विजयपुर । उँधौलीको अवसरमा धरान–१७ स्थित साकेला सांस्कृतिक पार्कको ‘वाबु पोखरी’ उद्घाटन गरिएको छ ।

बिहीबार पोखरीको प्रतिनिधिसभा सदस्य अशोक राईले उद्घाटन गरेका हुन् । किरात राई यायोक्खा सुनसरीद्वारा उँधौली पर्वको अवसरमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा पोखरी उद्घाटन गरिएको हो ।

किरात राई यायोक्खा सुनसरीका अध्यक्ष राजेन्द्र राईका अनुसार पोखरी ९ लाख लागतमा निर्माण भएको हो । पोखरी दाताको सहयोगबाट निर्माण गरिएको हो ।

पोखरी छोरा युवराज राई, बुहारी रूपा राई, छोरी शोभा राई, ज्वाइँ चन्द्रप्रकाश राई, छोरी मनशोभा राई र ज्वाइँ नवीनकुमार राईले दिवङ्गत भएका बुबा घनमान राई र आमा सइलक्ष्मी राईको सम्झनामा निर्माण गरेको किरात राई यायोक्खा सुनसरीका सचिव नवीन राईले जानकारी दिए ।

कार्यक्रममा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य अशोक राई, प्रदेशसभा सदस्यद्वय रमेशकुमार बस्नेत र विजयकुमार राईलाई सम्मान पनि गरिएको थियो ।