प्रतिनिधिसभा र प्रदेससभा निर्वाचनको मत परिणाम सार्वजनिक भैसकेको अवस्थामा सरकार गठनको रसाकस्सी सुरु भएको छ । दल, नेता, नवनिर्वाचित सांसद् तथा देशी, विदेशी शक्तिहरूको अर्जुनदृष्टि विगतमा जस्तै अरू कहीँ नभएर प्रधानमन्त्री पदमै अल्झेको छ । विडम्बना, पपुलिष्ट नेता पुष्प कमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्री हुने जनादेश नै प्राप्त छैन, यद्यपि उनी नै सबै भन्दा बढी चलखेल गरिरहेका छन् । वस्तुतः माओवादी केन्द्रको हैसियत मधुरो आवाजको प्रतिपक्षीको मात्रै हो ।

त्यसै त त्रिसङ्कु संसद् त्यसमाथि सत्ता प्राप्तिको लागि जे पनि गर्ने गैरजिम्मेवार प्रवृत्तिमा कमी नआउने हो भने ०५२–०५५ को जस्तै सरकार बनाउने र गिराउने खेलको पुनरावृत्ति हुने र भ्रष्टाचार, बेथिति र आर्थिक अनुशासनहीनता मौलाउने प्रबलता बढी नै छ । भारतीय संविधानको मस्यौदाकारमध्येका प्रमुख डा. भीमराव अम्बेडकरले भनेका थिए, ‘जस्तै राम्रो संविधान भए तापनि कार्यान्वयनकर्ताको नियत ठीक भएन भने त्यो संविधान खराब नै हुन्छ ।’  त्यस्तै नेपालको लोकतन्त्र घटिया होइन, कतिपय नेताहरूको नियत तुच्छ भएका कारण नागरिकहरूले यो दुर्दशा भोग्नुपरेको हो ।

गठबन्धनको बावजुद नेकपा (माओवादी केन्द्र) प्रत्यक्षतर्फ १८ सिटमा खुम्चिएको छ । कुनै बेला यो दललाई विना गठबन्धन प्रत्यक्षतर्फ १२० र समानुपातिकतर्फ ३० लाख बढी मत प्राप्त भएको थियो, अहिले समानुपातिकतर्फ चानचुन ११ लाख मत मात्र प्राप्त भएको छ । तर, त्यो बहुमतलाई प्रचण्ड नेतृत्वको माओवादी केन्द्रले सदुपयोग गर्न सकेन । यो निर्वाचनमा माओवादी केन्द्रले विना गठबन्धन चुनाव लडेको भए ७–८ सिटमा खुम्चिन पुग्थ्यो ।  र, प्रचण्ड दुई पटक परीक्षित र असफल भएका प्रधानमन्त्री हुन् । त्यसैले अहिले माओवादी केन्द्र अस्तित्व रक्षाको अवस्थामा पुगेको छ । यो दलको लागि सबैभन्दा दुःखद् कुरा त के छ भने समानुपातिकतर्फ झण्डै यो दलकै जति मत ६ महिना मात्र पुरानो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि प्राप्त गरेको छ ।

प्रचण्डले उनको गठबन्धनलाई संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि अपरिहार्य वाम(लोकतान्त्रिक गठबन्धन तर, ओली–लिङ्देनको गठबन्धनलाई दक्षिणपन्थी भनेका छन । प्रचन्डका कुरा विश्वास गर्ने नेपालीको संख्या पनि निरन्तर ओरालो लागिरहेको छ र यसको पुष्टि मत परिणामले समेत गरेकै छ । वस्तुतः चुनावअघि विचार, सिद्धान्त, नीति, कार्यक्रम केही पनि नमिल्ने दलसँगको गठबन्धन अपवित्र गठबन्धन नै हो र यस्तो घटना वैश्विक राजनीतिमा विरलै घटेका होलान् । यो अपवित्र गठबन्धनको प्रवृत्तिले के पुष्टि गर्छ भने विचार, सिद्धान्त र दर्शन भन्ने कुरा हाम्रा नेताहरूका लागि केवल सत्तामा पुग्नु पर्दाबाहेक अरू केही होइन । तर, जनतामा अझै भ्रम छ । चुनावपछि सरकार बनाउन गरिने गठबन्धन भने आवश्यक नै हुन्छ । सन् २०१० मा बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले पनि गठबन्धन सरकारको नेतृत्व गरेका थिए । नरडिक मुलुकहरूमा त दोस्रो विश्व युद्धपछिदेखि नै निरन्तर गठबन्धन सरकार बन्दै आएका छन् । यद्यपि ती सरकारहरूले ती मुलुकहरूमा आर्थिक, सामाजिक क्षेत्रमा कायापलट नै गरेका छन् ।

अझ गम्भीर कुरा त के हो भने दलहरूको अपवित्र गठबन्धनको कारणले सार्वभौम जनताको मताधिकार कुण्ठित हुन पुग्यो । उनीहरूलाई उनीहरूले नचाहेको उम्मेदवार वा दललाई मत दिन बाध्य पारियो । उदाहरणको लागि सुनसरी १ मा काङ्गे्रसको उम्मेदवार नभएको हुनाले चाहे पनि नचाहे पनि जनता माओवादी केन्द्रको उम्मेदवारलाई मत दिन बाध्य भए भने त्यसरी नै नेकपा (एमाले)को उम्मेदवार नभएको हुनाले जसपाको उम्मेदवारलाई मत दिन बाध्य भए । यदि चाहेको व्यक्तिलाई मत दिन पाएको भए हजुरबुबापुस्ता र बुबापुस्ताका अरू धेरै नेताहरूले पराजय भोग्ने थिए । 

प्रधानमन्त्री बन्ने चर्चाको शिखरमा रहेका अर्का पात्र भनेको बहालवाला प्रधानमन्त्री शेरबहादुर देउवा हुन् । उनी पाँच पटक प्रधानमन्त्री भैसकेका हजुरबुबा पुस्ताका नेता हुन् । पाँच–पाँच पटक प्रधानमन्त्री हुँदा पनि उनले आफ्नो फोटो थप्ने काम बाहेक अरू खास केही गर्न सकेनन् । उनी त झन् बारम्बार परीक्षित र असफल भएका प्रधानमन्त्री हुन् । उनको प्रधानमन्त्रित्वकालमा भ्रष्टाचार, बेथिति, विसङ्गति, नातावाद, कृपावाद बढेको भनेर गम्भीर आलोचना हुँदै आएको छ । अस्ताउँदो घाम बनेका उनले छैठौं पटक प्रधानमन्त्री बन्न अनेकौं प्रपञ्च रच्न पछि परेका छैनन् । यो नैतिकताको खडेरी र राजनीतिक बेइमानीबाहेक अरू के हुनसक्छ ? जनमतबाट अस्वीकृत हुँदाहुँदै पनि यो उमेरमा अनेक दाउपेच गरेर ६ पटक प्रधानमन्त्री हुने इच्छा राख्नुभन्दा उदेकलाग्दो कुरा अरू के हुन सक्छ ? विश्लेषक पुरञ्जन आर्चायले फेरि पनि देउवा प्रधानमन्त्री हुनु भनेको यो मुलुककै अपमान हुनु हो भनेका छन् । डा. महाथिर मोहम्मदले त महासङ्कटबाट मलेसियालाई निकास दिनका लागि जनताले पदधारण गर्न अनुनयविनय गर्दा विश्वकै सबैभन्दा वृद्ध प्रधानमन्त्रीको रूपमा ९२ वर्षको उमेरमा पुनः प्रधानमन्त्री पद सम्हालेका थिए । 

उनले त चमत्कार गरेका थिए र पो पूर्ण विश्वास र सम्मान गर्दै उनलाई जनताले पुनः प्रधानमन्त्री बन्न हारगुहार गरेका थिए । तर, यहाँ त नेताहरूप्रति गहिरो वितृष्णा, निराशा र निन्दा व्याप्त छ । बेलायतमा झण्डै १८ वर्षसम्म अनुदार दलले एकछत्र शासन गरेपछि मजदुर दलका ४३ वर्षीय युवा नेता टोनी ब्लेयरले आफ्नो नेतृत्वमा मजदुर दललाई झण्डै तीनतिहाइ बहुमत दिलाएर तहल्का मच्चाएका थिए । मजदुर दलले उनको नेतृत्वमा लगातार तीन कार्यकाल चुनाव जितेको थियो । त्यसपछि उनले स्वतःस्फूर्तरूपमा राजनीतिबाट सन्यास लिएका थिए । उनको कथन निक्कै घतलाग्दो छ– ‘राजनीतिमा नेता प्रारम्भमा अति लोकप्रिय हुन्छ तर, काम गर्ने अनुभव हुँदैन । जब काम गर्ने अनुभव प्राप्त हुन्छ ऊ अलोकप्रिय भैसकेको हुन्छ ।’ यो कटु सत्यलाई हाम्रा नेताहरूले पनि आत्मसात गरे जनताले अलि चाँडै सुख पाउँथे कि ?

विगत ३३ वर्षमा एक पटक होइन, दुई पटक होइन, दर्जनौं पटक सत्तामा पुगेर पुराना पुस्ताका नेताहरूले बारम्बार यो मुलुक र जनताको हुर्मत लिएका छन । संविधानविद् भीमार्जुन आचार्यका अनुसार अधिकांश दल र दलका नेताहरूले यो मुलुकमा सङ्गठित लुटिङबाहेक अरू केही पनि गरेका छैनन्, जसरी पश्चिमाहरूले सङ्गठित हिंसाको माध्यमबाट विश्वमा उपनिवेशवाद लादेका थिए । आखिर एउटा मुलुकलाई विकसित र समृद्ध बनाउन १५–२० वर्षमा सम्भव हुन्छ भन्ने कुरा त जगजाहेर छ । दोस्रो विश्व युद्धमा आणविक बमले विध्वंस भएको सानो देश जापान फिनिक्स चराजस्तै आºनै खरानीबाट ब्युँतिएर सन् १९६८ मा आइपुग्दा विश्वकै दोस्रो ठूलो अर्थतन्त्र बनेको थियो । सन् १९६५ मा मलेसियाबाट अलग भएको सानो ‘माझी गाउँ’ सिङ्गापुर सन् १९८० मा आइपुग्दा विकास र समृद्धिको हकमा केवल १५ वर्षमा युरोपको हाराहारीमा पुगिसकेको थियो । मलेसियामा डा. महाथिरले पनि यस्तै अद्भूत कार्य गरेका थिए ।

सबैभन्दा बढी मनन् गर्नुपर्ने कुरा त यस पटकको चुनावमा पूर्वप्रधानमन्त्री, पुर्वसभामुख, पार्टीका अध्यक्ष, महासचिव, पूर्वमुख्यमन्त्री, बहालवाला गृहमन्त्रीहरूले समेत भारी मतान्तरले पराजय व्यहोरेका छन् । दर्जनौं पटक मन्त्री भएका शीर्षनेताहरू विजयकुमार गच्छदार र उपेन्द्र यादवसमेत पराजित भएका छन् । रास्वपाको उदय चमत्कारपूर्ण ढङ्गले भएको छ । कहिले राजनीति नगरेकी २७ वर्षे युवती सोविता गौतमले पूर्व सभामुख ओन्सरी घर्ती मगरलाई भारी मतले पराजित गरिन् । त्यस्तै डा. तोसिमा कार्कीले बहालवाला मन्त्री पम्फा भुसाल र प्रदीप पौडेलले पनि हेभिवेट नेता ईश्वर पोख्रेललाई सजिलै पराजित गरेका छन् । एमालेका महासचिव शङ्कर पोख्रेलले पनि चुनाव हारेका छन् ।

त्यस्तै पूर्वप्रधानमन्त्री झलनाथ खनाल एमाले इलामका अध्यक्ष महेश बस्नेतसँग पराजित भएका छन् । रवि लामिछानेले त सबैभन्दा भारी मतान्तरले विजय हासिल गरेका छन् । हिजोसम्म अकल्पनीय लाग्ने शीर्षनेताहरूको लज्जास्पद हारले मुलुकमा एउटा ठूलो तरङ्ग पैदा भएको छ । मात्र ६ महिना पुरानो दल रास्वपाको प्रतिनिधिसभामा २० सांसद् हुनेछन् । गलत कुराको भण्डाफोर गर्न र सही कुरालाई मुखर गर्न धेरै सांसद् चाहिँदैन भन्ने कुरा नारयणमान बिजुक्छेले गत ३० वर्षदेखि अक्षुण्णरूपमा निर्वाह गर्दै आएको भूमिकाबाटै प्रष्ट हुन्छ । अझ खाडी मुलुकमा गएका ६० लाख युवाहरूले पनि मतदान गर्न पाएको भए त सुनामी नै आएको आभास हुन्थ्यो । रास्वपा यसैपटक पहिलो ठूलो दल बन्थ्यो । यो नाटकीय चुनावी परिणामबाट थप के सिद्ध भएको छ भने परिवर्तन ब्यालेटबाट नै सम्भव छ, बुलेट पड्काउनु पर्दैन ।

जनतामा परिवर्तनको तीव्र चाहना छ । हजुरबुबा र बुबापुस्ताका नेताहरूले यथाशीघ्र राजनीतिबाट सन्यास लिइदिउन् भन्ने कामना गरिरहेका छन् । जसरी जीवनमा कहिल्यै दोस्रो नभएका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले क्वानटम फिजिक्सको बेगवान युगको धुकधुकीलाई छामेर सक्रिय राजनीतिबाट सन्यास लिने सम्यक कर्ममा पनि प्रथम नै भएका छन् । अरू नेताहरूले पनि उनको पदचापलाई पछ्याउन् । युवाहरूको चाहना, सपना, विचार र लक्ष्य वृद्धहरूको भन्दा धेरै भिन्न हुन्छ । उनीहरूको भेषभूषा, सङ्गीत, नृत्य, संस्कृति, भाष्य सबै भिन्न हुन्छ । मूल कुरा त उनीहरू जेनरेसन वाइ पुस्ताका हुन् । जेनरेसन(वाइ पुस्ता भनेको सन् १९८० को सुरुदेखि १९९० को अन्त्यसम्ममा जन्मेका र कम्प्युटर र विद्युतीय प्रविधिमा सबैभन्दा बढी दख्खल राख्ने पुस्ता मानिन्छ । यो डिजिटलाइज्ड पुस्ता हो । डिजिटाइज्ड पुस्ताले सिङ्गो पृथ्वी नै आफ्नो हातमा बोकेर हिँडिरहेको छ । अधिकांस बूढो पुस्ताका नेताहरु जेनरेसन(वाइ पुस्ता, जस्तै बाबुराम भट्टराई र गगन थापा जस्तो डिजिटाइज्ड छैनन । अनडिजिटाइज्ड पुस्ताले अबको बेगवान समयको दु्रत परिवर्तन र युगचेतनालाई थेग्न सक्ने कुनै सम्भावना छैन ।

त्यसैले केही अपवादबाहेक विश्वका अधिकांश नेताहरू ४० वर्षको आसपासमा प्रधानमन्त्री वा राष्ट्रपति भएका छन । बिल क्लिन्टन, बाराक ओबामा, इमानुएल म्याक्रो, रिसी सुनाक, विपि कोइराला सबै यही उमेरमा भएका थिए । बेलायतका विलिएम पिट योङ्गरले त झन् २४ वर्षको कलिलो उमेरमा प्रधानमन्त्री भएर १८ वर्ष बेलायती राजनीति र समाजलाई अग्रगति प्रदान गरेका थिए । सन् २०१९ मा साना म्यारिन पनि ३४ वर्षको उमेरमा फिनलेन्डको प्रधानमन्त्री भएर अहिले पनि सरकारको नेतृत्व गरिरहेकी छिन । तर हास्यास्पद के लाग्छ भने नेपालका तथाकथित राजनेताहरु भने रास्वपा र अरु दलका पनि युवा सांसदहरुलाई अनाडी भनेर खिसिटिउरी गर्दे आत्मरतिमा रमाउदै छन ।

अतः जनताको परिवर्तनप्रतिको प्रबलतालाई शिरमा राखेर अब देउवाले गगन थापाजस्ता नेतालाई प्रधानमन्त्री बनाएर आफू अभिभावकको भूमिकामा बस्नु नै उनको सम्मानजनक बर्हिगमन हुनेछ र मुलुकमा नयाँयुगको सूत्रपात हुनेछ । होइन, अङ्कगणितको भरमा अनेक तिकडम गरेर प्रधानमन्त्री नभइनछोड्ने हो भने त्यो नेपाली काङ्ग्रेस पार्टीको निम्ति आत्मघाती हुनेछ । संवत् २०८४ को आमनिर्वाचनमा हजुरबुबा र बुबापुस्ताका सम्पूर्ण नेताहरू धुलीसात हुनेछन् । रास्वपा सबैभन्दा ठूलो दल बन्नेछ । र, यसले सबैभन्दा ठूलो घाटा काङ्ग्रेसपार्टीलाई र बुबापुस्ताका नेतालाई हुनेछ किनकि त्यसपछि उनीहरूको पालो कहिल्यै आउने छैन ।

तर यसपटक रास्वपाले कुनै हालतमा पनि सरकारमा जानु हुँदैन । उनीहरूलाई जनताले सरकारमा जाने मतादेश दिएका होइनन् । उनीहरूले यो ५ वर्ष आफूलाई केवल खबरदारी गर्ने भूमिकामा समर्पित गर्नुपर्छ । त्यसको हिसाबकिताब मूलत डिजिटलाइज्ड, चेतनशील र परिवर्तनाकाङ्क्षी युवा पुस्ताले राख्ने नै छ । त्यसपछि माथि उल्लेख गरे अनुुुुुसार संवत् २०८४ को निर्वाचनमा जनताले निर्विवाद रूपमा रास्वपालाई वा आफ्नो भूमिकामा चुके अरू कुनै नयाँ दललाई सबैभन्दा ठूलो दल बनाउनेछन् । गगन थापा, विश्वप्रकाश शर्माहरूले काङ्ग्रेस पार्टीमा चुनौती दिएजस्तै नेकपा (एमाले), माओवादी केन्द्रमाहरूमा समेत मुलुक, पार्टी र आफ्नो उज्वल भविष्यलाई सुनिश्चित गर्न युवा पुस्ताको शक्तिशाली हस्तक्षेप अपरिहार्य भएको छ । देउवा, ओली, नेपाल, प्रचण्डहरूले समय छँदै विवेक पु¥याउन् ।