन’ स्वीकृत गर्दै जान्छन् । जब जब समस्या निम्तिन्छ । तब–तब आफू पायक र आफू सजिलो हुने किसिमले राष्ट्र बैङ्कलाई दबाव सृजना गरी ब्याजदर थोपरिन्छ । यसले कहाँ–कहाँ कुन कुन निकाय र ठाउँमा प्रभाव पार्छ भन्ने कुरा सबै भुलिदिन्छन् । अहिले सबै व्यापार व्यवसाय ठप्प भएको अवस्थामा बैङ्क चाहिँ मुनाफामा जानुको पछाडिको कारण चाहिँ के हो ? ऊ चाहिँ कहिल्यै घाटामा नजानुको कारण के हो ? यो प्रश्न गम्भीर रूपमा मन्थन गर्ने हो भने पक्कै पनि बैङ्कको नीति कहीँ न कहीँ आफूलाई सुरक्षित राख्ने खालको नै देखिन्छ । यो भनेको साहुमहाजनकै शैली हो । अहिले व्यापारी व्यवसायीहरू चर्को ब्याजदरविरुद्ध आन्दोलित भएका त छन् तर, उनीहरू पनि आफ्नो स्वार्थप्रेरित काम नै गरिरहेका छन् । उनीहरू पनि आफू भलो त जगत् भलोको शैलीमा अगाडि बढेको देखिन्छ । यो प्रवृत्ति गलत हो । यस्ता प्रवृत्तिको पनि भण्डाफोर गरिनुपर्छ ।