विराटनगर । विराटनगरस्थित कोसी अस्पतालमा बन्न लागेको पाँच सय शय्याको आठ तले मेडिकल भवनको शिलान्यास भएको छ ।

२ अर्ब  १७  करोड ६६ लाख २० हजार २ सय ८३ रुपैयाँ लागतमा निर्माण हुनलागेको आठ तले भवनको शिलान्यास बिहीबार गरिएको हो ।  उक्त भवनको शिलान्यास सहरी विकास मन्त्री मेटमणि चौधरी र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानीप्रसाद खापुङले संयुक्तरूपमा गरे ।

सहरी विकास तथा भवन निर्माण विभागले मूल्य अभिवृद्धि करबाहेक २ अर्ब १७ करोड ६९ लाख ९२ हजार २ रुपैयाँ १३ पैसामा कुल लागत अनुमान गरेकोमा ठेकेदार कम्पनी केसी कन्स्ट्रक्सन काठमाडौंले ३ लाख ७१ हजार ७ सय १९ रुपैयाँ कम लागत २ अर्ब १७ करोड ६६ लाख २० हजार २ सय ८३ रुपैयाँमा  ठेक्का लिएको हो ।

तीन वर्षमा काम सम्पन्न गर्ने गरी ठेकेदार कम्पनीले काम सुरु गर्ने सङ्घीय आयोजना कार्यान्वयन एकाइ विराटनगर मोरङका प्रमुख गणेशबहादुर महर्जनले जानकारी दिए । समयमै गुणस्तरीय काम सक्ने गरी दृढ सङ्कल्पको साथ काम गरिनुपर्नेमा उनले जोड दिए । कोसी अस्पतालको शिलन्यास भएको मेडिकल भवनको निर्माण पूरा भएर सञ्चालनमा आएपछि कोसीको एक हजार शय्याको हुनेछ । अहिले कोसीमा साढे ३ सय शøयामा सञ्चालन रहेको छ । 

यसअघि एक वर्षअगाडि शिलान्यास भएर निर्माण सुरु भएको पाँचतले भवन निर्माणको काम रोकिएको छ । ठेकेदार कम्पनी रमन भूमि, बि.आई.पि.एल. जेभी सम्पर्कविहीन भएपछि चार महिनादेखि काम रोकिएको हो ।

पाँच तलाको भवन ३३ करोड २२ लाख ४८ हजार ९ सय ११ रुपैयाँ ३३ पैसामा ठेक्का लिएको थियो । उक्त जेभीले ठेक्का पाएपछि वि.सं. २०७८ असार २३ गते सङ्घीय आयोजना कार्यान्वयन एकाइसँग सम्झौता गरेपछि २१ असोजमा तत्कालीन स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई ल्याएर शिलान्यास गरिएको थियो ।

कस्तो बन्छ ५ सय शय्याको मेडिकल भवन ?
आठ तालाको बन्न लागेको कोसी अस्पतालभित्रको मेडिकल भवन पाँचसय शय्याको हो । दुई तलाको अण्डरग्राउण्ड पार्किङ रहनेछ । पहिलो अण्डरग्राउण्ड पार्किङमा ३४ वटा कार, ७७ वटा मोटरसाइकल र मेडिकल स्टोर रहनेछन् । त्यस्तै पहिलो अण्डरग्राउण्ड पार्किङमा २५ वटा कार, ८५ वटा बाइक र मेडिकल कोठा हुनेछ ।

यस्तै ग्राउण्ड फ्लोरमा रजिष्ट्रेशन, रोडियोलोजी, ब्लड बैङ्क, ल्याव, फार्मेसी र जेनेरल स्टोर रहनेछ । पहिलो तलामा पिसिआई, एनआइसियु वार्ड र बच्चाको वार्ड रहनेछ । यो वार्डमा ९१ शय्याको रहनेछ ।

यस्तै दोस्रो तलामा ९१ शøयाको अर्थोपेडिक वार्ड रहेको छ । तेस्रो तलामा ९१ शय्याको मेडिकल वार्ड रहनेछ । यस्तै चौथो तलामा १ सय ३ शøयाको ट्रमा सर्जिकल वार्ड रहनेछ । जसमा आँखा, नाक–कान–घाँटी, डेन्टल र जेनेरल सर्जरी वार्ड रहनेछ ।

यसैगरी पाँचौं तलामा १ सय शøयाको ट्रमा सर्जिकल वार्ड रहेको छ । जसमा एसआइसियु, सिटिभिएस, न्यूरो सर्जरीलगायतका वार्ड रहनेछन् ।

यस्तै छैठौं तलामा ३० शøयाको शल्यक्रिया वार्ड रहनेछ । यहाँ ९ वटा मेजर शल्यक्रिया हुनेछ भने अन्य सामान्य शल्यक्रिया पनि यही वार्डमा हुनेछ । यो वार्डमा सिएसएसडी, पोस्टप वार्ड पनि रहनेछ । यसैगरी सातौं र आठौं तलामा सेमिनार र मिटिङ हल रहनेछ । आठ तलाको भवनमा ६ वटा लिफ्ट रहनेछ । डाक्टर र बिरामीको लागि छुट्टाछुट्टै लिफ्ट रहनेछ ।