धरान । फक्ताङ्लुङ मिडिया हाउस प्रालिले प्रदेशस्तरीय एसईई सिङ्गिङ र डान्सिङ आइडलको अर्को संस्करण गर्ने भएको छ ।
चैतको तेस्रो साताबाट गरिने प्रतियोगिताको तयारी थालिएको आयोजकले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । सिङ्गिङतर्फ यो तेस्रो संस्करण हो भने डान्सिङतर्फ यो दोस्रो संस्करण रहेको प्रालिका अध्यक्ष डम्बर तुम्बापोले जानकारी दिए ।
उनका अनुसार प्रतियोगिताको अडिसन ओखलढुङ्गा जिल्लाबाट सुरु गरिने भएको छ । फाइनल भने जेठको अन्त्यतिर हुने उनले जानकारी दिए । पहिलो चरणबाट छानिएका प्रतिस्पर्धीबीच दोस्रो र तेस्रो चरणको अडिसन धरानमा हुने भएको हो । फाइनलमा भने १०–१० जना प्रतिस्पर्धीलाई छनोट गरिने भएको छ ।
छनोट भएकाहरूलाई तीन साता लामो बन्द प्रशिक्षणमा पनि राखिने जनाइएको छ । यसपटक प्रदेशको कम्तीमा १० जिल्लामा पुगेर अडिसन लिने तयारी गरिएको छ । विजेताले नगद ५० हजार रुपैयाँसहित ट्रफी र प्लस टु अध्ययनका पूर्ण छात्रवृत्ति पाउनेछन् ।
दोस्रोले नगद ३० हजार र ८० प्रतिशत छात्रवृत्तिमा प्लस टु पढ्न पाउनेछन् भने तेस्रोले नगद २० हजार रुपैयाँ र ५० प्रतिशत छात्रवृत्ति पाउने आयोजकले जनाएको छ । छात्रवृत्ति धरानको युएन–नवोदयसहित इटहरी, विराटनगर, पथरी, दमक, बिर्तामोड, इलाम र धनकुटाको हिलेमा रहेका कलेजहरूसँगको समन्वयमा अध्ययनको अवसर मिलाइने भएको छ ।
सिङ्गिङतर्फको पहिलो संस्करणका विजेता गौरव राईले काठमाडौँमा छात्रवृत्ति पाएका थिए । त्यस्तै दोस्रो संस्करणका विजेता छिरिङ तामाङले युएन–नवोदयमै अवसर पाएका छन् ।
त्यस्तै डान्सिङतर्फको पहिलो संस्करणका विजेता नुमा लिम्बूले पनि युएन–नवोदयमै पूर्ण छात्रवृत्तिको अवसर पाएकी छन् । युएनमा बिएचएम पढ्न चाहेमा छिरिङ र नुमालाई एक लाख रुपैयाँसम्मको छात्रवृत्ति दिने घोषणा पनि गरेको अध्यक्ष तुम्बापोले जानकारी दिए ।