पाँच वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको झापामा तीन वटा क्षेत्रमा नेकपा (एमाले)ले जितेको छ भने नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी एक/एक क्षेत्रमा निर्वाचित भएका छन् ।
एमाले क्षेत्र नं २, ४ र ५ मा विजयी भएको छ । क्षेत्र नं २ मा एमालेका देवराज घिमिरे, क्षेत्र नं ४ मा लालबहादुर ९एलपी० साँवा र क्षेत्र नं ५ मा पार्टी अध्यक्ष केपी शर्मा ओली विजयी बनेका हुन् ।
एमाले प्रदेश इञ्चार्ज घिमिरे यसअघि राष्ट्रियसभा सदस्य बनेका थिए। उनले यसपटक स्वतन्त्र उम्मेदवार स्वागत नेपाललाई पछि पार्दै विजयी भएका हुन् । क्षेत्र नं ४ का एलपी साँवाले २०७९ को निर्वाचनमा कांग्रेसका जिल्ला अध्यक्ष देउमान थेबेलाई पराजित गर्दै विजयी बनेका हुन्।
एमाले अध्यक्ष ओली यो पटकसहित छ पटक निर्वाचित भइसकेका छन्। उनले २०४८ सालमा नेपाली कांग्रेसका केशवकुमार बुढाथोकीलाई, २०५१ सालमा कांग्रेसकै पूर्णानन्द दाहाललाई, २०५६ मा कांग्रेसका काशीलाल ताजपुरियालाई, २०७० कांग्रेसकै सुरेश सुब्बालाई, २०७४ र २०७९ सालमा कांग्रेस नेता खगेन्द्र अधिकारीलाई पराजित गर्दै विजयी बनेका हुन् ।
निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र क्षेत्र नं ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन निर्वाचित भएका छन् ।
कांग्रेसका शर्माको यो पहिलो संसद् यात्रा हो भने लिङ्देन, घिमिरे, साँवाको दोस्रो र एमाले अध्यक्ष ओलीको छैटौँ यात्रा हो । विश्वप्रकाश शर्माले एमालेका स्थायी कमिटी सदस्य अग्नी खरेललाई पराजित गरे। शर्मा २०७० सालको निर्वाचनमा एमाले नेता रविन कोइराला र २०७४ सालमा नेकपा माओवादीका नेता सुरेन्द्रकुमार (राम) कार्कीसँग पराजित भएका थिए । तर तेस्रो पटकको प्रयासमा उहाँले अत्यधिक मतका साथ विजयी भएका छन्।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन पहिलोपटक २०७४ सालको निर्वाचनमा निर्वाचित भएर संसद्को यात्रा तय गरेका थिए । एमालेसँगको तालमेलका कारण उनले दुवैपटक कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई पराजित गरे ।