धरान । काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (किम्फ)को २० औँ संस्करण आगामी मङ्सिर २२ देखि सुरु हुने भएको छ ।

फेस्टिभल निर्देशक रम्यता लिम्बूका अनुसार किम्फमा ३० मुलुकका ६० भन्दाबढी फिल्म प्रदर्शन हुनेछन् । त्यसमा २० भन्दाबढी अन्तर्राष्ट्रिय फिल्ममेकर सहभागी हुनेछन् ।

मङ्सिर २६ गतेसम्म आयोजना हुने महोत्सवको सुरुवात ‘बाघको बङ्गारा’ बाट हुँदैछ भने अष्ट्रेलियाली प्याराग्लाइडरले पोलियो रोगविरुद्ध सहायता जुटाउने उद्देश्यले सगरमाथाबाट प्याराग्लाइड गर्ने कथावस्तु बोकेको फिल्म ‘फ्लाई फ्रम एभरेष्ट’ बाट फेस्टिभल समापन हुनेछ । जर्मन लेखक तथा निर्माता माइकल पज, नेपाली फिल्म निर्माता तथा एनिमेटेड अगुवा किरणभक्त जोशी र दक्षिण कोरियाको अल्जु पर्वतीय फिल्म फेस्टिभलकी प्रोग्रामर जिन्ना लीले किम्फमा जुरीको भूमिका निर्वाह गर्नेछन् ।

सन् २००० देखि सुरु भएको किम्फ महोत्सवमा विशेषगरी पर्वत, त्यहाँका बासिन्दा, संस्कृति र वातावरणमाथि बनेका फिल्महरू प्रदर्शन गरिन्छन् ।

महोत्सवमा अन्तर्राष्ट्रियतर्फ प्रथम, दोस्रो र तेस्रो उत्कृष्ट तीनवटा फिल्मले क्रमशः दुई लाख, एक लाख ५० हजार र एक लाख रुपैयाँ पुरस्कार पाउनेछन् भने नेपाली पानोरामाअन्तर्गत फिक्सन र डकुमेन्ट्री विधामा उत्कृष्ट ठहरिएका फिल्मलाई एक लाख र ७५ हजार नगद पुरस्कार दिइनेछ ।

इसिमोड सदस्य मुलुकबाट छानिएको उत्कृष्ट फिल्मले ‘बेस्ट इसिमोड माउन्टेन फिल्म अवार्ड’ सहित एक हजार अमेरिकी डलर पाउनेछ । त्यसैगरी महोत्सवमा अत्यधिक दर्शकहरूको मत पाउने फिल्मले ‘किम्फ अडियन्स अवार्ड’ मार्फत् ५० हजार पाउनेछ ।