विराटनगर । विराटनगरमा सुविधासम्पन्न प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आएको छ । विराटनगर–१४ स्थित सङ्क्रामक रोग तथा सघन उपचार केन्द्रसँगै प्रयोगशाला बुधबारबाट सञ्चालनमा आएको हो ।
नवनिर्मित भवनको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले गरे । कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले प्रयोगशालाबाट विशिष्टीकृत सेवा प्रवाह हुने बताए । प्रयोगशालाको नाममा हुने बेथिति, अनियमितता र आम सर्वसाधारणलाई ठग्ने कार्यको नियमन पनि प्रदेश जनस्वास्थ्य प्रयोगशालाले गर्ने उनले बताए ।
विराटनगरस्थित स्नातकोत्तर कलेजको ८ कठ्ठा १२ धुर जग्गा ३० वर्षका लागि लिजमा लिएर प्रयोगशाला भवन निर्माण गरिएको हो । प्रयोगशालामा जेनरल ल्याव, नसर्ने रोग, सरुवा रोग र पीसीआर भाइरल कल्चरलगायतका परीक्षणहरू हुने जनाइएको छ ।
सेभ द चिल्ड्रेन र ग्लोबल फण्डसँगको सहायतामा प्रयोगशाला निर्माण भएसँगै विशिष्टीकृत परीक्षणका लागि काठमाडौं र भारतका विभिन्न सहर धाउनुपर्ने बाध्यताको समेत अन्त्य भएको प्रदेश १ सरकारका स्वास्थ्य मन्त्री जयराम यादवले बताए । प्रदेश अन्तर्गतका अन्य प्रयोगशालाको गुणस्तर मापन, शुल्कको नियमन र अनुगमनको कार्यसमेत यही प्रयोगशालाले गर्ने उनले जानकारी दिए ।
दातृ निकायको कुल ९ करोड ३१ लाख ८२ हजारको लागतमा निर्माण सम्पन्न भएको प्रयोगशाला ४ तले संरचनासहितको छ । प्रयोगशालाले स्थानीय ल्यावको नमुना परीक्षण, निजी तथा सार्वजनिक प्रयोगशालाहरूको गुणस्तर मापन र अनुसन्धान तथा रोग नियन्त्रण कार्यमा विशेष सहयोग पु¥याउने अपेक्षा गरिएको सेभ द चिल्ड्रेन ग्लोबल फण्डका वरिष्ठ कार्यक्रम व्यवस्थापक हरिबोल बजगाईंले बताए ।
२०७७ मङ्सिर ३० गते प्रदेश १ सरकारका तत्कालीन मुख्यमन्त्री शेरधन राईले प्रदेश जनस्वास्थ्य प्रयोगशाला भवन निर्माणको शिलान्यास गरेका थिए । शिलान्यास भएको ६ महिनाभित्र भवनको निर्माण कार्य सकेर ८ महिनापछि सेवा सुरु गर्ने योजना थियो । तर, कोभिड महामारीलगायतका विभिन्न प्राविधिक समस्याका कारण केही ढिलाइ गरी बुधबार भवनको उद्घाटन गरिएको हो ।