पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिकाले आधारभूत स्वास्थ्य केन्द्रको स्थापना गरेको छ ।
गाउँपालिकाको वडा नं. ७ स्थित पीपलबोटेमा आधारभूत स्वास्थ्य केन्द्रको स्थापना गरेको हो । स्वास्थ्यको पहुँच बाहिर रहेका नागरिकलाई समुदायमै स्वास्थ्य सेवा प्रवाह गर्ने उद्देश्यले उपचार केन्द्रको स्थापना गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले ३४ लाखको लागतमा तीन कोठे पक्की भवन निर्माण सम्पन्न गरेको छ । घेराबारासहितको स्वास्थ्य भवन गाउँपालिका अध्यक्ष वृजहाङ आङ्देम्बेले उद्घाटन गरेका थिए । भवन निर्माणको लागि स्थानीय जग्गादाता देउकुमार नेम्वाङले २ रोपनी जग्गा निःशुल्क दान गरेका छन् । जग्गादान गर्ने नेम्वाङ परिवारलाई वडा र पालिकाले प्रशंसा–पत्र प्रदान गर्दै सम्मान गरेको थियो ।
उद्घाटन समारोहमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत निर्मल तुम्रोक, उपाध्यक्ष ठाकुरसिं नेम्वाङ र पालिका अध्यक्ष वृजहाङ आङ्देम्बेले आधारभूत स्वास्थ्य सेवालाई प्रभावकारी ढङ्गबाट सञ्चालन गरी नागरिकलाई स्वास्थ्य सेवाको पहुँच ल्याउने जनाएका थिए ।
उद्घाटन समारोहमा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, कर्मचारी, शिक्षक र स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो । कार्यक्रम फाल्गुनन्द गाउँपालिका ७ नं. वडाध्यक्ष देउकुमार कुरुम्वाङको अध्यक्षतामा सम्पन्न भएको थियो ।