सुन–चाँदी व्यवसायमा विभिन्न समस्याहरू देखिने गरेका छन् । त्यसमध्येको एउटा प्रमुख समस्या सुन–चाँदी पसलहरूबाट अवैध रूपमा भइरहेको बैङ्किङ कारोबार हो । सुन–चाँदी पसलका सञ्चालकहरूले महँगो ब्याजको लोभ देखाएर सर्वसाधारणबाट पैसा उठाएर ठगी गरेका घटना बेलाबखत सार्वजनिक हुने गरेका छन् । मोरङको सुन्दरहरैंचास्थित खोर्सानेमा रहेको कमला ज्वेलर्सका सञ्चालक राजु विश्वकर्माले सर्वसाधारणलाई १८ देखि २४ प्रतिशतसम्म ब्याज दिने प्रलोभन देखाएर ठगी गरेको भन्दै ५५ जना पीडितहरू प्रहरी कार्यालय पुगेका छन् । उनीहरूबाट १ करोड ८० लाखभन्दा बढी रकम ठगी गरेको प्रहरी अनुसन्धानमा उल्लेख छ । यो त हालै सार्वजनिक भएको एउटा घटना हो । यसअघि पनि धेरैवटा यस्ता घटना भएका छन् । पटक–पटक उस्तै प्रकृतिका घटना दोहोरिनुले एकातिर सर्वसाधारण नागरिक सचेत हुन नसकेको देखिन्छ भने अर्कातिर सरोकारवाला निकायदेखि सरकारसम्मको ध्यान नपुगेको प्रष्ट हुन्छ । हाम्रा कानून, नीति नियमहरूले राम्रोसँग काम गर्न नसकेको पनि बुझ्न सकिन्छ ।

नेपाल राष्ट्र बैङ्क ऐन २०५८ मा निक्षेप उठाउन र ऋण लगानीको काम गर्न नेपाल राष्ट्र बैङ्कबाट स्वीकृति लिनुपर्ने व्यवस्था छ । ऐनको दफा ७६ (उपदफा १) मा ‘कुनै पनि व्यक्ति, फर्म, कम्पनी वा संस्थाले कुनै पनि प्रकारको निक्षेप लिन वा कर्जा दिन बैङ्कबाट तोकिएबमोजिम स्वीकृति लिनुपर्नेछ’ भन्ने उल्लेख छ । तर, यो ऐन कार्यान्वयनमा राष्ट्र बैङ्क र प्रहरी प्रशासनले पनि ध्यान दिएको पाइँंदैन । त्यही मौकाको फाइदा उठाउँदै गलत मनसायका व्यक्तिहरूले सर्वसाधारणलाई ठगी गरिरहेका छन् । त्यसमध्येको एउटा उदाहरण सुन–चाँदी पसलहरूबाट भइरहेको अवैधानिक काम हो । यस्तो धन्दा सुनसरी, मोरङलगायत देशका विभिन्न स्थानमा खुलेआम चलिरहेको छ । सुनसरीका इटहरी, धरान र मोरङको विराटनगर, उर्लाबारी, पथरीलगायत क्षेत्रका अधिकांश सुन पसलले यस्तो गैरकानूनी रूपमा बैङ्किङ कारोबार गर्दै आएको देखिन्छ । कतिसम्म भने त्यस्ता पसलहरूले सरकारीले झैं आफ्नै पासबुक नै छापेर निक्षेप सङ्कलन गर्ने काम गर्दै आएका छन् । कानूनविपरीत बैङ्किङ कारोबार सञ्चालन भइरहँदा पनि नियमनको अधिकार तथा जिम्मेवारी पाएका निकायहरूले ध्यान नदिनुमा विभिन्न कारण हुन सक्छन् । एउटा त उनीहरूकै मिलेमतोमा पो यस्तो धन्दा चलिरहेको छ कि ? भन्ने आशङ्का उब्जिन्छ । होइन भने बजारमा खुलेआम ठगी भइरहँदा पनी मौनता साध्नुको अर्थ के हो ?

आम नागरिकलाई सबै नियम कानून थाहा हुँदैन । सुन–चाँदी पसलले पासबुक नै दिएर महँगो ब्याजको लोभ देखाई रकम सङ्कलन गर्दा आम नागरिकले कानूनको ख्याल गरेका हुँदैनन् । जब पैसा डुब्छ, त्यसपछि मात्र उनीहरू पछुताउने गर्छन् । प्रहरी कार्यालय र विभिन्न निकायमा आफू ठगिएको उजुरी लिएर पीडितहरू पुगेपछि मात्र प्रहरी प्रशासनले कानूनी प्रक्रिया अगाडि बढाउने गरेको छ । पटक–पटक यस्ता घटना सार्वजनिक भएपछि नेपाल प्रहरीको विशेष अनुसन्धान ब्यूरो सिआइबीले केही समयअघि अवैध कारोबार गर्ने विभिन्न इन्भेष्टमेन्ट कम्पनी, सुन पसल, फेन्सी पसलमा छापा मारेको थियो । त्यसपछि ठूलो कारोबार गर्ने सुन पसलका सञ्चालकहरूले सहकारी दर्ता गराएर त्यसैमार्फत् कारोबार गर्न थालेका छन् । त्यसैले सुनचाँदी पसलको यो समस्या सहकारीभित्र पनि फैलिसकेको छ । पछिल्लो समय सहकारीमा देखिएको समस्याको एउटा कारण यो पनि हो । आम नागरिकले सुन पसलमा वा सहकारीमा जोखिमपूर्ण रूपमा पैसा लगानी गर्नुमा बढी व्याजको लोभ प्रमुख देखिन्छ । त्यसबाहेक बैङ्कहरूको झन्झटिलो प्रक्रिया पनि अर्को कारण हो । कारणहरू जे जस्ता भए पनि आम नागरिक यसरी पटक–पटक ठगिनु पर्ने अवस्थाको अन्त्य हुनु आवश्यक छ । त्यसका लागि राज्यका निकायहरूले गम्भीर बन्नुपर्छ । सर्वसाधारणलाई ठगिनबाट जोगाउनु पर्छ ।