परिभाषाः
एक वर्षमा १२ वटा पूर्णिमाहरूमध्ये मङ्सिर महिना अर्थात् नेपाल सम्बत् तिथि अनुसार थिंलाथ्वः पुन्हिलाई यःमरि पुन्हि भन्ने गरिन्छ । यो दिन विशेषगरी नेवार जातिले आफ्नै प्रकारको रोटी अर्थात् यःमरि पकाई खाने गर्दछन् र त्यही विशेष रोटीको नाउँमा उक्त पूर्णिमाको नाम नै यःमरि पुन्हि रहन गएको हो ।
यो पूर्णिमा थिंलापुन्ही, मङ्सिर पूर्णिमा यःमरि पुन्हि, धान्यपूर्णिमा र गैंडु पूर्णिमा आदि नामबाट पनि परिचित छ । लिच्छवीकालदेखि नै चल्दै आएको यःमरि पुन्हि हेमन्त ऋतुमा नेपाल संवत्को दोस्रो महिना थिंलाथ्व पुन्हि अर्थात् धान्य पूर्णिमाको दिनमा मनाउने पर्व हो । यो पर्व विशेषतः नेवार समुदायले मनाउने गरिन्छ । यो नेवार समुदायको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो ।
राष्ट्रिय धान दिवस अर्थात् आषाढ १५ मा रोपिएको धान यो पूर्णिमाभित्र काटेर भिœ्याइसक्ने हुनाले यसलाई धन–धान्य पूर्णिमा भनेको हो । पहाडमा बस्ने पहाडबासी नेवारहरूले पनि आफ्नो गाई–गोरु राख्ने गोठ सफा–सुग्घर गरी आफूले खनजोत गर्दा धेरै सहयोग पुर्याएकाले (हलो जोत्दा, दूध, गोबर, मल आदि दिने हुँदा) गोठपूजा गर्ने चलन परम्परादेखि रहेको छ । यसरी गोठपूजा गर्नेहरूले यःमरि पुन्हि वा मङ्सिर शुक्ल पूर्णिमालाई गैँडु पूर्णिमा भन्ने गर्दछन् । नेपाल सम्बत् चन्द्रमास तिथिअनुसार थिंलापुन्हि अर्थात् मङ्सिर शुक्ल पूर्णिमाको यसदिन वर्षभरिको सबभन्दा छोटो दिन र सबभन्दा लामो रात हो । तिथिअनुसार यसवर्ष मङ्सिर २२ गते बिहीबार परेको छ ।
नेवारहरूको मौलिक विशेषता भएको रोटी यःमरिः
नेवारहरूले खाने धेरै किसिमका रोटीहरू भए पनि नेवार संस्कृति र संस्कारसँग घुलमिल भएको रोटीहरूमध्ये यःमरि पनि एउटा हो । रोटीको नाम नै चाडपर्व उत्सव मनाएर खाने, केटाकेटीहरूको जन्मदिन मनाउँदादेखि वृद्ध-वृद्धाहरूको ‘जंक्व’ गर्दा संस्कारगतरूपमा आवश्यक पर्ने रोटी हो यःमरि ।
त्यसरी नै हर्ष उल्लासका साथ मनाइने देवीदेवताहरूको रथयात्रामा उल्लासका साथ चढाइने रोटी हो । नयाँ घर बनाउन धुरी कस्दा गृहपूजा गरेर, कसै–कसैले दुई वर्षदेखि बाह्रवर्ष सम्म जोर–जोर वर्षमा जति उमेर पुग्छ, त्यति नै वटा यःमरि माला झैँ धागोमा उनेर लगाइदिने गर्दछन् । विशेषगरी शुभकार्य, हर्ष उल्लासको काममा देवखट, देवीदेवता, घर, साना नानीहरू, वृद्धवृद्धाहरूलाई यःमरि चढाउने कार्य नेवारहरूको आप्mनो मौलिक परम्परा हो । त्यसैले नेवारहरूको कुनै पनि काम व्यवस्थित ढङ्गले गर्ने परम्परा रहिआएको छ । धान्य पूर्णिमाको साँझ टोल–टोलमा केटाकेटी, युवायुवती जम्मा भई गीत गाउँदै यःमरि माग्ने चलन छ ।
यःमरिको दार्शनिक पक्षः
यःमरिको आकार भनेको बौद्धस्तूप हो । त्यसो हुनाले यःमरि खानु भनेकै बौद्धज्ञान प्राप्त गर्नु हो । शिक्षा प्राप्त गर्नको निमित्त मन स्थिर गर्नु हो । आप्mनो मनलाई स्थिर राखेर बसमा राख्न सक्यो भने आत्मज्ञान प्राप्त गर्न सकिने हो । यःमरि ज्ञानको प्रतीक भएकोले पूर्णिमाको दिन पुस्तक वा पाटी पूजा गर्नु हो । पाटी भनेको सरस्वतीको प्रतीक हो । त्यसैले पूर्णिमाको दिनमा पूजा गरेर ज्ञान आर्जन गर्ने हो ।
यःमरि बनाउने विधिः
नयाँ धानको चामलको पीठो कुटेर तातो पानीले मुछ्ने गर्छन् । यःमरि बप्mयाउँदा फुट्छ भनेर पीठो मुछेर कपडामा पोको पारेर राख्ने गरिन्छ । आप्mनो इच्छाअनुसारको डल्लो बनाई तातो पानीमा तेल मिसाएर चिल्लो हुने गरी राखिन्छ । मुछेको पीठोबाट एउटा डल्लो लिएर एकातिर चुच्चो पारेर अर्कोतिर औँला घुसारेर पातलो पारिन्छ । खोक्रो पारेको त्यस प्वालभित्र विशेषगरी सख्खर र तिलको झोल हालेर प्वाल बन्द गरिन्छ ।
यसरी बन्द गर्दा अलिकति टुप्पा बाँकी रहन्छ । कसैले त्यस टुप्पालाई सिङको अञ्जीर त्रिकोण आकार दिन्छन्, कसैले दुईवटा वा तीनवटा पातको आकार दिन्छन् । यसरी चामलको पीठोको डल्लाभित्र तिल र सख्खरको गुलियो झोल राखेर स्तूपा आकारमा बनाइएको रोटीलाई यःमरि भन्दछन् । देवपूजामा चढाउनु परे यःमरिभित्र तिल–सख्खर मात्र राखेर पुग्दैन । त्यसभित्र तिल–सख्खरको सट्टा पाँचवटा अक्षतासमेत राख्ने चलन रहेको छ । संस्कृतिविद् ज्यापू पञ्चका अनुसार त्यसमा राखिने पाँचवटा अक्षताको अर्थ पञ्चबुद्ध, अभिताभ, अमोघसिद्धि, अक्षोम्य, रत्नसम्भव र वैलोचनको प्रतीक हो ।
यःमरिको आकार बौद्ध चैत्यको आकार हो । चैत्यको भित्र पञ्चतत्वको प्रतीकको रूपमा तिल, सख्खरसमेत पाँचथोक मिसाउने गरिन्छ । यःमरि बनाउने क्रममा पीठोको गणेश, लक्ष्मी, कुवेर, ज्यापू, ज्यापुनी, भूतप्रेत, पानस आदि इत्यादि बनाएर बफ्याउने गर्छन् । यो कलात्मक मौलिक रोटी हो । धनधान्य पूर्णिमामा पूजा गरिने समस्त देवीदेवताहरू धन सम्पत्तिहरू अभिवृद्धि गर्ने देवताहरू हुन् । गणेश मङ्गलमयका मूर्ति, कुवेर सम्पत्तिका धनी, लक्ष्मी सम्पत्तिदाता नै भइन् । यःमरि पुन्हिमा लक्ष्मी, वसुन्धरा र गणेशको पूजा गर्ने, भकारी खाली नहोस् भनी पूजा गर्ने परम्परा रहेको छ ।
धन–धान्यबारे पौराणिक कथनः
पाञ्चाल (काभ्रेको पनौती) देशको एउटा गाउँमा महाजन सुचन्द्र नामक मानिस बस्दथे । उनको पति–पत्नी भगवान् विष्णुका भक्त र दुवै गरिबहरूप्रति अति दयालु थिए । यी पति–पत्नी जोडी गरिबहरूप्रति कत्तिको दयालु रहेछन् भनी बुझ्न धनका देवता कुवेर गरिबको भेष धारण गरी सुचन्द्रको घरमा माग्न गएछन् ।
गरिबरूपी कुवेरलाई साँच्चिकै गरिब ठानी सुचन्द्रकी पत्नीले डाकेर आफ्नो घरको तलामाथि लगी नयाँ लुगा धोती फेरिदिएर यःमरि र अरू मीठो खाना खुवाएर मान मर्यादा गरेका हुनाले गरिबको भेष धारण गरेका कुवेर खुसी भएर सुचन्द्रकी पत्नीलाई ज्ञानगुनका शिक्षासहित यःमरि भन्ने रोटीको गुण र तःसि (बिमिरो) एउटा दिएर कुवेरले आप्mनो सक्कली रूपको दर्शन दिएर अन्तरध्यान भएछन् । केहीदिनपछि कुवेरले दिएको ज्ञानगुनका सबैकुरा उनले आफ्नो पति सुचन्द्रलाई सुनाइन् ।
कुवेरले भने बमोजिम दुवै जोडी मिली सख्खर र तिलको झोल यःमरिभित्र राखेर चालमको पीठोको कुवेर बनाई बप्mयाएर कुवेरले दिएको बिमिरो र यःमरि सबै अन्नको भकारीभित्र राखेर चारदिनसम्म पूजा गरेर त्यसै राखिछोडेछन् । यःमरि आपूmले पनि खाए, अरूलाई पनि बाँडिदिए । त्यसपछि जति दान गरे पनि उत्तिकै अभिवृद्धि भएर आयो ।
कुवेर, यःमरि र बिमिरो राखेर पूजा गरेको भकारीबाट जतिसुकै धान निकाले पनि अलिकति पनि नघटी जतिको त्यति नै भइरह्यो । त्यसैबेलादेखि यःमरि बनाएर ढिकुटी, धान भकारी, आदिमा पूजा गरेर आपूmले पनि खाने र अरूलाई पनि बाँडिदिने त्यसपछि माग्न आउनेहरूलाई पनि दिने परम्परा बनेको हो भन्ने लेखक लीला भक्त मुनकर्मीले लेख्नुभएको ‘मल्लकालीन नेपाल र चाडपर्व’ नामक पुस्तकमा उल्लेख रहेको छ ।
बिमिरोको महत्वः
आयुर्वेद ग्रन्थअनुसार बिमिरो, घाँटी, जिब्रो र मुटुका लागि लाभदायक तथा नाक–मुखबाट रगत आउने अवस्थामा पनि हितकारक छ ।
नेवारहरूको आफ्नै विशेषता–दानः
नेवार, ठूलो–सानो जस्तोसुकै होस् दान नगरी सन्तोष गर्न नजान्ने जाति हो । बच्चा जन्मदा आँगनमा दिने दान, जन्मदिन मनाउँदा, यःमरि, दही च्युरा दान, बाँचे दान, मरे दान, धर्मगरे दान, पूजा गरे दान, जे गर्दा पनि दान गर्ने चलन छ । दान पनि यही भन्ने छैन, खानेकुरा, पिउने कुरा, रकम, वस्त्र, जेसुकै भए पनि बाँच्नेको नाममा दान, मर्नेको नाममा दान, त्यस्तै यःमरि पुन्हिमा यःमरिका साथै धान, चामल, पैसा, आलु जेसुकै दान गर्ने गरिन्छ । यसरी दान लिनुलाई नेपाल भाषामा ‘त्यः छिंत्यः’ लिने भन्दछन् ।
(कर्माचार्यः विभिन्न सांस्कृतिक तथ्याङ्क सङ्कलन गर्ने खोजमूलक लेखक हुन् ।)