अहिलेको समय कोरोना–कोलाहल पछिको समय हो । अर्थात् डेङ्गुको समय । तै पनि डेङ्गुको चर्चा छैन । कोरोनाको धङ्धङी अहिले पनि जारी छ । किनभने कोरोना अन्तर्राष्ट्रिय रोग हो । डेङ्गु स्थानीय रोग हो । डेङ्गु ज्वरोको बारेमा थाहै नपाई मानिसहरू डङ्डङ्ती मर्ने गरेका हुन् । कोरोना फैलिएको हल्ला नचल्दासम्म भारत, नेपाल, बङ्गलादेश र पाकिस्तानमा डेङ्गु लागेर कति मरे कति । त्यसको हिसाब–किताब छैन । कोरोनाको जति चर्चा भयो, डेङ्गुको त्यति चर्चा कहिल्यै भएन । हाम्रो नेपालमा त कसैले पनि आफ्ना परिवारका सदस्य वा परिचितको डेङ्गु लागेर मृत्यु भएको कहिल्यै बताएका छैनन् ।
हिजोआज देशमा आयोजना गरिने आर्थिक–व्यापारिक सेमिनारहरूमा हाम्रा अर्थशास्त्री तथा अर्थविद्हरूले हाम्रो आर्थिक अवस्थालाई बरबाद तुल्याउन कोरोनाको मुख्य हात रहेको चर्चा गर्न थालेका छन् । सरकारी भनाइअनुसार अहिले व्यापक भइरहेको डेङ्गु स्थानीय महामारी हो । कोरोनाजस्तो अन्तर्राष्ट्रिय होइन । कोरोनाकाल सकिएकोले अब अर्थतन्त्रमा सुधार आउँछ । अब कोरोनाको भ्याक्सिन किन्नुपर्ने छैन ।
कसले दिन्छ, हाम्रा विद्वान्हरूलाई यस्तो कुराको ज्ञान ? संसारमा कसैले गर्न नसकेको अनुमान नेपालमा गरिन्छ । देशको बाहिरी साजसज्जा र शृङ्गारमा परिवर्तन आएको छ । तर, मौलिक अवतार सिन्को जति पनि बदलिएको छैन ।
हाम्रो देशको कथा यस्तो छः यो समयमा राजनीतिका मूल्य, मान्यता, प्रतिबद्धता, जिम्मेवारी र उत्तरदायित्व जस्ता शब्दहरूको चर्चा ‘पोलिटिकल्ली करेक्ट’ मानिएका छैनन् । उसैपनि यी शब्दहरू इतिहासको कुनै चरणमा शोभायमान देखिएनन् । नेपाली समाजले भीम मल्ललाई चिन्यो, भीमसेन थापालाई चिन्यो, भाइ भारदारलाई चिन्यो । तर, देशका लागि ज्यानको आहुति दिने अरू कसैलाई चिन्दै चिनेन ।
मल्ल राजाका भारदार थिए भीम मल्ल । त्यतिबेला तिब्बतको आर्थिक र व्यापारिक सम्प्रभुता कान्तिपुरको हातमा थियो । कान्तिपुरका जनता ‘भोटे नुन’ खान्थे । तिब्बतीहरू नेपाली चामल । सालबसाली उठतीपुठतीमा गएका भीममल्ल तिब्बतबाट फर्किनासाथ राजदरबारको ढोकैमा काटिए । उनको अपराध के थियो ? कसैले थाहा पाएन । अपराध थियो भने पनि त्यसका प्रमाणप्रमेय थिएनन् । सबै अनुमानको कुरा थियो ।
नेपालको पूरै इतिहास अनुमानका आधारमा लेखिएको छ । हामीलाई इतिहास पढाउने नारायणदास श्रेष्ठ सर भन्थे, ‘नेपाली इतिहासका स्रोतहरू सबैजसो परिकल्पनाका आधारमा बुनिएका छन् । भीम मल्ललाई जनताले आज पनि शानका साथ सम्झिन्छन् । भीमसेन थापा यो देशका गौरवशाली पुरुष मानिन्छन् । उनको इतिहास पनि विवादास्पद छ । उनको ऐतिहासिक कद उनले बनाएको धरहराजति अग्लो पक्कै छैन । अमरसिंह थापाको कद भीमसेन थापाको भन्दा धेरै अग्लो थियो । यो सत्य हो ।’
पृथ्वीनारायण शाहलाई नेपाल एकीकरणको जस दिने कुरा लगभग सल्टिइसकेको छ । पृथ्वी जयन्ती मनाउने काममा राष्ट्रिय अवरोध गर्ने अब कोही देखिएका छैनन । हिजोसम्म उग्रवादी बाटोमा लागेका नेत्रविक्रम चन्दले पनि अब पृथ्वीनारायण शाहको विरोधमा काम नगर्लान् । पृथ्वीनारायण शाहको मूलराज्यका रूपमा परिचित गोर्खामा हालै भएको चुनावमा नेपाल राष्ट्रबाट शाहवंशका राजाहरूको स्वामित्व समाप्त तुल्याउने अभियानका नेता प्रचण्डको ‘प्रचण्ड’ विजयपछि पृथ्वीनारायणको पूजा जति गरे पनि भयो । नेपालको एकीकरणदेखि जङ्गबहादुरको उदयसम्म नेपालको शासनमा भारदारी भद्रगोल खुब चल्यो । जो जो बलिया भए ती सबैले आ–आफ्नो ‘इतिहास’ लेखाए । रानीहरूसँगको प्रेमसम्बन्धका कारण दरबारमा धेरै भारदारहरूको शक्ति विस्तार भयो । भीमसेन थापा, दामोदर पाण्डे, गगनसिंह, रङ्गनाथ र चन्द्रशेखरलगायत विविध थर र एकै वर्गका व्यक्तिहरू नेपाली समाजमा हाबी भए । यी त केही उल्लेखनीय उदाहरणमात्रै हुन् । नेपालको इतिहासको आकार देशको वास्तविक आकारभन्दा कैयौं गुना अग्लो र लामो छ । यो हिमवत्खण्ड हो, हिमालयको देश, पाशुपत क्षेत्र ।
जतिबेला माओवादी लडाइँमा थिए, त्यतिबेला ती रनवन घुम्थे । देशमा पाइने अपार जरिबुटीको उपयोग गरेर देशलाई धनी बनाउने कल्पना गर्दथे । नेपालगञ्जमा सीमित जरिबुटीको व्यापारलाई देशव्यापी प्रचारमा ल्याएका हुन् माओवादीले । यो कुरालाई मान्नै पर्छ ।
देशमा राजनीतिक आर्थिक र सांस्कृतिक वार्ता र छलफलका लागि जीवन्त वातावरण बनेको धेरै भएको छैन । तर, जनता–जनताका बीच वार्ता भएकै छैन । संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रको पुनस्र्थापनापछि देशका समस्याहरूमाथि छलफलगर्ने चलन ह्वात्तै बढेको थियो । त्योसँगै बढेको थियो, आसन ग्रहणको चलन । व्यङ्ग्य गरेको होइन, एउटा सभामा त यतिसम्म भयो कि आमन्त्रित जति सबै आसन ग्रहणका लागि मञ्चमा पुगे । सभाकक्षमा भाषण सुन्ने कोही भएन । सभाकक्ष आमन्त्रित व्यक्तित्वका चालकहरू, सुरक्षाकर्मीहरू र निजी सचिवहरूले ‘भरिएको’ थियो । मञ्चमा जो विराजमान थिए, ती आपसमा मस्त थिए । एक–अर्कासँग तीन–तेह्रको सम्बन्ध नहुनेहुनेहरू पनि एक–आपसमा भलाकुसारी गर्दै थिए । यो थियो सहरी सभ्यताको विस्तार ।
त्यस्तो वातावरणमा अब कसले कसलाई के सुनाउने !
त्यतिबेलाका सभामा, स्वभाविक थियो, सहिदहरूको सम्मानमा एक मिनेटको मौन धारण । त्यसपछिको अर्को एक मिनेट बीपी र पुष्पलालको सम्मानमा शब्द र पुष्प दुवैको वर्षा हुन्थ्यो । ‘भलादमी’ राजा वीरेन्द्रको लोकप्रिय व्यक्तित्वप्रति नतमस्तक हुने चलन थियो– उनको प्रजातन्त्र प्रेमको अथक चर्चा हुने गर्दथ्यो । त्यसको प्रमाण स्वरूप कान्तिपुरका सम्भ्रान्त बैठकहरूमा कथाको एक अंश नियमित सुनाइन्थ्यो ।
कसरी राजा वीरेन्द्रले रानी ऐश्वर्यलाई राजकीय भाषामा ‘बडामहारानी’ शब्दले सम्बोधन नगरेर ‘मेरी श्रीमती’ शब्दले सम्बोधन गरेका थिए । यो घटना राजा वीरेन्द्रले राज्यारोहण गरेलगत्तै नेपाल विश्व सम्बन्ध परिषद्को आयोजनामा तत्कालीन राजकीय प्रज्ञा प्रतिष्ठानको सभागृहमा देशका बुद्धिजीवीहरू सहभागी भएको एउटा महŒवपूर्ण सभामा भएको थियो । त्यसैदिनदेखि राजा वीरेन्द्रका विरुद्ध पुराना र घरानियाँहरूले षड्यन्त्र सुरु गरेको कथा सहरका सम्भ्रान्त बैठकहरूमा दोहोरिन, तेहोरिन थालेको थियो ।
२०४७ सालमा कान्तिपुर सहरमा वीर गणेशमानको सघन चर्चा हुन्थ्यो । प्रजातन्त्रको पुनस्र्थापनापछि गणेशमानजीलाई ‘वीर’ त के, प्रजातान्त्रिक देशको ‘अकिञ्चन’ नागरिकका रूपमा समेत शान्तिसँग बस्न दिइएन । उहाँलाई काङ्ग्रेसका सर्वोच्च नेता भनिन्थ्यो । तर, के काङ्ग्रेसले उहाँलाई साँच्चै सर्वोच्च रहन दियो त ? यसको जवाफ इतिहासले खोज्दै गर्ला ।
सभा–समारोहमा सन्त नेता कृष्णप्रसाद भट्टराईको छाता र सुराहीको दृष्टान्त दिँदै उनलाई राजनीतिमा इमान–जमानको प्रतीकका रूपमा सम्झना गरेको हिजो पनि सुनिन्थ्यो र आज पनि सुनिन्छ । त्यो दृष्टान्त राजनीतिक समाजका लागि साह्रै गह्रुङ्गो हुन थालेपछि विस्मृतिको गर्भमा लोप भयो । गणेशमानजी र किशुनजीको आदर्श नेपालको राजनीतिबाट लगभग लोप भयो । प्रजातन्त्र पुनस्र्थापनाको एक दशक पनि नबित्दै जब काङ्ग्रेस जीवन–मरणको चरम् सङ्कटमा प¥यो, गिरिजाप्रसाद कोइरालाले जनताको दरबारमा किशुनजीको इमान जमानी राखेर पार्टीलाई २०५६ सालको चुनाव लडाए ।
पुनस्र्थापित संवैधानिक राजतन्त्र तथा बहुदलीय प्रजातान्त्रिक व्यवस्थाको यो तेस्रो र अन्तिम चुनाव थियो । यो चुनाव काङ्ग्रेसले किशुनजीकै नेतृत्वमा लड्यो र बहुमत ल्याएर जित्यो ।
प्रजातन्त्र पुनस्र्थापना अभियानमा नेपाली काङ्ग्रेसको सहयात्री रहेको पहिलेको माले र पछिको एमालेमा, प्रजातन्त्रको पुनस्र्थापनापछि, अभिमानभन्दा पनि हलक्क बढेको थियो घमण्ड । अभिमान र घमण्ड एकै अर्थदिने शब्द होइनन् । अभिमानी हुनु र घमण्डी हुनुका भेदहरू थुप्रै छन् । प्रजातन्त्र पुनस्र्थापनापछि, पहिलो चुनावी मौसममा, आफ्नै सङ्घर्षले नेपाली समाजमा महिला नेताका रूपमा स्थापित भएकी गणेशमान सिंहकी धर्मपत्नी मङ्गलादेवी सिंह चुनावमा उम्मेदवार हुनुहुन्थ्यो । चुनावकै प्रसङ्गमा उहाँले लगाएको रातो लिपष्टिकको तुलना ‘मानव रगत’ सँग गर्दै नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता तथा तत्कालीन पत्रकार रघुपन्तले आफ्नो स्तम्भ लेखेका थिए । धन्य हो, पन्त अहिले नेपाल कम्युनिष्ट पार्टीभित्र ओली गुट भनेर चिनिने एमालेमा छन् ।
उतिबेलाका सभा–समारोहमा काङ्ग्रेस–कम्युनिष्टको ‘बोक्रे’ मित्रता देख्न पाइन्थ्यो । काङ्ग्रेसहरू कम्युनिष्टहरूलाई दुई हात जोडेर ‘नमस्कार’ गर्दथे । कम्युनिष्टहरू मुड्की उजाएर ‘सलाम’ फर्काउँथे । यतिबेला चाहिँ देशका नेपाल कम्युनिष्ट पार्टी एमालेका कार्यकर्ताहरू मुड्की उजाएर काङ्ग्रेसलाई नमस्कार गर्न होइन, डँडाल्नो फुक्लिने गरी ठोक्न चाहन्छन् ।
दुईवटा पूरा र एउटा मध्यावधि चुनाव बिते पनि पुनस्र्थापित प्रजातन्त्रले जनतालाई सन्तुष्टि दिन सकेको थिएन । राजा वीरेन्द्रको हत्यापछि ज्ञानेन्द्र राजा भए । ज्ञानेन्द्र राजाका रूपमा भन्दा पनि पारस शाहका पिताका रूपमा बढी चर्चित भए । राजा ज्ञानेन्द्रले पारस शाहलाई युवराज घोषित गरे । उनका चाकरीदारहरूले ‘सरकारको कीर्ति गाउँदै’ भनेको सुनियो, ‘सरकारले पारसलाई युवराज बनाउँदा बडो अप्ठेरो महसूस गरिबक्सियो ।’ अप्ठेरो महसुस गरिबक्सिएको थियो भने किन युवराज घोषित गरिबक्सिएको थियो त ? यो प्रश्नको जवाफ ती कीर्तिकारहरू कसैसँग पनि छैन होला ।
राजतन्त्रको अन्त्यपछि अहिले राजा ज्ञानेन्द्रले युवराज पारसलाई बिर्सिएका छन् । उनी समाजसेवा र व्यापारमा युवराज्ञी हिमानीलाई अघि बढाउँदै रहेका देखिन्छन् । राजाहरू ती बेलायतका हुन् कि नेपालका, धनी हुन् कि गरिब, मूर्ख हुन् कि बुद्धिमान् अलिकति सन्की सन्की नै हुन्छन् ।
गणतान्त्रिक राष्ट्रका रूपमा नेपालको उदयपछि जनताले नसोचेका कुरा धेरै भए । मल्लकालीन नेपालमा भारदारहरूको वृत्तको विस्तार भएको थियो, नेपालको शासन–प्रशासनमा । पृथ्वीनारायणका आफ्ना मानिस थिएनन् । मल्ल राजाहरूको पतनपछि अलमल्ल परेका भारदारहरू शरणार्थीका रूपमा पृथ्वीनारायण शाहको ‘चरण कमलमा’ लम्पसार परे । मल्ल राजतन्त्रको प्रशासनलाई शाह राजतन्त्रले निरन्तरता दियो ।
यसैको बिँडो थामेर, शाह राजतन्त्रलाई गणतान्त्रिक शासन व्यवस्थाले निरन्तरता दिएको छ, अहिले । गिरिजा, प्रचण्ड र परिवर्तनका अन्य महत्वपूर्ण नेताहरूले एउटा संविधानसम्म पनि लेख्न सकेनन् समयमा । संविधानसभाको पहिलो कार्यकालमा प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराई पालैपालो प्रधानमन्त्री भए । त्यतिबेला, ‘बाइ हुक्स एण्ड त्रूmक्स’ बाबुराम प्रधानमन्त्री नभएको भए फेरि कहिल्यै हुने थिएनन् ।
यही क्रममा पहिलो संविधानसभा टुङ्गियो । दोस्रो संविधानसभाका लागि परिवर्तनका नेताहरूले सर्वोच्च अदालतको खोपाबाट खिलराज रेग्मी नामको मुख्य कारिन्दालाई ल्याएर देशको प्रधानमन्त्री बनाए । त्यसपछि रेग्मीले जुन चुनाव गराए, त्यसमा परिवर्तनको वाहक बनेको माओवादी पार्टी नै सफाचट् भयो ।
तैपनि संविधान बन्यो । संविधान बनाउने नाममा कति थारुको ज्यान लिइयो र कतिलाई जेलमा कोचियो, त्यसको हिसाब गरेर साध्य लागेन । नेताहरू कुनैपनि मूल्यमा नेपाली राष्ट्रवादमा भारत र चीनको मिस्कट नपरोस् भनेर सतर्क थिए । नेपाली काङ्ग्रेसका सभापति स्वर्गीय सुशील कोइरालाको नेतृत्वमा माओवादी पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका अध्यक्ष केपी ओलीलगायतका नेताहरूले बनाएको सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान राष्ट्रपति रामवरण यादवको बाहुलीबाट बडो नाटकीय ढङ्गले लोकार्पण भयो ।
अहिले जमाना बदलिएको छ । दशवर्ष लगाएर बडो कष्टका साथ ठस्ठसी कनी कनी लेखिएको थियो संविधान । संविधानका सन्दर्भमा भारतका हालका विदेशमन्त्री जयशङ्कर प्रसाद काठमाडौं आएर थर्काउँदा पनि हामी थर्किएनौं भनेर नेपाली नेताहरू आफ्नो गुणगान अझै गाउँदैछन् । उता जनता भने नेपालको संविधान ‘सक्रिय निष्क्रियताको बाटोमा लागेको’ अनुभव गर्न थालेका छन् । किनभने, देशमा द्वन्द्व कायमै छ । संविधानले एकै झमटमा गाउँका गाउँलाई नगरपालिका बनाएको छ । तर, मानिसका सामान्य आवश्यकताको पहिचान गर्ने चेष्टा गरेको छैन । समावेशी शब्दको अर्थ र तात्पर्य दुवैको जानकारी छैन, सरकार चलाउने पार्टीका नेतामा । जनयुद्धमा ‘सत्र हजार जनता’ मारिएकोमा माओवादीको सत्तोसराप गर्नेहरू शाहीसेनाबाट मारिएका जनताको हिसाब–किताब गर्न उत्सुक देखिँदैनन् । जनयुद्धका समयमा भेरी, कर्णाली, तीला र पूर्व–पश्चिमका अरू नदीहरूको भेलमा कतिलाई जबर्जस्ती हेलिएको थियो ? त्यो न माओवादीलाई थाहा छ, न त सुनेकै आधारमा भए पनि कसैले त्यसको अभिलेख नै राखेको छ ।
कुनैबेला एमालेका अध्यक्ष खड्गप्रसाद ओली नेपालमा गणतन्त्र आउने भनेको गोरुगाडा चढेर अमेरिका पुग्ने भनेजस्तै हो भन्थे भन्ने चर्चा सबैतिर भएको छ । उखान टुक्का र कथा कहानीमा रुचि राख्नेहरूका लागि धेरै नै चाखलाग्दो व्यक्तित्व छ ओलीको । उनको नेतृत्वमा गठन भएको सरकारले विदेश नीतिका आफ्ना प्राथमिकता बदलेको थियो । भारतसँगको खुला सीमाना बन्द गरेर चीनसँग सीमा खुला गर्नुपर्ने विचार जागृत हुँदैछन् । उसो त, चीनसँग नेपालले बडो आदरार्थी सम्बन्ध राख्ने गरेको छ । चीन चिढिएला भनेर राजाहरूसमेत सतर्क रहन्थे । तिब्बत चीनमा गाभिँदा पनि नेपालको सरकार केही बोलेको थिएन । सन् १९८९ मा चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव तथा उदारवादी नेता हु याओ ब्याङको निधनपछि उदारवादी शासनको निरन्तरताको माग गर्दै बेइजिङको तियानमेन स्क्वायरमा ‘चार जूनको आन्दोलन गर्ने’ युवा विद्यार्थीहरूको दमन र हत्याका समाचार नेपालका भारदारवर्गले पढेकै छैनजस्तो पो छ !
अहिले एकथरि वामपन्थीहरू रन्थनिएका छन्– नेपालमा एमसीसीको उपस्थितिले । शीतयुध्द कालमा युरोप अमेरिकाका मानिसहरू जे कुरामा पनि फासीवादको संलग्नता देख्थे रे । उनीहरूलाई यो थाहा छैन–एमसीसी चीनकै बाटो आउँछ । आज नआए भोलि आउँछ । चीनसँग मुठभेड नगरेर उसलाई आर्थिक विकासमा संलग्न गराउने नीति लिएका थिए अमेरिकाका राष्ट्रपति रिचर्ड निक्सनले । उनलाई यसमा सघाएका थिए हेनरी किसिंजरले । यसका लागि निक्सनले चीनको भ्रमण गरेका थिए सन १९७२ मा ।
कम्युनिष्टहरूका बीच शक्तिको झगडा सामान्य कुरा मानिन्छ । सोभियत सङ्घसँगको सीमा युद्धले माओ उद्विग्न बनेका थिए । त्यही रन्कोमा उनले अमेरिकीसँग मित्रताको हात बढाएका थिए ।
माओत्से तुङ्मा व्यवहारवाद प्रचूर मात्रामा थियो । उनको राजनीति र कूटनीति, नैतिक र सैध्दान्तिक आधारमा होइन, तत्कालीक परिस्थितिका आधारमा निर्भर हुन्थ्यो । उनी भन्थे, ‘थोरै क्रान्ति, आवश्यकताका आधारमा धेरै कूटनीति ।’ माओको यो नीतिको अबलम्बन चीनमा जारी छ । नयाँ चीनका नयाँ पुस्ताले त क्रान्तिको सपना पनि देख्न छाडेकाछन । यो सत्य हो, बितेको पचास वर्षमा आर्थिक दिकासमा चीनले फराकिलो छलांग मारेको छ । चीनका जनताले अनेकौं दुःख कष्ट सहेर अदम्य साहसका साथ विकास गरेका छन् ।
यो होइन कि, चीन अहिलेसम्म नेपाली राजनीतिमा लागेका मानिसहरूको ‘मौलिक’ चरित्रसँग अनभिज्ञ छ । त्यो मामिलामा चिनियाँहरू माहिर छन् । चीनका नेताहरूले नेपाली नेताहरूको नाडी छामिसकेका छन् । नेपाली जनताले सिनेमामा चीनको चुच्चे रेल देखेका छन् । त्यसबाट आकर्षित भएका छन् । त्यसैले चीनका नेताहरू पूर्व राजदुतहरूलाई बेला बेलामा भाषण गर्न नेपाल पठाएर नेपाली जनतालाई उनीहरूको अभिलाषा पूरा हुन्छ भनेर आश्वस्त पार्न खोज्दैछन् ।
हामीले जानेका छौं गफ गर्न । हाम्रा सरकारहरूले जानेका छन् छड्के हान्न । आफना कार्यकर्ताहरुलाई सामाजिक संजालमा सक्रिय गराएर विरोधीको मान(मर्दनगर्न । जनता कालापानी, लिम्पियाधुरा र लिपुलेकको चुच्चे नक्सा हेरेर दङ्ग परेको छ । चुच्चे नक्सा अनुसारको जमिनमा दाबी गर्न सरकार नै पुगेको छैन । विचरा हामी जनता । कान्तिपुरका रैथाने, पुरानिया र घरानिया भारदारहरूले काउकुती लगाइदिएर सरकारलाई प्रसन्न तुल्याएका छन् । हामी नेपाली ‘सार’ मा सबै कुरा बुझ्छांै –जस्तो गीतासार । श्रीकृष्णले अठार अध्यायमा लेखेको गीताको चूरो जम्मा आठ पङ्क्तिमा ।
एकताका सहरका पुस्तक पसलहरूमा एउटा पोष्टर पाइन्थ्यो– कस्ता मानिस मरेपछि कस्तो नर्कमा जाकिन्छन् ? आजकाल त्यस्तो पोष्टर कसैले बेच्दैन । किनभने, अहिले देशको अवस्था र नर्कका अवस्थाका बीच कुनै भेद छैन । नर्क पनि योभन्दा खराब त के होला र ?