धरान । धरान–१३ स्थित लोटस इङ्लिस बोर्डिङ स्कुलका कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरूले मन्दिर क्षेत्र सफाइ गरेका छन् ।

स्कुलमा अध्ययनरत विद्यार्थीहरूलाई सामाजिक विषयमा समावेश गरिएको विषयलाई व्यावहारमा उतार्नका लागि मन्दिर क्षेत्र सफाइ कार्यक्रम गरिएको स्कुलका निर्देशक गणेश राईले जानकारी दिए । उनका अनुसार धरान–१४ स्थित विजयपुर क्षेत्रका बूढासुब्बा, दन्तकाली, पिण्डेश्वरी मन्दिरक्षेत्रमा सफाइ गरिएको हो ।

विद्यार्थीहरूले मन्दिरका झारलगायत फोहोरहरूको व्यवस्थापन गरेको सफाइमा सहभागी शिक्षक बमप्रकाश राईले जानकारी दिए । विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञान तथा पाठ्यक्रममा मात्रै सीमित नगरी सामाजिक कार्यमा पनि सहभागी गराउने उद्देश्यले सफाइ कार्यक्रम गरिएको शिक्षक राईले जानकारी दिए ।

धरान–१४ को विजयपुर क्षेत्रका बूढासुब्बा, दन्तकाली र पिण्डेश्वरी मन्दिर ऐतिहासिक महत्व बोकेका सम्पदा हुन् । पिण्डेश्वररुद्राक्षरण्य क्षेत्रको रूपमा परिचित छ भने दन्तकाली महादेवले आफ्नो पत्नी पार्वतीको शव बोकेर हिँड्ने क्रममा दाँत खसेर दन्तकाली मन्दिर निर्माण भएको उल्लेख छ ।

त्यस्तै बूढासुब्बाका विषयमा भने हाङ बुद्धिकर्ण रायको समाधि भनी बताइन्छ भने केही विद्वानले बुद्धिकर्णको समाधि नभई कुनै सिद्ध पुरुषको समाधि भएको दाबी गर्दै आएका छन् । कतिपयले भने महाभारतका पात्र एकलव्यको समाधि भनी चर्चा गरेको पाइन्छ । तर, हालसम्म यकिन तथ्य भने सार्वजनिक हुन सकेको छैन । सबै मिथकमा आधारित छन् ।