धरान । बेलायतस्थित नेपाली प्रतिभा प्रतिष्ठानले यस वर्षको ‘प्रतिभा सम्मान’ वरिष्ठ गायक तथा सङ्गीतकार दीप श्रेष्ठ र ‘प्रतिभा पुरस्कार’ कवि सुदीप पाख्रिनलाई दिने भएको छ ।
गायक श्रेष्ठलाई नगद ५० हजार रुपैयाँसहित प्रतिभा सम्मान र कवि पाख्रिनलाई नगद एक लाख रुपैयाँसहित प्रतिभा पुरस्कार प्रदान गर्न लागिएको प्रतिष्ठानले जनाएको छ ।
धरानबाट सङ्गीतकर्म सुरु गरेका गायक श्रेष्ठले २०२५ साल पुस ३ गते नेपालमा पहिलो गीत रेकर्ड गरेका थिए । उनले भारतको इलाहवादबाट सङ्गीतमा स्नातक गरेका छन् । युवा कवि पाख्रिन पनि लामो समयदेखि साहित्यमा सक्रिय छन् । आगामी चैतको दोस्रो साता धरानमा एक कार्यक्रम गरी सम्मान र पुरस्कार प्रदान गरिने प्रतिष्ठानले जनाएको छ ।