यस पटकको निर्वाचनमा अनपेक्षित रुझान देखियो । विगतमा निर्वाचनमा आक्कलझुक्कल देखिने यस्तो रुझान यसपटक प्रष्टसँग देखियो । जुन रुझानमा नेपाली राजनीतिका खेलाडीहरू परे । पूर्व प्रधानमन्त्रीदेखि पटक–पटक सांसद् भएकाहरूलाई सामान्य कार्यकर्तासम्मले हराए । यो राजनीतिमा देखिएको नयाँ परिवर्तन मान्नुपर्छ । इलाम १ बाट पूर्व प्रधानमन्त्री झलनाथ खनाल पराजित भए । त्यसमा पनि आफ्नै पूर्व कार्यकर्ताले हराए । यो पक्कै पनि राजनीतिमा देखिएको एक सङ्केत हो । अब राजनीतिक दलका नेता त्यसमा पनि बुढ्यौली नेताहरूले सोच्ने बेला आएको छ । अब पुस्तान्तरणको खाँचो छ । त्यो पुस्तान्तरण हरेक राजनीतिक दलले गर्न आवश्यक छ । अब आफू अभिभावकीय जिम्मेवारीमा रहेर युवा पुस्तालाई राजनीतिमा प्रवेश गराउनुपर्ने अवस्था सिर्जना गराएको छ । यसबाट पनि पाठ नसिक्ने हो भने भोलि नयाँ पुस्ताले हस्तक्षेप गरेर अगाडि बढ्नेछन्, जसरी ललितपुरमा तोसिमा कार्कीजस्ता युवाले आफूलाई उभ्याइन् । यो कुनै न कुनै रूपमा विद्रोहको सङ्केत हो । यो सङ्केतलाई नजरअन्दाज नगर ।

राजनीतिमा त्यो पुस्ता हाबी भइरहे, जुन पुस्ताबाट अब अपेक्षा गर्न सकिँदैन । किनकि त्यो पुस्ताले पाँचौं पटकसम्म जित्दै आफूलाई विभिन्न पदमा पुगे तर, जनताले त्यसका बदलामा केही प्राप्ति गरेनन् । जनतालाई भोट बैङ्क मात्रै बनाए । यसखाले चरित्रबाट गुज्रिएका ती नेताहरूले आफूलाई रूपान्तरण गर्न त चाहेनन् चाहेनन्, देशलाई रूपान्तरण पनि गरेनन् । जनतालाई जे डेलिभर गर्नुपर्ने थियो, त्यो गरेनन् । आफ्नै नातागोता र आफन्तलाई मात्रै डेलिभर गरे । जसको परिणाम आज हामी भोग्दै छौँ । नेताहरूलाई मतदाताले यसपटक केही चेतावनी स्वरूप पाखा लगाएका छन् । त्यस्ता पाखा लाग्ने नेताहरूले बेलैमा सोच्ने हो भने भोलि जनताले पनि सुदिन देख्न पाउँथे भने उनीहरूका लागि पनि फलदायी हुन्थ्यो । अहिले पराजित भएकाहरू यसले, उसले भन्दै दोषारोपण गरिरहेका छन् । आफ्नो गल्ती रत्तिभर महसुस गरेका छैनन् । मानौं, यो हार अरूकै कारण भएको हो । यस मानेमा पनि नेताहरू सुध्रिने सङ्केत होइन र छैन । के आधारमा जनताले तपाईंलाई विश्वास गर्ने ? जनताको इच्छा, आकाङ्क्षामाथि तुराषापात भइरहँदा पनि फेरि जनताले तपाईंलाई नै विश्वास गर्नुपर्ने ? हेर्दा सामान्य लागे पनि यो प्रश्नको उत्तर खोज्न सजिलो छैन ।

अब जनतामा जागरुकता आएको छ । यसलाई पुनर्जागरणको युग पनि मान्न सक्छौँ । हिजो कुनै कालखण्डसम्म एकछापमा मतदान गर्दै आएका जनता अब भने बल्ल बुझ्न थालेका छन् । चुनावका बेला मासु, पैसा खाए पनि अब भने मन परेका र काम गर्न सक्ने युवाको छनोट गर्न थालेका छन् । त्यो छनोटलाई सम्मान गर्न नेताहरूले पनि जान्नुपर्छ । नेताहरूले अब पनि सिकेनन् र सम्मान गरेनन् भने भोलिको हबिगत हामीले अहिल्यै अनुभव गर्न सुरु गरिसकेका छौँ । जसरी बिहानको सूर्योदयले दिनको सङ्केत गर्छ भने झैँ अब सुध्रिने पालो नेताको हो । अहिले जो जहाँबाट पराजित भएका छन् । उनीहरूले आत्मालोचना गर्न जरुरी छ र आफूलाई सुधार गर्दै जनताको हितमा काम गर्न जरुरी छ । जनता सधैँ तिमीहरूका ‘प्यादा’ होइनन् भन्ने सङ्केत पनि यसपटकको चुनावको नतिजा हो । यसबाट सबै नेता र राजनीतिक दलले सिक्ने कि !