नेपालको राजनीतिमा प्रायः ठूला आन्दोलन र क्रान्तिमार्फत् नयाँ दल र नेताहरूको उदय हुने गरेको थियो । तर, यसपटक निर्वाचनमार्फत् नै नयाँ नेताहरूको उदय भयो भने नयाँ दलहरू स्थापित भए । यसपटक देशका राजनीतिक खेलाडी तथा विश्लेषकहरूलाई चकित पार्दै नयाँ दलहरू संसद् भवन प्रवेश गर्दैछन् । विशेषगरी चार महिनाअघि मात्र स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टीले पुराना र स्थापित दलहरूलाई चुनौतीमात्र दिएन, पहिलो पटकमै संसद्मा प्रत्यक्षतर्फ ७ सिट जितेर देशको पाँचौं दल बनेको छ भने समानुपातिकमा चौथो स्थानमा छ । यस दलका उम्मेदवारहरूले पुराना दलका प्रभावशाली नेताहरूलाई हराए भने कति ठाउँमा कडा प्रतिस्पर्धा गरे । भर्खरै स्थापित भएको दलले यसरी प्रभाव जमाउला भन्ने सायद कसैले सोचेका थिएनन् । जे होस्, राष्ट्रिय स्वतन्त्र पार्टी देशको नयाँशक्तिका रूपमा स्थापित भएको छ । सोच्दै नसोचेको मत पाएर स्थापित भएकाले कतिपय ठूला दलका नेताहरूले व्यङ्ग्य गर्नेदेखि विभिन्न आरोप लगाउने गरेका छन् । यो दलले पाएको जनमतलाई पुराना र ठूला दलहरूले अवमूल्यन गर्नु हुँदैन ।
राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो पटकमै यत्तिको सिट जित्नु र छोटो समयमै लोकप्रियता कमाउनुमा विविध कारण हुन सक्छन् । त्यसको प्रमुख कारण त पुराना राजनीतिक दलहरूले गरेका कामप्रतिको असन्तुष्टि नै हो । जितेर गएपछि दलका नेताहरू गाउँ नफर्किने, व्यक्तिगत सम्पत्ति जोड्न, आफन्तलाई जागिर र विभिन्न अवसर दिलाउन लागिपर्न थाले । समग्रमा नेताहरूको आचरण भ्रष्ट हुँदै गयो । दलका प्रमुखहरू नै माफियाहरूसँग मिलेमतो गरेर टिकट बेच्ने र आफू अकुत कमाउने धन्दामा लागे । उनीहरूका भ्रष्टाचार पटक–पटक सार्वजनिक हुँदा पनि कारबाहीको साटो झनै पुरस्कृत हुन थाले । बौद्धिक नेताहरूलाई पाखा लगाएर गुन्डागर्दीमा बदनाम, आर्थिक र नैतिक अनुशासनहीनहरू दलमा हाबी भए । यो राजनीतिक विकृतिको चरम् रूप हो । उनीहरूका विरुद्ध आवाज उठाउने सर्वसाधारण नागरिकलाई राज्यको दुरुपयोग गरेर धरपकड गर्ने तर स्वास्थ्य, शिक्षा, रोजगारी, कृषिजस्ता क्षेत्रमा बढ्दो विकृतिमा बेवास्ता गरी उल्टै माफियासँग मिलेमतो गर्ने प्रवृत्तिले आजित आम नागरिकले गर्नसक्ने भनेकै चुनावमा हो । उनीहरूले आफूसँग भएको मताधिकार प्रयोग गरेर दलहरूलाई चुनौती दिएका हुन् । त्यसैको जगमा राष्ट्रिय स्वतन्त्र पार्टीजस्ता नयाँ दल स्थापित हुन सकेका हुन् । कतिपयले अन्य दलहरूबाट आशा मरेपछि नयाँ दलले केही गरिहाल्छन् कि भनेर पनि मतदान गरेका हुन् ।मतगणना अन्तिम चरणमा पुगिरहँदा कुनैपनि दलले स्पष्ट बहुमत ल्याउने अवस्था छैन । दुई वा बढी दलहरू मिलेर मात्र सरकार गठन गर्न सम्भव छ ।
त्यसैले नेताहरू पूरै मतपरिणाम आइनसक्दै सरकार गठनका लागि सम्भावित गठबन्धनका लागि अभ्यास गर्न थालिसकेका छन् । यो अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जाला कि प्रतिपक्षमा बस्ला भन्ने चर्चा पनि हुन थालेको छ । विभिन्न सञ्चार माध्यममा आएका कुनै अन्तरवार्ताहरूमा पार्टीका सभापति रवि लामिछानेले देशमा प्रतिपक्ष नै नरहेको भन्दै तत्काल सरकारमा नजाने सङ्केत गरेका छन् भने कतै कसको नेतृत्वमा सरकार बन्छ र कस्तो टिम बन्छ, त्यसमा भर पर्ने दोधारे कुरा गरेको सुनिन्छ । यो पार्टीलाई मतदाताले सरकार सञ्चालन गर्न पर्याप्त मत दिएका छैनन्, त्यसको अर्थ प्रतिपक्षमै बस भन्ने हो । रास्वपाबाट जितेका उम्मेदवारहरू विभिन्न क्षेत्रका विज्ञ र जानकार व्यक्तिहरू छन् । उनीहरूले तत्काल सरकारमा गएरभन्दा प्रतिपक्षमा बसेर आम नागरिकका मुद्दाहरूबारे संसद्मा बहस गर्न सक्छन् । सरकारमा गएपछि बाहिर बसेर आवाज उठाए जत्तिको सजिलो हुन्न, कार्यान्वयनमा जान । त्यसकारण सरकारमाजान हतार गर्नु हुन्न र अन्य पुराना दलहरूले पनि रास्वपालगायतका नयाँ शक्तिलाई नजर अन्दाज गर्नु हुन्न ।