महिलाहरूले आफ्नो प्रजनन् स्वास्थ्यको विषयमा खुलेर कुरा नगर्ने बानीले आज धेरै जसो महिलाहरू मूत्रनली सङ्क्रमणको पीडा भोग्न बाध्य भएका छन् । मूत्रनलीको सङ्क्रमण धेरैजसो पुरुषहरूमा भन्दा महिलाहरूमा बढी हुने गरेको देखिन्छ ।

धरानका सरिता राई लामो समयदेखि पिसाब सङ्क्रमणको रोगी हुन् । उनी भन्छिन्, ‘यस्तो रोग कसैलाई पनि नहोस्, धेरै गाह्रो हुन्छ ।’ यो रोगलाई सामान्य  मान्नु र लापरबाही गर्नुु हुँदैन, यस्तो रोगको सङ्क्रमणले प्रजनन् स्वास्थ्यमा ठूलो असर पु¥याउने सरिता बताउँछिन् । कल्पना गिरी सहकारी संस्थाको कार्यालयमा काम गर्छिन् । उनको छेउमा अन्य पसलहरू पनि छन् । सफा शौचालयको प्रयोग गर्नु पर्ने स्थितिमा भएको शौचालयको प्रबन्ध असाध्यै नराम्रो छ ।

नियमित सरसफाइ नभएकोले धेरै नराम्रो दुर्गन्ध आउने गरेको बताउँदै उनले भनिन्, ‘मलाई मेरो अफिसको  शौचालयमा जान नपरोस्जस्तो लाग्छ । अफिसको शौचालयमा पिसाब फेर्न जान  नपरोस् भनेर मैले दिनभरि पानी कम पिउने गरेकी छु ।’ तरल पदार्थको कमी र अव्यवस्थित शौचालयको अभावका कारण आफू मूत्ररोगी बन्नु परेको उनको गुनासो छ ।

त्यस्तै कल्पना गुरुङको मूत्रनली सङ्क्रकमणको छुट्टै अनुभव छ । उनी भन्छिन्, ‘सार्वजनिक शौचालयको प्रयोगले पनि पिसाब सङ्क्रमण हुँदो रहेछ भन्ने ज्ञान पाएँ ।’ उनले आफ्नो अनुभव सुनाउँदै भनिन्, ‘मैले एक पटक सार्वजनिक शौचालयमा पिसाब गरेको थिएँ, पिसाब फेरेको केही छिनपछि मेरो पिसाब पोलेर सहनै गाह्रो भयो, तुरुन्तै मेडिकलमा  गएर पिसाब जाँच गराउँदा पिसाबको इन्फेक्सन देखायो । त्यसैले पनि अहिले पिसाब आयो भनेर जथाभावी पिसाब गर्नुहुँदैन भन्ने ज्ञान भएको छ भने म अन्य साथीहरूलाई समेत पिसाब सङ्क्रमणको बारेमा सल्लाह दिन थालेको छु ।’

महिलाहरूले पिसाब गर्दा सचेत हुनु अति आवश्यक रहेछ भन्ने कुराको अनुभव भएको बताउँदै उनी भन्छिन्, ‘महिलाहरू बसेर पिसाब फेर्नुपर्ने भएकोले पनि पुरुषको तुलनामा महिलाहरूलाई  पिसाबको सङ्क्रमण हुने सम्भावना बढी भएको उनको भनाइ छ ।

पिसाब गर्न गयो भने अलिकता मात्र पिसाब आउँछ । तर, पिसाब गरेर उठेपछि फेरि आउलाजस्तै हुन्छ । पिसाब फेरेपछि पोल्ने पीडा त झनै गाह्रो हुन्छ  । यस्तो बेलामा प्रजनन् स्वास्थ्यमा धेरै समस्या हुन्छ भन्छिन् कमला तामाङ ।  ‘डाक्टरलाई देखायो पिसाबमा सङ्क्रमण भएको बताएर औषधि लेखिदिन्छन् । औषधिले केही दिन ठीक हुन्छ तर, तीन–चार महिनापछि फेरि दोहोरिने गरेको छ’–उनी भन्छिन् ।

त्यस्तै  शर्मिला तामाङ पनि मूत्रनली सङ्क्रमणको रोगी हुन् । उनी भन्छिन्, ‘यो रोग लाग्दा धेरै पीडा हुन्छ, पिसाब फेर्दा पोल्ने, चिलाउने, कामज्वरो आउने, पिसाब चुहिनेजस्ता समस्याले प्रजनन् स्वास्थ्यमा धेरै असर पु¥याउने रहेछ ।’  यसको उपचारको लागि तुरुन्तै अस्पताल जानु पर्ने उनी सुनाउँछिन् । ‘यसलाई सामान्य रोग सम्झिनु हुँदैन । मलाई घरिघरि पिसाब आएजस्तो हुने तर, पिसाब गर्न गयो एक–दुई थोपा मात्रै आउने अनि साह्रै पोल्ने पीडा भएको र  पिसाब गर्न गाह्रो हुन थालेपछि डाक्टरलाई देखाएँ, डाक्टरले औषधि लेख्नुभन्दा पहिला मेरो दिनचर्याबारे सोध्नुभयो, मेरो कुरा सुनेपछि डाक्टरले भने– तपाईंलाई औषघि दिनुभन्दा अघि दुई–चारवटा सल्लाह दिन्छु ।’

डाक्टरको सल्लाह यस्तो थियो– ‘सबैभन्दा पहिले त तपाईंले झोल पदार्थ बढी पिउने बानी गर्नुपर्छ । लामो समयसम्म पिसाबलाई च्यापेर नराख्नुस् । प्रायः महिलाहरू कति शौचालय गइरहने भनेर धेरै समयसम्म पिसाब च्यापेर बस्ने बानीले पनि उनीहरूलाई मूत्रनलीको सङ्क्रमण हुने गरेको पाइन्छ, त्यसैले शौचालय जान अल्छी मान्ने बानीलाई त्यागेर झोल पदार्थ (तर, विभिन्न किसिमका चिसो पेयपदार्थ होइन) सकेसम्म बढी पिएर केही दिनजति हेर्नुहोस् ।’

यस्तो सल्लाह दिएर पिसाब जाँच गराएर केही औषधि पनि दिए । ‘मैले डाक्टरले दिएको औषधिको प्रयोग गरेँ साथै डाक्टरको सल्लाह अनुसार प्रशस्त मात्रामा पानी, मोही, लस्सीलगायतका झोल पदार्थ पिउने बानी गरेपछि अहिले केही आराम भएको छ भने पिसाब पोल्ने समस्याबाट त मुक्त भएकोले खुसी लागेको छ’ –उनले भनिन् ।

यी घटनाहरू मूत्रनली सङ्क्रमणसँग सम्बन्धित छन् । मूत्रनलीको सङ्क्रमण हुनुको कारणमध्ये पहिलो प्रशस्त मात्रामा झोल पदार्थ नपिउनु हो भने दास्रो  लामो समयसम्म महिलाहरूले पिसाबलाई च्यापेर बस्नु पनि हो ।

विश्वभरिका महिलाहरूमध्ये १५ प्रतिशत महिलाहरू जीवनमा कुनै न कुनैबेला मूत्रनली सङ्क्रणबाट पीडित हुन्छन् । केही अध्ययनहरूले वयस्क महिलाहरूमध्ये २० प्रतिशत महिलाहरू पिसाब गर्दा दुख्ने, पोल्ने र ज्वरो आउने जस्ता समस्याबाट पीडित हुन्छन् भन्ने देखाएको  छ ।

पुरुषहरूको तुलनामा महिलाहरू नै यस समस्याबाट बढी  पीडित हुने हुनाले यसलाई महिलाहरूको व्यथा भन्ने गरेको पनि पाइन्छ ,।
प्रजनन् अङ्गका विभिन्न सङ्क्रणहरूमध्ये मूत्रनलीको सङ्क्रमण अत्यन्तै धेरै हुने गरेको छ । नेपालमा कतिजनालाई यो रोग हुन्छ भन्ने तथ्याङ्क नभए पनि धेरै महिलाहरूलाई यो समस्या हुन्छ भन्ने कुरा मूत्ररोग विशेषज्ञहरूको पनि भनाइ रहेको छ ।

स्थानीय सरकारले पनि महिलाहरूको स्वास्थ्यको क्षेत्रमा धेरै काम गर्दै आइरहेकोे धरान उपमहानरपालिका जनस्वास्थ्य शाखाका प्रमुख उमेश मेहता बताउँछन् । अहिले स्थानीय वडा कार्यालयहरूमा महिलाहरूको स्वास्थ्यको क्षेत्रमा बजेटहरू पनि छुट्याइएको हुन्छ । तर, अझै पनि प्रभावकारी बन्न सकेको भने छैन । त्यसैले महिलाहरू स्वयम्ले पनि यसतर्फ विशेष ध्यान दिनु आजको आवश्यकता देखिएको  जनस्वास्थ्य शाखा प्रमुख उमेश महेताले बताउँदै भने, ‘महिलाहरूले आफ्ना रोगहरू लुकाएर राखेका कारण पनि धेरैजसो महिलाहरू जोखिमपूर्ण जीवन बिताउन बाध्य भएका छन् ।’

स्थानीय सरकारले महिलाको प्रजनन् स्वास्थ्य, पाठेघर, स्तन रोग, फिस्टुला, मूत्रनली सङ्क्रमण, गर्भवती महिला, सुत्केरी महिलालगायत महिलाहरूका विभिन्न रोगहरूमा निःशुल्क रूपमा विभिन्न सेवा सुविधा दिँदै आइरहेको छ तर, सेवा लिन आउने महिलाहरूको सङ्ख्या भने कम रहेको जनस्वास्थ्य प्रमुख मेहता बताउँछन् ।

महिलाहरू आफै पनि आफ्नो रोगको सवालमा खासै सचेत छैनन् । उनीहरू रोगको अन्तिम चरणमा पुगेपछि मात्रै सेवा लिन अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्रतिर जाने गरेको पाइन्छ । स्वास्थ्यकर्मी दीपा अधिकारी महिलाहरू सेवा लिन स्वास्थ्य केन्द्रमाभन्दा बढी  स्वास्थ्य शिविरहरूमा आउने गरेको बताउँछिन् । आफ्नो प्रजनन् स्वास्थ्यको सवालमा महिलाहरू खासै सचेत नभएका कारण प्रजनन् अङ्गका रोगी बनेका छन् ।

पिसाब सङ्क्रमण, पिसाब चुहिने समस्या, स्तनरोगको समस्या, आङ खस्ने, असुरक्षित गर्भपतनलगायत विभिन्न रोगहरूबाट महिलाहरू  पीडित भएका छन् । तर, पनि स्वास्थ्य क्षेत्रमा अझै सचेत बनेको अवस्था छैन । महिलाहरूका विभिन्न रोगहरूमध्ये मूत्रनली सङ्क्रमण पनि एक हो । यसलाई ध्यान नदिँदा अन्य रोग पनि फैलिँदै जाने सम्भावना रहेको स्वास्थ्यकर्मी दीपा अधिकारी बताउँछिन् । समयमा उपचार गराए मूत्ररोगको सजिलै उपचार हुन सक्छ ।
मूत्ररोग महिलाहरूमा मात्रै किन बढी ?
महिलाहरूको मूत्रनली पुरुषहरूको तुलनामा सानो हुने हुनाले यदि केही साधारण कुरामा पनि ध्यान नदिने हो भने मूत्रनलीमा सङ्क्रमण हुन सक्छ । यस्तो बेलामा कीटाणुले सङ्क्रमण गर्छ र मूत्रनलीमा पोलेको जस्तो अनुभव हुन्छ । महिलाहरू लामो समयसम्म पिसाब च्यापेर बस्ने, पिसाब बढी आउँछ भन्ने डरले पानी नपिउने गर्नाले पिसाब सङ्क्रमण हुनजान्छ । त्यसैले पानी बढी नपिउने, व्यक्तिगत सरसफाइको कमी, त्यस्तै प्रजनन् अङ्गको सरसफाइमा ध्यान नदिँदा मूत्रनलीमा सङ्क्रमण हुनसक्छ ।  त्यस्तै भिजेको कट्टु तुरुन्तै फेर्ने बानी बसाल्नु पर्छ । महिलाहरूको शारीरिक बनावटअनुसार गुदा र मूत्रद्वारा निक्कै नजिक हुन्छ । यदि दिसा गरिसकेपछि पानीले सफा गर्दा राम्रोसँग सफा गरिएन भने पनि सङ्क्रमण हुनसक्छ । त्यसैगरी महिनावारी हुँदा प्रयोग गरिने कपडा सफा र स्वच्छ छैन भने पनि मूत्रनलीको सङ्क्रमण हुने सम्भावना हुन्छ । खासगरी गाउँघरका महिलाहरूमा यो समस्या बढी देखिन्छ । सरसफाइ मूत्रनलीको सङ्क्रमणबाट जोगिने एउटा राम्रो उपाय हो । 

सङ्क्रमणका लक्षणहरू
सबैभन्दा पहिलो लक्षण त पिसाब फेर्दा पोल्ने हुन्छ । पिसाब नलीमा धेरै सङ्क्रमण भएको छ भने पोल्नेबाहेक अन्य समस्या पनि देखिन्छ । जस्तैः वाक्वाकीजस्तो लाग्ने, ढाड दुख्ने, ज्वरो आउने, कामेको जस्तो हुने र कहिलेकाहीँ पिसाबमा रगत देखिने पनि हुन सक्छ ।  यो अवस्था चाहिँ गम्भीर रोगको सङ्केत भएकोले यस्तो अवस्था आउना साथ तुरुन्तै डाक्टरको सल्लाह लिनु पर्दछ । यसरी हेर्दा साधारणजस्तो लाग्ने पिसाबको सङ्क्रमणले पछि ठूलो समस्या उत्पन्न गर्न सक्छ । त्यसैले सचेत हुनु आवश्यक छ ।

रोकथामको उपाय
सबैभन्दा पहिला महिलाहरूले दिनभरि प्रशस्त पानी पिउनु पर्छ । प्यास लाग्दा मात्र पानी पिउने होइन कि प्यास नलाग्दा पनि पानी पिइरहनु पर्छ । पिसाबलाई बढी च्यापेर नराख्ने, कहिकाहीँ अलिअलि पिसाब पोलेजस्तो हुन थाल्यो भने पानीको मात्रा बढाउनु पर्छ ।
शौचालय जाँदा सरसफाइमा विशेष ध्यान दिनु आवश्यक छ । साथै महिनावारीको बेलामा प्रयोग गरिने कपडा महँगो होइन, सफा र सुतीको हुनुपर्छ । यस्तो कुरामा महिलाहरूले ध्यान दिए मूत्रनली सङ्क्रमणबाट धेरै हदसम्म बच्न सकिन्छ । त्यसैले आफू पनि बच्न र अरूलाई पनि बचाउन आपसमा जानकारी दिई सहयोग गर्नु आजको आवश्यकता देखिन्छ ।