धनकुटा । धनकुटा नगरपालिकामा सीमित आठपहरिया जाति यतिबेला आफ्नो प्रमुख चाड वाडाङ्मी र खाल्सा क्षेत्रमा बसोबास गर्ने राई जाति पापानी चाड मनाउन व्यस्त छन् ।
धनकुटाका आठपहरिया जातिको वाडाङ्मी पर्वमा खुसीयालीको हर्षबढाइँ गर्ने तथा सबै दुःखबाट उक्सिने मुख्य पर्वको रूपमा मान्छन् भने खाल्सा क्षेत्रका राईहरू पापानी नयाँ बाली भित्रिएको खुसीयालीमा मनाउने गर्दछन् । आठपहरियाहरूको वर्षभरिमा परेको मृत्यु शोक सामूहिक रूपमा उकास्ने यो एक मात्र पर्व पनि हो, मङ्सिरे चाड वाडाङ्मी । आठपहरिया जाति मौलिक बाजागाजा बजाउँदै इष्ट देवताको पूजा र खानपिनमा रमाइरहेका छन् । वाडाङ्मीमा वर्षभरि मृत्यु हुनेहरूका परिवारका सम्पूर्ण सदस्य तीन दिन हिँडेर सुनसरीको वराहक्षेत्रस्थित कोकाहा खोलामा नुहाएर कपाल, दाह्री मुण्डन गरी वराह भगवान्को दर्शन गरी बरखी फुकाउने चलन रहेको छ । यो चाडमा आफन्तको दुःख बोक्नेले कपाल काटेर दसीसहित केश बगाउने प्रचलन रहेको छ ।
तीन दिने यात्राको क्रममा बरखी फुकाउने व्यक्तिले खोलाको बगर तथा खुल्ला ठाउँमा बस्नुपर्ने र अन्य समयमा गाउन नमिल्ने मुन्दुम तथा भक्ति गाउने चलन रहेको आठपहरिया समाज अगुवा डिल्लीमान आठपहरियाले बताए । उनले सत्य युगदेखि नै आठपहरियाका पुर्खाहरूले दुःख बगाएर घर–घरमा बत्ती राखिसकेपछि सरस्वती गाएर नाच (वाडाङ्मेट भैलो) खेल्ने र अन्त्य गर्नुभन्दा पहिलो दिन नाच समापन गर्ने गरिएको बताए । उनले उक्त दिन पुर्खाहरूको सम्झनामा सिङ्गै गाउँ मिलेर राँगा काटेर नुन नहाली पकाएर खाने र प्रसादको रूपमा सबैले घर–घरमा मासु लाने प्रचलन रहेको बताए । यो चाडमा दुःख बिर्सिएर भक्ति गाउनुका साथै ढोल, मारुनी, गोलोे नाच नाचेर तथा राँगाको मासु, कुभिन्डो र फिलुङ्गेको अचारलगायतका परिकार खाएर मनाइन्छ ।
कात्तिक पूर्णिमाबाट सुरु भएको यो चाड औंशीसम्म जारी रहन्छ । अन्य जातजातिको भन्दा फरक कला, संस्कृति भए पनि यसबारे भनेजस्तो प्रचार–प्रसार हुन सकेको छैन । यो पर्वलाई अन्य जातिको पर्वजस्तो राज्यले चासो नदिएको आठपहरिया समाजका केन्द्रीय अध्यक्ष सरकुमारी आठपहरियाले बताइन् । यता धनकुटा नगरपालिकाले भने यो जातिको उत्थानका लागि विभिन्न काम गरिरहेको सरकुमारीले बताइन् । धनकुटा नगरपालिकामा मात्र बसोबास रहेको यो जातिको जनसङ्ख्या करिब ३५ हजारको हाराहारीमा मात्र रहेको छ । यो जातिले आफूलाई आदिवासी जनजातिमा सूचीकृत गरिनुपर्ने माग राख्दै आए पनि सुनुवाइ नभएको गुनासो उनीहरूको छ ।
सहिदभूमिमा पापानी चाड
धनकुटाको सहिदभूमि गाउँपालिकाको खाल्सा क्षेत्रका राईहरू पापानी चाड मनाउन व्यस्त छन् । कात्तिक पूर्णिमापछिको मङ्गलबारबाट सहिदभूमि–३ मा रहेको साकेन्वा थानमा पूजा गरी यो पर्व सुरु गरिन्छ । नयाँ बाली भित्रिएको खुसियालीमा ६ दिन ६ रातसम्म नाचगान गरी धनकुटाको सहिदभूमि गाउँपालिकामा पापानी चाड मनाउने गरिएको छ । यो पर्वमा किरात राईहरूले कुलदेवताको पूजा गर्नुका साथै ढोल, झ्याम्टा बजाउँदै लहरै कुम जोडेर नाच्ने गर्दछन् । पापानी नाच नाच्दा सबैजना एकापसमा गोलो घेरा भएर खुट्टा तीन कदम अगाडि र तीन कदम पछाडि सारेर नाच्ने गरिएको छ । यो पर्व सहिदभूमि गाउँपालिकाको आँखीसल्लाका छिलिङ राई, छिन्ताङका नाम्सिहाङ राई र खोकुका राईका विभिन्न पाछाका माङ्ला हेरेर महŒवपूर्ण पर्वको रूपमा मनाउने गरिएको छ । पछिल्लो समय यो पापानी नाच लोप हुने क्रममा रहेकाले यसको संरक्षण लागि पहल गरेको सहिदभूमि गाउँपालिकाका अध्यक्ष मनोज राईले बताए ।
खाल्सा क्षेत्रका छिन्ताङ, आँखीसल्ला र खोकुका राई जाति सांस्कृतिक धरोहरको रूपमा आ–आफ्नो चाडपर्व मनाउने गरेका छन् । यसको संरक्षणमा राज्यले अन्य पर्वको जस्तो चासो नदिएको उनीहरूको गुनासो छ ।