धरान । धुलिखेल समाजको आयोजनामा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ ।
धुलिखेल समाजको हलमा शनिबार गरिएको शिविरमा एक सय ७ जनाले आँखा जाँच गराएका थिए । जसमध्ये १३ जनामा मोतिया विन्दुको शल्यक्रिया गर्नुपर्ने देखिएको थियो ।
त्यस्तै ९ जनामा आँखासम्बन्धी विशेष रोग पाइएको शिविरमा सहभागी सूर्य आइकेयरकी डाक्टर इच्छा जोशी सोनीले बताइन् । रोटर्याक्ट क्लब अफ धरान पनि आयोजक रहेको शिविरमा सूर्य आइ केयरको प्राविधिक सहयोग रहेको थियो । शिविरमा निःशुल्क मधुमेह जाँच (चिनीरोग), औषधि र सहुलियतमा चस्मा वितरण गरिएको थियो ।
धरान आसपासका समुदायलाई लक्षित गर्दै सूर्य आइकेयर अस्पताल धरानमा खोलिएको डा. जोशीले बताइन् । युवाहरूलाई सामाजिक सेवामा लगाउँदै आँखासम्बन्धी स्वास्थ्य सेवा प्रदान गर्ने कार्यमा सरिक हुन पाएकोमा अध्यक्ष सुस्मन श्रेष्ठले खुसी व्यक्त गरे ।