धरान । धरानस्थित पिण्डेश्वर विद्यापीठको ७१ औं वार्षिकोत्सव सप्ताहव्यापीरूपमा मनाइएको छ ।
विद्यापीठका प्राचार्य काशीनाथ पौडेलको सभापतित्व र नेपाल संस्कृत विश्वविद्यालयका पूर्व शिक्षाध्यक्ष पुरुषोत्तम भट्टराईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विद्यापीठबाट हालै अवकाशप्राप्त प्रा.डा. चन्द्रमणि नेपाल, प्रा.डा भरतप्रसाद भट्टराई र कर्मचारी डम्बरबहादुर तामाङलाई सम्मानसहित बिदाइ गरिएको थियो ।
त्यस्तै विद्यापीठमा कार्यरत सह–प्राध्यापक टेकनाथ घिमिरेलाई सम्मान गरिएको थियो । यसै क्रममा विद्यापीठद्वारा प्रदान गरिने ‘पिण्डेश्वर श्री’ पुरस्कार छात्र घनश्याम भण्डारीलाई प्रदान गरिएको थियो भने वर्षभरिका शैक्षिक गतिविधिमा उत्कृष्ट विद्यार्थीहरूलाई विभिन्न दाता महानुभावहरूबाट स्थापित नगद पुरस्कारहरू प्रदान गरिएको थियो ।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा पिण्डेश्वर विद्यापीठ विकास समितिका अध्यक्ष गोविन्द तिम्सिना, भाषाविद् प्रा.डा.टङ्कप्रसाद न्यौपाने तथा अतिथिहरूमा नेपाल संस्कृत विश्व विद्यालय कर्मचारी सङ्घका केन्द्रीय उपाध्यक्ष भेषबहादुर निरौला, नेपाल संस्कृत विश्वविद्यालय प्राध्यापक सङ्घका केन्द्रीय सचिव सह–प्राध्यापक डा.भवानीशङ्कर भट्टराई, पूर्वप्राचार्यहरू प्रा.डा.चन्द्रमणि नेपाल र सह–प्रा.डा.रमेश घिमिरे, विद्यापीठमा विभिन्न पुरस्कार स्थापना गर्ने दाता तथा परिवारका सदस्यहरूमा निलम भट्टराई, कमला भट्टराई र सरिता दाहाल लगायतको उपस्थिति रहेको थियो ।