विराटनगर । विराटनगरस्थित कोसी अस्पताल विकास समितिको बैठक दुई महिनादेखि नबस्दा करारमा नियुक्त भएका १ सय २५ जना कर्मचारीले तलब नपाएको दुई महिना भएको छ ।

दुईवटा विकास समिति रहेको कारणले दुई महिनादेखि बैठक नबस्दा कर्मचारीहरूले तलब नपाएका हुन् । कोसी अस्पतालको निमिक्त मेसु भएका डा. लक्ष्मीनारायण यादव आएपछि विकास समितिको बैठक बसेको छैन । विकास समितिको बैठकले करारमा नियुक्त भएका कर्मचारीको म्याद थप गरेपछि कारारका कर्मचारीले तलब पाउने व्यवस्था रहेको छ ।

कोसीमा दुईवटा विकास समिति रहेको र आन्तरिक विवादको कारणले बैठक बस्न सकेको छैन । तत्कालीन स्वास्थ्यमन्त्री भानुभक्त ढकाल रहँदा महेश भट्टराईलाई कोसी अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त गरिएको थियो । भट्टराई नेतृत्वको समितिको कार्यकाल बाँकी रहँदै नयाँ समिति नियुक्ति भयो ।

सरकार परिवर्तन भएर आएपछि भवानी खापुङ स्वास्थ्यमन्त्री रहँदा भट्टराई नेतृत्वको विकास समितिलाई हटाएर एकीकृत समाजवादीका भीष्मजङ कार्कीलाई विकास समितिको अध्यक्षमा नियुक्ति गरियो । पछि भट्टराई नेतृत्वको समितिको कार्यकाल रहँदै पदबाट हटाएको भन्दै सर्वोच्चमा मुद्दा प¥यो । सर्वोच्च अदालतले पुरानै समितिलाई मान्यता दिन अन्तरिम आदेश जारी गरेको छ ।

तत्कालीन मेसु डा. यज्ञराज खरेल निमित्त मेसु भएर अस्पताल आएपछि सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेर आएको समितिलाई आधिकारिक मान्दै बैठकमा बोलाएर काम कारबाही अगाडि बढाए । कार्की नेतृत्वको विकास समितिलाई तत्कालीन मेसु खरेलले बाइपास गरेर काम कारबाही अगाडि बढाएको आरोप लागेपछि उनलाई जिम्मेवारीबाट हटाइयो ।

एकीकृत समाजवादीका मन्त्रीको भागमा परेको स्वास्थ्यमन्त्रीले केन्द्रीय र स्थानीय नेताहरूको दबावमा नयाँ मेसु नियुक्त गरे । १६ भदौमा अस्पतालका १० औं तहका फिजिसियन डा. लक्ष्मीनारायण यादव निमित्त मेसु नियुक्त भएर आए । उनी मेसु भएर आएपछि अस्पताल विकास समितिको बैठक बस्न सकेको छैन ।

‘अदालतको अन्तरिम आदेश लिएर आएको पुरानो विकास समितिलाई बैठकमा बोलाएर निर्णय गर्दा बहालवाला स्वास्थ्यमन्त्रीको पार्टी एकीकृत समाजवादीका स्थानीय नेताहरू रुष्ट भएर पदबाट हटाउने हुन् कि भन्ने डर मेसुलाई रहेको छ । यसअघिका मेसु पुरानो समितिलाई आधिकारिक मान्दै काम गर्दा जिम्मेवारीबाट हटाएर नयाँलाई दिइएको थियो । अहिले आएका मेसुले भट्टराई नेतृत्वको समितिलाई बैठकमा बोलाउँदा कार्की नेतृत्वको विकास समिति रिसाउने डरको कारणले बैठक बस्न नसकेको हो’–अस्पतालका एक सिनियर चिकित्सकले भने ।

मेसु यादव अहिले दुवै विकास समितिलाई मिलाएर अगाडि बढाएर लैजाने लाइनमा रहेका छन् । बिहीबार कोसी अस्पतालको ५ सय शøयाको मेडिकल भवनको शिलान्यास कार्यक्रममा दुवै विकास समितिका अध्यक्षलाई अतिथिको लागि बोलाएका थिए । कार्की कार्यक्रममा उपस्थित भए भने भट्टराई ढिलो खबर भएको भन्दै कार्यक्रममा सहभागी भएनन् । कार्यक्रमको सञ्चालन गरेकी मञ्जु यादवले मञ्चमा दुवै अध्यक्षलाई आसन ग्रहणको लागि बोलाएकी थिइन् ।

ओपिडी बन्द गरी आन्दोलन
विराटनगर । विराटनगरस्थित कोसी अस्पतालमा कार्यरत विकास समितिको करारमा नियुक्त भएका चिकित्सकसहित १ सय २५ जना कर्मचारीहरूले तलब नपाएपछि अस्पतालको ओपिडी सेवा एकघण्टा बन्द गरेर आन्दोलन गरेका छन् ।

आन्दोलनको कार्यक्रम अन्तर्गत उनीहरूले आइतबार बिहान एक घण्टा अस्पताल प्रशासनअगाडि धर्ना दिएका छन् । बिहान १० बजेदेखि ११ बजेसम्म ओपिडी सेवा बन्द गरेर विरोध गरेका हुन् । विकास समितिको करारमा नियुक्त भएका ३० जना चिकित्सक,  १६ जना स्टाफ नर्स, १० जना हेल्थ असिष्टेण्ट, १७ जना अनमि, ६ जना फार्मेसी सहायक, ६ जना ल्यावटेक्निसियन, ४० जना कार्यालय सहयोगी, २ जना खरिदार, २ जना मुखिया, २ जना चालकसहित १ सय २५ जना कर्मचारीले कात्तिक र मङ्सिर महिनाको तलब नपाएको भन्दै आन्दोलनमा उत्रिएका हुन् ।

दुई महिना बितिसक्दा पनि विकास समितिको करारमा नियुक्त भएका स्वास्थ्यकर्मी र कर्मचारीहरूले तलब नपाएपछि बाध्य भएर आन्दोलनमा उत्रिएको अस्पतालका फिजिसियन डा. रोशन खड्काले बताए । ‘काम गरेको दुई महिना पूरा भइसक्यो । अहिलेसम्म तलब पाएको छैन । करारमा नियुक्त भएका कर्मचारीले तलब नपाएपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको छ’ उनले भने, ‘आइतबार साङ्केतिकरूपमा आन्दोलनमा उत्रिएका छौं ।’ तत्काल तलब पाउने व्यवस्था अस्पतालका मेसुदेखि प्रशासनले नबनाए चरणबद्ध आन्दोलनको कार्यक्रम पनि सार्वजनिक गरिएको उनले बताए ।

चिकित्सकहरूले चरणबद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेका थिए । अस्पतालका मेसु डा. लक्ष्मीनारयण यादव बिदामा भएकोले उनीहरूले केही दिनको लागि आन्दोलनको कार्यक्रम स्थगित गरेका हुन् । सोमबार र बुधबार गर्ने भनिएको आन्दोलनको कार्यक्रम तत्कालको लागि स्थगित गरिएको डा. खड्काले बताए । ‘मेसु बिदामा रहेकोले केही दिनको लागि हामीले आन्दोलन स्थगित गरेका छौं’ उनले भने, ‘मेसु आएपछि कर्मचारीले तलब पाउने व्यवस्था तत्काल नभए आन्दोलनमा उत्रिनेछौं ।’ अस्पतालले विगत सात वर्षदेखि स्वास्थ्यकर्मीहरूलाई प्रोत्साहन भत्ता दिएको छैन । ‘भत्ता पाउनु त परको कुरा भयो । काम गरेको सेवा सुविधा लिन पनि आन्दोलनमा उत्रिनुपर्ने अवस्था आएको छ’–उनले भने ।