अहिले कतारमा फिफा विश्वकप फुटबल प्रतियोगिता सञ्चालन भइरहेको छ । विश्वभरका फुटबलप्रेमीहरूले यसलाई एउटा उत्सवका रूपमा मनाइरहेका छन् । नेपालमा पनि घर–घर र सार्वजनिक स्थलहरूमा विश्वकपको प्रत्यक्ष प्रसारण हेर्नेहरूको भीड लाग्ने गरेको छ । तर, धेरैले याद नगरेको कुरा के हो भने यो विश्वकपमा हजारौं श्रमिकको रगत र आँसु मिसिएको छ । कतारमा विश्वकपका लागि संरचना निर्माण गर्ने क्रममा हजारौं श्रमिकले ज्यान गुमाएका छन् । त्यसरी ज्यान गुमाउनेका परिवारले अहिलेसम्म उचित क्षतिपूर्ति पाउन सकेका छैनन् । टाईम, द गार्जियनलगायतका अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले हजारौं आप्रवासी श्रमिकहरूको ज्यान गुमाएको रिपोर्ट प्रकाशित गरेका छन् । त्यसरी ज्यान गुमाउनेमा नेपालीहरूको सङ्ख्या पनि ठूलो छ । रिपोर्टहरूमा सार्वजनिक विवरणअनुसार सन् २०१० देखि २०२० सम्म विश्वकपका लागि रङ्गशाला निर्माणका क्रममा ६ हजार ५ सयभन्दा बढी मजदुरको ज्यान गएको थियो । त्यसमा २ हजार ८ सय नेपाली मजदुर परेका छन् । उनीहरूका परिवारलाई विभिन्न बहानामा क्षतिपूर्ति पाउनबाट बञ्चित गरिएको छ । कतारमा भएको लापरबाहीका कारण ज्यान गुमाएका मजदुर र उनको परिवारको पक्षमा नेपाल सरकारले आवश्यक पहल गर्न सकेको छैन ।

रङ्गशाला निर्माणका क्रममा कतारले असुक्षितरूपमा कामदार प्रयोग गर्दा धेरैले ज्यान गुमाउनु प¥यो, त्यसैले ती रङ्गशालाहरूमा कामदारहरूको रगत लत्पतिएको छ । अर्कातिर त्यसरी रङ्गशाला निर्माणका क्रममा अकालमा ज्यान गुमाउन पुगेका मजदुरका परिवार अहिलेसम्म पीडामा छन् । विश्वकप हेरेर अरूले उत्सव मनाइरहँदा उनीहरूको आँसुको बेवास्ता भइरहेको छ । यस विषयमा विश्वका मानवअधिकारवादी संस्थाहरूले पनि आवाज उठाइरहेका छन् । तर, नेपाल सरकारले यो विषयलाई प्राथमिकतामा राखेको पाइँंदैन । नेपालको प्रमुख आयस्रोतका रूपमा पर्छ रेमिट्यान्स । आम नेपाली श्रमिकहरूले विभिन्न देशमा गएर रगत र पसिना बगाएर पठाएको रेमिट्यान्सको हिसाब राखेर देश चलाउने सरकारले उनीहरूका दुःख–पीडामा आवश्यक साथ सहयोग गरेको पाइँंदैन । नेपाली मजदुरहरू रोजगारीका लागि विदेश जानुअघि नै दलालहरूबाट ठगिने गरेका छन् । सरकारले निःशुल्क भिसा र निःशुल्क टिकट भने पनि त्यस्तो सुविधा आम श्रमिकले पाउन सकेका छैनन् । म्यानपावर कम्पनीका एजेन्टहरूले सुरुमै लाखौं असुल्ने गरेकाले उनीहरू महँगो ब्याजदरमा ऋण लिएर विदेश जान्छन् । विदेशमा पुगेपछि पनि एजेन्टहरूले नेपालमा देखाएको आश्वासन विपरीत जोखिमपूर्ण काममा लगाउने र तलब सुविधा कम दिने, कतिलाई तलबै नदिएर पठाउने गरेका घटना अहिले पनि सार्वजनिक भइरहन्छन् । विदेशमा लगाइने जोखिमपूर्ण कामका कारण विभिन्न समस्याले ज्यान गुमाउने मजदुरहरूको पीडा सरकारले बुझ्न सकेको छैन । विभिन्न खोजमूलक रिपोर्टहरूमा उल्लेख भएअनुसार कतारमा मृत्यु भएका नेपालीहरूलाई त्यहाँका अस्पतालहरूले सामान्य मृत्यु उल्लेख गरेका छन् । उनीहरू लगातारको खटाइ र असुरक्षित वातावरण, खानपानजस्ता कारण मृत्युको मुखमा पुगेको विभिन्न प्रतिवेदनले पनि उल्लेख गरेका छन् । तर, नेपाल सरकार किन यो विषयमा मौन छ ?

कतार विश्वकपका लागि रङ्गशाला निर्माण गर्ने क्रममा ज्यान गुमाउनेहरूमा नेपाल, भारत, बङ्गलादेशलगायत दक्षिण एसियाली मुलुकका नागरिक धेरै छन् । उनीहरूका परिवारको पीडामा मलहम लगाउन सम्बन्धित देशका सरकारले पर्याप्त पहल गरेको पाइँंदैन । नेपाल सरकारले त झन् यस विषयमा गम्भीरता देखाएको छैन । नेपालका ठूला मिडिया र सामाजिक क्षेत्रबाट पनि नजरअन्दाज गरिएको भनेर सामाजिक सञ्जालमा आवाज उठिरहेको छ । रङ्गशाला निर्माणका क्रममा ज्यान गुमाएका श्रमिकहरूका परिवारले न्याय पाउनुपर्छ । त्यसका लागि अन्तर्राष्ट्रियजगत्मा आवाज उठाउन ढिला भइसक्यो । अझै पनि विश्वकप चलिहरेकाले यस विषयमा नेपालले बोल्नु आवश्यक छ । संयोगवश डिसेम्बर १८ अर्थात् विश्व आप्रवासी दिवसकै दिन विश्वकप फुटबलको फाइनल प्रतिस्पर्धा हुँदैछ । यो अवसरमा नेपाल सरकारले ज्यान गुमाउने आफ्ना नागरिकका विषयमा आवाज उठाउनु जरुरी छ ।