तेह्रथुमका कृषक डम्बर दाहालले १२ रोपनी जमिनमा विगत डेढ दशकदेखि तरकारी खेती गर्दै आएका छन् । पछिल्लो समय उनको तरकारी खेतीमा विभिन्न प्रकारका किरासँगै उत्पादनमा पनि ह्रास आउन थालेको छ ।

१० वर्षअघिसम्म एउटा बोटमै ३ केजीसम्म बन्दाकोभी फल्ने उनको बारीमा अहिले मुस्किलले १ किलो मात्रै पुग्छ । बोटमा गाँडे रोग र खुम्ले किरा लाग्न थालेपछि उत्पादनमा ह्रास आएको उनी बताउँछन् । तरकारी बेचेरै वार्षिक ५ लाख आम्दानी गर्ने उनी अहिले मुस्किलले ३ लाख कमाउँछन् । उनी बन्दा, काउली, हरियो मटर र आलु खेती गर्छन् ।

डम्बर मात्रै होइन, पूर्व–पश्चिम राजमार्गमा पर्ने इटहरी चोकदेखि ९० किलोमिटर उत्तरमा अविस्थत तेह्रथुमको लालीगुराँस नगरपालिका–१ मा तरकारी खेती गर्दै आएका करिब डेढ सय परिवार अहिले चिन्तित छन् । समयमै उत्पादन नहुने, किरा लाग्ने, तरकारी उत्पादन घट्दा उनीहरूको आम्दानी मात्रै गुमेको छैन, लगानी र मिहिनेतसमेत खेर जाने अवस्थामा पुगेको छ । भाडामा जग्गा लिएर खेतीपाती गर्नेहरूको अवस्था झन् दयनीय छ । तरकारीको पकेट क्षेत्र मानिएको यो क्षेत्रमा हिजोआज न त गर्मीयाममा उत्पादन राम्रो हुन्छ, न त हिउँदमा नै ।

नागेश्वरी महिला कृषक समूहकी अध्यक्ष रेनुका खड्का भन्छिन्, ‘पहिला पहिला त यस्तो अवस्था थिएन, पछिल्ला वर्षहरूमा किरा लाग्ने र समयमा उत्पादन नै हुन छाडेको छ । गर्मी पनि बढ्न थालेको छ ।’ तापक्रम बढेसँगै यस क्षेत्रमा किराको प्रकोपसँगै तरकारी उत्पादनमा कमी आउन थालेको उनको भनाइ छ । मार्चदेखि जुन महिनामा यस क्षेत्रको तापक्रम ३० डिग्री नाघ्न थालेको छ । यस्तै दैनिक अधिकतम् तापक्रम पनि २० डिग्रीभन्दा माथि जाने गरेको पाइएको छ । यस्तै वार्षिक औसत वर्षा पनि औसतभन्दा बढ्दो अवस्थामा छ ।

जिल्लामा तापक्रम वृद्घि र भारी वर्षाका घटनाहरू बढेसँगै उत्पादनमा पनि कमी आएको हो । ‘चिसो मौसममा हरियो सागसब्जीको गुणस्तर र उब्जनी सोचेभन्दा राम्रो हुने तर, गर्मी महिनामा १० वर्षयताबाट उत्पादन र गुणस्तर दुवैमा कमी आएको छ’–रेनुकाले भनिन् । केही क्षेत्रहरूमा तापक्रम परिवर्तनले सकारात्मक प्रभाव पारे पनि रैथाने अन्नबाली भने हराएको उनको भनाइ छ । केही मात्रामा गर्मी क्षेत्रमा लगाइने धान, गहँु यस क्षेत्रमा पनि फल्न थालेको उनले बताइन् । यसको कारण मौसममा आएको फेरबदल देख्छन्, बालीविज्ञ तथा  कृषि प्राविधिक हेम थापा । उनका अनुसार वर्षा र तापक्रम वृद्घिसँगै प्राकृतिक जलवायुमा प्रत्यक्ष असर पुगेको छ ।

नगदे बालीमा देखिने किराहरू पनि तापक्रम बढेसँगै पाउन थालेको उनले बताए । ‘तराईमा पाइने किराहरू यहाँ पनि पाइन थालेका छन् । उत्पादनमा पनि ह्रास आउँदै गएको छ’–थापाले भने । सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल (फेकोफन) प्रदेश १ का अध्यक्ष तुलसी सङ्ग्रौलाका अनुसार तराईमा पाइने झुसुल प्रजातिका किरा तेह्रथुममा पनि पाइन थालेको छ । रुख कटहर, तित्रीजस्ता अग्लो रुखमा लाग्ने किरा पहाडमा फल्ने अन्न बालीमा समेत लाग्ने गरेको उनले सुनाए ।

किराले तरकारीलाई आक्रमण गरेर खाइदिने र कुहाउन सहयोग गरेको थापाको भनाइ छ । ‘१४ सय फिटको उचाइमा धान, मकै, कोदो, फापर, गँहुलगायतमा देखिने फौजी किरा अहिले ४ हजार ७ सय ६० फिट उचाइमा पनि पाइने गरेको छ’–उनले भने । यो किराले पातमा भन्दा जरामा असर गर्ने गरेको उनको भनाइ छ । बढी मात्रामा किराले बाली नष्ट गर्ने गरेको उनले बताए । उत्पादनका हिसाबले बालीमा आएको परिवर्तनलाई जलवायु अनुकूलन नै रहेको ठान्छन्, उनी । थापा भन्छन्, ‘वर्षामा अत्यधिक पानी पर्ने गरेकाले पनि बालीमा असर पुगेको छ ।’

तापक्रममा आएको उतार–चढावसँगै उत्तिस, लोक्ताजस्ता प्रजातिका बोटबिरुवाहरू पनि मासिन थालेको उनले बताए । ‘उत्तिस प्रजातिको रुखको पातमा किरा लाग्ने समस्याले बोट मासिँदै गएको छ’–थापाले भने । चैत, वैशाखमा फुल्ने लालीगुराँस पुसमा फुल्न थालेको छ । जिल्लामा तापक्रम वृद्धिसँगै पानीका मुहानहरू पनि सुक्न थालेको स्थानीय बताउँछन् । भुल्के खोला, साँझ खोला, रातो पाटी खोला, फिस्टे खोला, लमु खोला समयभन्दा अगावै सुक्न थालेका हुन् ।

विश्वमा तापक्रम वृद्धि भयावह
हरित गृह ग्यासको उत्सर्जन बढेसँगै पृथ्वीमा तापक्रम पनि बढेको छ । सन् १८८० देखि प्रतिदशक ०.१४ डिग्री फारेनहाइट (०.०८ डिग्री सेल्सियस) ले पृथ्वीको तापक्रम बढेको पाइएको छ । सन् १९८१ यताको तापक्रम भने दोब्बरभन्दा बढीले वृद्धि भएको छ । त्यसयता हरेक एक दशकमा ०.३२ डिग्री फरेनहाइट (०.१८ डिग्री सेल्सियस)ले तापक्रम वृद्धि भएको राष्ट्रसङ्घीय वातावरण कार्यक्रम (यूनेप) को तथ्याङ्कमा छ । सन् २०२१ तापक्रम रेकर्डको आधारमा छैठौं तातो वर्ष रहेको थियो । यसले मानव स्वास्थ्य, कृषि, वन, वातावरण, जैविक विविधता, जलचरमाथि प्रत्यक्ष असर पुर्याउने गरेको छ ।

जलवायु परिवर्तनले समग्र जनजीवन नै प्रभावित बनाएको वातावरणका अध्येता पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसका उप–प्राध्यापक  काजीराम कार्की बताउँछन् । प्रदेश १ मा जलवायु परिवर्तनले पु¥याएको असरको विषयमा गहिरो अध्ययन नभएको र केही अध्ययन भए पनि प्रभावकारी नभएको उनले बताए । जलवायु परिवर्तनको प्रभावलाई पूर्ण निर्मूल पार्न नसकिए तापनि यसको जोखिम केही मात्रामा कम गर्न सकिने उनी बताउँछन् । मानवीय गतिविधिमा पनि विशेष सावधानी अपनाउनु पर्नेमा उनले जोड दिए । यस विषयमा राज्यको ध्यान नगएको उनले बताए । जलवायु परिवर्तनका असरको विषयमा विशेषगरी प्रदेश १ मा सूक्ष्म अध्ययन हुन आवश्यक रहेको उनले सुझाव दिए ।

taplejung