लोकतन्त्रमा निर्वाचनलाई उत्सवका रुपमा लिईन्छ । किनभने, यो आमनागरिकले आफ्नो प्रतिनिधि छान्ने अर्थात पाँचवर्षका लागि आफ्नो भविष्य आफैं लेख्ने अवसर पनिहो । उत्सव भन्ने वित्तिकै त्यसमा सहभागीहरु उत्साहित हुनु, रमाउनु पर्ने हो । यद्यपी यस पटकको निर्वाचनलाई आममतदाताले उत्सवका रुपमा लिएको देखिएन । विगतमा जस्तो निर्वाचन स्थलहरुमा भीडभाड थिएन । मतदाताहरु अल्छि मान्दै मतदान गर्न आए जस्ता देखिन्थे । देशभरकै धेरै जसो निर्वाचन स्थलहरु खालीखाली देखिएका थिए । धेरै मतदाताहरुले यसपटक मतदानै गरेनन् । निर्वाचन अयोगले ७० प्रतिशत मतदान हुने अनुमान गरेपनि स्थानीयतह निर्वाचनमा भन्दा कममत खसेको देखिएको छ । मतदाताहरुमा किन यस्तो निराशा देखियो ?, किन उनीहरुले यसलाई उत्सवका रुपमा लिन सकेनन् ? मूल्याङ्कन गरिनु आवश्यक छ ।

मतदाताहरुमा उत्साह नदेखिनुको प्रमुखकारण त राजनीतिप्रति बढ्दो वितृष्णा नै हो । पटक पटक निर्वाचन जीतेर पनि आमनागरिकका हितमा काम गर्न नसकेका तिनै दल र तिनै उमेदवार चुनावी मैदानमा उत्रिंदा आममतदाताले चुनावअघि बाटै असन्तुष्टि व्यक्त गरिरहेका थिए । ‘नो नट अगेन’ जस्ता अभियान सञ्चालन भएका थिए, जसले पुरानै अनुहार दोहोरिनु हुन्न् भन्ने मान्यता राखेका थिए । तर दलहरुले बारम्बार उहि अनुहारलाई उठाए । त्यतिमात्र होईन, विभिन्न कान्ड र भ्रष्टाचारमा मुछिएका व्यक्तिहरुलाई टिकट दिएर दलहरुले आममतदाताको भावनालाई नजर अन्दाज गरे, त्यसले पनि मतदातामा निराशा पैदा गरेको हो । गत स्थानीय निर्वाचनमा वर्षौंदेखि राजनीतिमा सक्रियदलहरुका उमेदवारलाई पाखालगाएर भर्खरै राजनीतिमा प्रवेश गरेका स्वतन्त्र उमेदवारहरुले ठूलो मतान्तरले जीत हासिल गर्नु र यसपटकको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा स्वतन्त्र उमेदवारहरुको लहर चल्नुले पनि आमनागरिकमा दलहरुप्रति कति धेरै असन्तुष्टि रहेछ भन्ने प्रष्ट पारेकै हो । तर राजनीतिक दलहरुले यस्ता घटनाक्रमलाई विश्लेषण गरेर आफु सुध्रिने भन्दा पनि फरक विचार राख्नेलाई गाली गरेर आफैं ठूलो देखाउने प्रवृत्तित्याग्न सकेनन् । पटक पटक सत्तामा पुगेर पनि आमनागरिकको जीवनस्तर उकास्ने भन्दा आफु र आफ्ना मान्छेको भविष्य बनाउनेमा मस्त रहेका कारण पनि आमनागरिकमा निराशा छाएको छ । निर्वाचनमा मतदाताको उत्साह नदेखिनुको मुख्यकारण दल र तिनका नेताहरुको बद्मासी नै हो भन्ने प्रष्ट छ । अब पनि दल र नेताहरुमा सुधार नहुने हो भने, उनीहरुको भविष्य राम्रो देखिंदैन । यो निर्वाचनले दल र नेतालाई दिएको संकेत पनिहो । यसलाई सबैले मन नगर्नु जरुरी छ ।

निर्वाचन आयोगले यसपटकको निर्वाचन शान्तिपूर्ण र भय रहित बनाउन कुनै कसर बाँकी नराख्ने उद्घोष गरेको थियो । त्यसका लागि ठूलो धनराखीखर्च पनि भएको हो । तर निर्वाचनमा विभिन्न घटना भए । निर्वाचनका समयमा बाजुरा जिल्लामा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु र तीनजना घाईते भएका छन् । त्यसबाहेक देशका अन्य ११ जिल्लामा पनि प्रहरीले गोली चलाएको छ । देशका कतिपय ठाउँमा झडपका कारण मतदान नै रोकिएको छ । यसबाट निर्वाचन आयोगले दाबी गरे जस्तो शान्तिपूर्ण निर्वाचन हुन नसकेको देखिन्छ । मतपत्रमाआगजनीदेखि ज्यान जानेसम्मका घटनाबारे आयोग र सरकारले गम्भीर बन्नु जरुरी छ ।