धनकुटा । धनकुटामा १ नम्वर प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी एवं धनकुटा महोत्सव २०७९ हुने भएको छ ।
उधोग वाणिज्य संघ धनकुटाको आयोजनामा आगामी माघ ६ गते देखि १६ गतेसम्म १० दिने १ नम्वर प्रदेश स्तरीय धनकुटा महोत्सव हुने भएको हो ।
धनकुटा उद्योग बाणिज्य संघ धनकुटाले महोत्सव आयोजना बारे आईतवार पत्रकार सम्मेलन गरेर यस्तो जानकारी दिएको हो । १० दिने महोत्सवमा स्थानीय उद्योगहरु र बहुराष्ट्रिय कम्पनी तथा उद्योगहरुले उत्पादन गरेका समाग्रीहरु,हस्तकलाका सामाग्रीहरु, कृषि तथा पशुजन्य खाद्य वस्तुहरु, स्थानिय उत्पादित् सामाग्रीहरु फलफुलहरु प्रर्दशनीमा राखिने छन ।
साथै, महोत्सवलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नको लागि स्थानीय देखी राष्ट्रिय स्तरका कलाकारहरुको गित संगितको प्रस्तुती रहने छ भने जातिय भेषभुषा तथा झाँकीहरु समेत प्रर्दशन गरिनेछ । महोत्सवमा जातिय परिकार तथा नेपाली खानाका परिकारहरु समेत राखिने उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष विजय सन्तोषी राईले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।
महोत्सवमा प्रर्दशनका लागी १ सय ५० वटा विभिन्न स्टलहरु रहने छन् । साथमा, बालबालिकाहरुका लागी रमाईले बाल उद्यान समेत रहने महोत्सव प्रचार प्रसार समितिका संयोजक श्रीराम रायमाझीले बताए।
महोत्सवलाई भव्य रुपमा सफल बनाउन धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईको अध्यक्षतमा १ सय १ सदस्यीय महोत्सव मुल आयोजक समिति गठन गरिएको छ । जस्मा २५ सदस्यीय सचिवालय समिति र विभिन्न उप समितिहरु समेत गठन गरिएको छ ।