सहकारीका नाममा देखिएका विकृतिहरू एकपछि अर्को गर्दै सार्वजनिक भइरहेका छन् । सहकारी संस्थाको आवरणमा ठगी, अवैध धन्दा सञ्चालन भइरहेका छन् । थोरै थोरै पुँजी बचत गरिरहेका आमनागरिक सहकारीबाट दिनदहाडै ठगीमा पर्दासमेत राज्यले गम्भीरता देखाउन नसक्नु विडम्बना हो । संविधानले नै स्थानीय तहलाई सहकारीको दर्तादेखि खारेजीसम्मका अधिकार प्रदान गरेको छ । तर, स्थानीय तहहरू राजनीतिक प्रभावमा पर्ने हुँदा सहकारीलाई राम्रोसँग नियमन गर्न सकिरहेका छैनन् । ठूला सहकारीको नियमन प्रदेश सरकार र सङ्घीय सरकारको कार्यक्षेत्रमा पनि पर्छन् तर, स्थानीयदेखि सङ्घीयसम्मका तीनै तहका सरकारले सहकारीका बदमासी नियन्त्रण गर्न सकेका छैनन् । सहकारी संस्थामा भइरहेको गलत कामलाई कानूनी दायरामा ल्याउन नसक्नु राज्यपक्षको कमजोरी हो । प्रायः सहकारी संस्थाहरूसँग राजनीतिक व्यक्तिहरू जोडिने गरेका छन् । धेरैजसो सहकारी त सीमित २–४ व्यक्ति मिलेर कागजी प्रक्रिया मिलाई सञ्चालन गरिरहेका हुन्छन् । त्यस्ता सहकारीहरू ठगी गर्नेहरूमा अगाडि छन् । धरानकै वराह बचत, श्रेया, भविष्य, सयपत्री, सल्लेरी लगायतका दर्जनौं सहकारीले सर्वसाधारण बचतकर्ताको अर्बौं रकम डुबाइसकेका छन् । यीमध्ये अधिकांश सहकारीका सञ्चालक कानूनी कारबाहीको दायरामा आउन सकेका छैनन् । यो क्रम काठमाडौं, विराटनगरदेखि देशैभर देखिन्छ ।
सहकारीकै आवरणमा विराटनगरमा एक सर्वसाधारणको करोड मूल्य पर्ने जग्गा अर्कैको नाममा पास भएपछि उनी बिचल्लीमा परेका छन् । विराटनगर–१३ का लखनलाल मण्डल आफ्नो १७ धुर जग्गा आफूलाई थाहै नदिई अर्कैको नाममा पास भएपछि हारगुहार गर्दै विराटनगर उपमहानगरपालिका र प्रहरी कार्यालय धाइरहेका छन् । उनले दिएको उजुरीअनुसार २०६८ सालमा तत्कालीन न्यू जनता बचत तथा ऋण सहकारीबाट सोही जग्गा राखेर ६८ हजार रुपैयाँ ऋण लिएका थिए । उक्त सहकारीका प्रबन्धक रहेका राजु शर्मा घतानीलाई ब्याजबापत ६ लाख रुपैयाँसमेत बुझाइसकेको मण्डलले उल्लेख गरेका छन् । तर, प्रबन्धक घतानीले ब्याजबापतको रकमसमेत सहकारीमा नबुझाई उल्टै मण्डलको जग्गा आफ्नी श्रीमती सिर्जना खातीको नाममा २०७६ माघ १९ मा पास गरेको प्रमाण फेला परेको छ । हाल प्रबन्धक घतानीको निधन भइसकेको छ भने सहकारीको नामसमेत परिवर्तन गरेर नेपाल सहकारी संस्था बनाइएको छ । हाल करोडको हाराहारी मूल्य पर्ने सो जग्गा फिर्ता पाउन विभिन्न निकाय धाइरहेका छन् मण्डल । लेखपढ गर्न नजान्ने सर्वसाधारण सहकारीका कर्मचारीबाट कसरी ठगिइरहेका छन् भन्ने उदाहरण मण्डललाई लिन सकिन्छ । यो घटनामा सहकारीका प्रबन्धक एक्लैले मण्डलको जग्गा हत्याउन मुस्किल छ । त्यसैले मिलेमतो गर्ने अन्यको पनि खोजी हुनु आवश्यक छ । सहकारीका सञ्चालक तथा कर्मचारीहरू, उनी, श्रीमतीलगायत मिलेमतोमा संलग्न अन्यलाई पनि कारबाही गरिनु पर्छ ।
पछिल्लो समय बाहिर आएको घटना मात्र हो यो । सहकारीहरूबाट मण्डल जस्ता धेरै सर्वसाधारण ठगिएका छन् । लेखपढ गर्न नजान्ने र सोझासिधा नागरिकहरू ठगिइरहँदा स्थानीय सरकारहरूले सचेतना जगाउन सकेका छैनन् । त्यसो त सहकारीहरू आफैले सहकारी शिक्षा दिनुपर्ने व्यवस्था छ तर, धेरैजसो सहकारीले आमबचतकर्तालाई सहकारीबारे स्पष्ट जानकारी दिने गरेका छैनन् । सहकारीहरू सीमित व्यक्तिको कमाइखाने धन्दा बन्नु हुँदैन । थोरै आम्दानी हुने सर्वसाधारणले पनि बचत गरेर सहकार्यमार्फत् केही गर्न सकुन् भन्ने उद्देश्यले आएको सहकारीको अवधारणा चरम् दुरुपयोग भइरहेको छ । सरकारले सहकारीका नाममा ठगिएका पीडितहरूलाई कुनै राजनीतिक पक्षपोषण नगरी न्याय दिनुपर्छ अनि सहकारीमा भइरहेका विकृति हटाउन चाँडै ठोस कदम चाल्नु जरुरी छ ।