विराटनगर । नेपथ्यको विराटनगरमा २१ वर्षपछि भएको साङ्गीतिक कार्यक्रममा सहभागीहरूले भरपूर मनोरञ्जन लिएका छन् । नेपाली साङ्गीतिक क्षेत्रमा बेग्लै उचाइ र विशिष्टता कायम गर्न सफल साङ्गीतिक समूह नेपथ्यको विराटनगरस्थित हाटखोला खेलमैदानमा शुक्रबार साँझ भएको प्रस्तुतिले विराटनगरवासीलाई भरपूर मनोरञ्जन दिलाएको हो ।
मानवता प्रवद्र्धनजस्तो पवित्र उद्देश्यले आयोजना गरिएको साङ्गीतिक कार्यक्रममा विराटनगरका मात्र नभएर भारतदेखिका समेत सङ्गीतप्रेमी आएका थिए । नेपथ्य ब्याण्डका मुख्य गायक अमृत गुरुङले यसपालि विराटनगरवासीलाई मात्रै होइन, सयौँ भारतीयहरूलाई समेत सङ्गीतमा झुमाउन सफल भए । उनको प्रस्तुति हेर्न भारतको सिक्किम, आसामबाट समेत सङ्गीत पारखीहरू ओइरिए ।
भरिभराउ भएको यहाँको हाटखोला मैदानमा उनले दुई दर्जन जति नयाँ, पुराना र चर्चित लोकपप गीतहरू गाएर दर्शकलाई मनोरञ्जन दिलाए । मङ्सिरको सुरुवातदेखि बढेको जाडोको कुनै प्रभाव नगरी तन्नेरी युवाहरूले धुलो उडाएरै नाचे । त्यसो त अमृत गुरुङको आफ्नो प्रस्तुति र हाउभाउ नै जुरुकजुरुक पार्ने खालको थियो । आफ्नै सङ्गीतमा गायक आफैँ चुर्लुम्म डुबेपछि दर्शकहरू हेरेर मात्रै बस्न सकेनन् ।
लगातार तीन घण्टा चर्चित गीत प्रस्तुत गरेका गायक गुरुङको अन्तिमसम्म उस्तै जोशिलो प्रस्तुति रह्यो । त्यसैले सङ्गीत पारखीहरूले अटुटरूपमा मनोरञ्जन लिएका थिए ।
सुरुमा उनले ‘भेडाको ऊनजस्तो.... गीतबाट आफ्नो प्रस्तुति आरम्भ गरे । त्यसपछि दर्शकको हुटिङले हाटखोला मैदान गुञ्जियो । वरपरका घरका छत बारहरू समेतमा भरिभराउ दर्शकले साथ दिएको हाटखोला मैदानमा उनी दोस्रो गीत ‘छेक्यो छेक्यो.... , ‘उडायो रेलैले, जोमसोमै बजार, शिरफूल शिरैमा, यो जिन्दगी, गाउँगाउँबाट उठ...लगायतका गीत प्रस्तुत गर्दा स्वरमा स्वर मिलाउँदै सहभागीहरू छमछमी नाचे ।
गीत–सङ्गीतको बीचबीचमा सन्देशमूलक शब्दहरू भनेर उनले सामाजिक सचेतना पनि जगाए । ‘कसैले गर्न नसकेको काम मानवसेवा आश्रमले गरिरहेको छ, उहाँहरूलाई मुरीमुरी नमन छ’ गायक गुरुङले भने, ‘यसमा दान गरेर पुण्य कमाउनुहोस् ।’
उनले भर्खरै प्रतिनिधि र प्रदेशसभाको निर्वाचन सकिएकाले मानिसहरूको मन विभाजित भएको उल्लेख गर्दै त्यसमा भएको मनमुटाव त्याग्न आम नागरिकमा अपिल पनि गरे । त्यसपछि जब उनले स्टेजमा ‘जोगले हुन्छ भेट.... बोलको गीत प्रस्तुत गर्दा हाटखोला मैदान थप सङ्गीतमय बन्यो । दर्शकहरू वान्समोर, वान्समोर भन्दै झुम्मिए ।
‘मैनाचे छमछमी... बोलको गीत प्रस्तुत गर्दा युवाहरूको भीड बढेपछि सुरक्षाकर्मीलाई स्टेजको सुरक्षा दिनै हम्मे हम्मे भयो । त्यसपछि तालको पानी र रातो र चन्द्र, सूर्यजस्ता कालजयी एवम् राष्ट्रिय भावनाले ओतप्रोत गीत प्रस्तुत गर्दा दर्शकमा राष्ट्रप्रेम भाव झल्किएको थियो ।
विगत २१ वर्षअघि विराटनगरमा शिक्षाका लागि कन्सर्ट गरेको स्मरण गर्दै गायक गुरुङले अहिले जो सडक आश्रित मानवहरू छन्, जसका कोही छैनन्, उनीहरूका लागि मानवसेवा आश्रमसँग सहकार्य गर्न पाएकोमा गर्व महसुस भएको बताए । उनले धन हुनेले नभई मन हुनेले मात्रै सहयोग गर्न सक्ने भएकाले आश्रमको महान् कामका लागि जो सकिन्छ, सहयोग गर्न मञ्चबाटै आह्वान गरे ।
अब मानवता प्रवद्र्धनका लागि मङ्सिर १९ गते वीरगञ्जको आदर्शनगर रङ्गशालामा नेपथ्य लाइभ कन्सर्ट हुँदैछ । यस्तै २२ गते हेटौँडाको भुटनदेवी स्कुलचौर, २५ गते भरतपुरको क्याम्पाचौर, २९ गते नेपालगञ्जको रङ्गशालामा सङ्गीतमार्फत् मानवता प्रवद्र्धन कार्यक्रम हुने आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले जनकारी दिए ।
यस्तै पौष ३ गते धनगढी रङ्गशाला, ६ गते सुर्खेतको खुल्लामञ्च, ९ गते बुटवलको कालिका मानवज्ञान मावि मैदान, १२ गते पोखराको प्रदर्शनी केन्द्र र १६ गते काठमाडौँको भृकुटीमण्डपमा कार्यक्रम हुने पनि उनले बताए । कार्यक्रमले मानवसेवा आश्रममा आश्रितहरूका लागि सहयोग जुटाउनुका साथै आश्रमका देशैभरका निर्माणाधीन भवन सम्पन्न गर्न तथा अक्षयकोष निर्माणका लागि सहयोग पुग्ने कोषाध्यक्ष होमनाथ तिमिल्सिनाले बताए ।
उक्त आश्रममा हाल एक हजार ६ सय सडकआश्रित मानवहरू संरक्षित छन् । देशका १९ जिल्लामा २३ शाखामार्फत् सेवा गर्दै आएको आश्रमले आगामी २०८२ सालसम्ममा मुलुकका सडकपेटीमा बेवारिसे मानिसहरू नरहने अवस्था सिर्जना गर्ने योजना रहेको जनाएको छ ।