धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईले बजेट पारेर वर्षको अन्तिममा मात्रै काम सुरु गर्ने चलनको विरोध गर्दै आएका छन् । उनले सामाजिक सञ्जालमा यस्तो चलनको अन्त्य गर्नु पर्ने भन्दै त्यसको नेतृत्व आफूले गर्ने उल्लेख गरेका थिए । स्वतन्त्ररूपमा निर्वाचित राईले विकासका काममा विगतमा जस्तो ढिलासुस्ती नगर्लान्, समयमै बजेट निकासा गरी काम अघि बढाउलान् भन्ने नगरवासीको स्वभाविक रूपमा अपेक्षा थियो । किनभने उनी यस्तै ढिलासुस्तीको विरोध गरेर चर्चामा आएका थिए । विभिन्न क्षेत्रमा हुने गरेका अनियमितता र ढिलासुस्तीविरुद्ध आन्दोलन गरेका उनले आफू नेतृत्वमा आएपछि त्यस्ता काममा पक्कै परिवर्तन ल्याउँछन् भन्ने आम नगरवासीको आशा थियो । तर, उपमहानगरपालिकामा उनले नेतृत्व गरेको पाँच महिना पुग्दा पनि पहिलेभन्दा खासै अन्तर देखिन सकेको छैन । पाँच महिना भनेको एउटा आर्थिक वर्षको झन्डै आधा समय हो । त्यस हिसाबले पनि यो समयमा एक वर्षका लागि विनियोजन गरिएको बजेटमध्ये करिब ४० प्रतिशत खर्च हुनुपर्ने हो । तर, हालसम्म उपमहानगरपालिकाले पुँजीगत खर्च २० प्रतिशत मात्र गरेको छ । त्यो २० प्रतिशतको पनि आधा बजेट त गतवर्षको भुक्तानीमा खर्च भएको उपमहानगरपालिकाको तथ्याङ्कमा उल्लेख छ । यो अघिल्लो वर्षभन्दा खासै फरक अवस्था होइन ।

उपमहानगरले धरानको विकास निर्माणका लागि चालु आर्थिक वर्षमा पुँजीगततर्फ कुल ६५ करोड ९९ लाख ४१ हजार ३८ रुपैयाँ विनियोजन गरेको थियो । त्यसमध्ये चालु आर्थिक वर्षको ५ महिनामा १३ करोड ३४ लाख ५९ हजार २७ रुपैयाँ मात्रै खर्च भएको उपमहानगरको तथ्याङ्क छ । यो कुल विनियोजित बजेटको २० दशमलव २२ प्रतिशत हो । यसले विकासमा दीर्घकालीन असर पर्ने निश्चित छ । उपमहानगरको यो खर्च गराईलाई अर्थविज्ञहरूले पनि राम्रो मानेका छैनन् । यसको असर आम नागरिकसम्म पर्छ । त्यसैले राजनीतिक दलहरूले समेत यो विषयमा चासो देखाउनु आवश्यक छ । अहिलेबाटै बजेटमा परेका विकास निर्माणका काम सुरु गर्ने हो भने अझै पनि बजेटको यो अवस्थामा केही सुधार ल्याउन सकिने ठाउँ छ । अन्यथा धरानको विकास झनै पछाडि पर्नेछ । आर्थिक वर्षको पाँच महिनासम्ममा २० प्रतिशत मात्र पुँजीगत खर्च हुनु भनेको फेरि पनि जेठ–असारमा खर्च हुने अवस्था सिर्जना हुनु हो । फेरि पनि असारे विकासलाई नै प्रश्रय दिने हो भने नेतृत्व परिवर्तन गरेर मात्र विकासमा परिवर्तन आउँदैन । नेतृत्वको विचार र कार्यशैलीमा पनि परिवर्तन आउन जरुरी छ । सडकमा भाषण गर्नु, सामाजिक सञ्जालमा ठूला–ठूला कुरा गर्नु, अरूले गरेका काममा खोट देखाउनु जति सजिलो हुन्छ, आफैले त्यसलाई व्यवहारमा उतार्नु धेरै फरक हुन्छ । तर, विकासको दूरदृष्टि र केही गर्छु भन्ने हुट्हुटी भएको व्यक्तिले गर्न असम्भव हुँदैन ।

धरान उपमहानगरपालिकाले विकासका काममा गर्ने खर्च अहिले पनि पुरानै शैलीमा र पुरानै गतिमा रहनु भनेको राजनीतिमा परिवर्तन आए पनि कार्यशैलीमा परिवर्तन नआएको सङ्केत हो । यसलाई सुधार गर्नु आवश्यक छ । अन्यथा विगतमा विकास भएन भन्नुको कुनै अर्थ रहँदैन । उपमहानगरका कर्मचारीको भरमा मात्र विकासको काम छाडेर विकास भएन भन्नु जनप्रतिनिधिहरूका लागि पनि लज्जाको विषय हो । त्यसैले विकास निर्माणका काम कसरी अघि बढाउने भन्ने विषयमा जनप्रतिनिधि र राजनीतिक दलहरूले पनि चासो लिएर खोजी गर्नुपर्छ । अनि आम नगरवासीले पनि विकास निर्माणमा भइरहेको सुस्तताको विरोधमा आवाज उठाउनु जरुरी छ ।