देशभरिको मतपरिणामको आँकडा आइरहँदा हालै गठित पार्टीप्रति रुझान अचम्मलाग्दो गरी बढेको देखिएको छ । शक्तिमा रहेका पार्टीहरूलाई नै चुनौती दिने किसिमले अगाडि बढेको छ । समानुपातितर्फको मतका आधारमा तेस्रो शक्तिका रूपमा उदाउने सङ्केत देखिएको छ । आखिर यो सबै हुनुका पछाडि पुराना दलप्रति जनताको प्रतिक्रिया हो कि वैकल्पिक राजनीतिलाई अनुमोदन हो ? प्रश्न गम्भीर बनेको छ । नयाँ राजनीतिक शक्तिको विचार, सिद्धान्त, विकाससम्बन्धी खाकाहरूको स्पष्ट मार्ग चित्र नहुँदा कतै जनताको प्रतिक्रिया हो कि भन्ने देखिन्छ । तर, राजनीतिक दलहरू गम्भीर भएर आफूलाई सुधारेनन् भने वैकल्पिक राजनीतिलाई अनुमोदन गर्ने स्पष्ट छ । प्रजातन्त्रको पुनर्बहालीपछिको मध्यावधि चुनावमा जो जो नेताहरू मन्त्री बने । उनीहरूले जारी गरेको घोषणा पत्रअनुसार काम गरेनन् । प्रतिबद्धता तथा प्रतिज्ञा कागजी खोस्टो सावित भयो । जनताका आधारभूत आवश्यकताहरूप्रति उनीहरू गम्भीर बनेनन् अर्थात् जनतालाई जे डेलिभर गर्छौ भनी प्रतिबद्धता जनाएका थिए, त्यो गर्न सकेनन् । फलतः त्यसैको परिणाम आज नेताहरूले भोग्दै छन् । अझै भोग्नेछन् ।
२०४६ को परिवर्तनपछि हामीले तीनवटा संविधान बनायौँ । ती संविधानहरूकै आधारमा राज्यको पुनर्संरचना ग¥यौं । यसको अर्थ व्यवस्थाहरू बदल्यौँ तर, अवस्था बदल्न सकेनौँ । नेता तथा मन्त्री बनेकाहरूले व्यवस्था मात्रै बदलेनन्, आफ्नो अवस्था पनि बदले । जनता हिजो सामाजिक–आर्थिक रूपमा जहाँ थिए, त्यहीँ छन् । उनीहरूमा केही परिवर्तन हुन सकेन । फलतः वैकल्पिक राजनीतिको नाममा आफ्नो आक्रोसलाई मतदानमार्फत् बदल्ने प्रयास गरिरहेका छन् । हो, रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी र अन्य स्वतन्त्रहरू वैचारिक रूपमा, सैद्धान्तिक रूपमा स्पष्ट छैनन् । तर, मतदातालाई ‘क्यास’ मात्रै गरेका छन् । उनीहरूको अग्निपरीक्षा अब हुने नै छ । तर, शक्ति आर्जन गरेर लामो समयदेखि बसिरहेका राजनीतिक दलहरूले पनि आफूलाई सुधार्नु पर्छ । जनताको सामाजिक–आर्थिक स्थितिमा सुधार हुने कार्यक्रमहरू नल्याउने र ढाँटको राजनीति मात्रै अगाडि बढाउने हो भने उनीहरू पनि बढारिने निश्चित छ । कुनै समयमा उनीहरू पनि प्रजा परिषद्को अवस्थामा पुग्नेछन् ।
अब जनतालाई उधारोमा होइन, जनतालाई प्रत्यक्ष लाभ हुने गरी राजनीतिक दलहरू अगाडि बढ्नुपर्छ । अबको एजेन्डा आर्थिक र सामाजिक रूपमा अगाडि बढ्ने गरी हुनुपर्छ । डेलिभरी गर्ने किसिमको राजनीति हुनुपर्छ अनि मात्रै देश र जनताले विकास र समृद्धिको अनुभूति गर्न पाउँछन् । प्रजातन्त्रको पुनर्बहालीपछिको तीन दशकलाई हेर्ने हो भने धेरै खालका उलटफेरहरू भएका छन् । ती उलटफेरलाई आत्मसात नगरेको इतिहास साक्षी छ । २०४८ को मध्यावधिमा जसरी काङ्ग्रेसले एकमना सरकार बनाउने अवसर पाएको थियो । २०५१ को मध्यावधिमा फरक दलको वर्चश्व रह्यो । यी दुई मध्यावधि हेर्दा नै पनि जनताको प्रतिक्रियालाई हेर्न काफी हुन्छ । त्यसकारण अब दल सुध्रिनु पर्छ । नत्र प्रतिक्रिया स्वरूप आएको अहिलेको जनमत वैकल्पिक राजनीतिलाई अनुमोदन हुनेछ, चेतना भया ।