विराटनगर । नेपाली साङ्गीतिक क्षेत्रका स्वरसम्राट नारायणगोपाल गुरुवाचार्यको ३२ औँ स्मृति दिवस विराटनगरमा मनाएको छ । स्वर सङ्गम सङ्गीतालय विराटनगरले सोमबार आरोहण गुरुकुलमा साङ्गीतिक कार्यक्रम आयोजना गरी मनाएको हो ।

सङ्गीतालयले नारायणगोपालको स्मृतिमा अहिलेका नयाँ पुस्ताका १८ जना युवा गायकहरूले १८ वटा उनका गीत प्रस्तुत गरेर उनको सम्झना गरेको स्वर सङ्गम सङ्गीतालयका संस्थापक अध्यक्ष कुशेश्वर राईले जानकारी दिए ।

वि. सं. १९९६ असोज १८ गते काठमाडौंको किलागलमा जन्मिएका उनको निधन वि.सं. २०४७ मङ्सिर १९ गते भएको थियो । उनको सम्झनामा नारायण गोपालले गाएका गीतहरू प्रस्तुत गरी प्रत्येक वर्ष स्मृति दिवस मनाउने गरेको राईले बताए ।

वि.सं. २०१७ सालमा रेडियो नेपालबाट माणिकरत्न स्थापित र प्रेमध्वज प्रधानको सङ्गीतमा गीत गाएर स्वर परीक्षा पास गरेका उनले थुप्रै कालजयी गीत गाएका छन् ।

उनलाई २०२३ सालमा सर्वोत्तम सङ्गीतकार, २०२४ सालमा सर्वोत्तम गायक, २०३९ सालमा रत्न रेकर्ड पुरस्कार, २०३३ सालमा गोरखा दक्षिणबाहु चौथो, २०४० सालमा इन्द्र राज्यलक्ष्मी प्रज्ञा पुरस्कार, २०४४ सालमा छिन्नलता पुरस्कार, २०४५ सालमा जगदम्बाश्री पुरस्कारबाट सम्मान गरिएको थियो ।

यस्तै २०४८ सालमा त्रिशक्तिपट्ट तेस्रो पुरस्कारले मरणोपरान्त सम्मान गरिएको थियो । उनका म त लालीगुराँस भएँछु, ए कान्छा ठट्टैमा यो वैंश जान लाग्यो, एउटा मान्छेको मायाले लगायतका थुप्रै कालजयी गीतहरू आज पनि उत्तिकै लोकप्रिय छन् ।