नेपालको राजनीतिमा युवापुस्ताले हस्तक्षेप गर्न नसकेको विषयमा बेला बखत बहस हुने गर्छ । राजनीतिक दलभित्र पनि युवापुस्ताका नेताहरूले नेतृत्वमा दाबी गरेका खबर सुन्ने गरिन्छ । यद्यपि प्रमुख राजनीतिक दलहरूमा अहिले पनि युवापुस्ताले अवसर पाउन सकेका छैनन् । युवापुस्ताले नेतृत्वमा हस्तक्षेप गर्न नसक्दा दलभित्र दशकौंंदेखि हालीमुहाली गरिरहेका पुरानै नेताहरूको प्रभाव छ । यसको ताजा उदाहरण नेपाली काङ्ग्रेसको संसदीय दलको नेता चयनबाट प्रष्ट भएको छ । काङ्ग्रेसमा नेतृत्वको पुस्तान्तरण र पार्टी रूपान्तरणको आवाज उठेको धेरै समय भइसक्यो । तर, युवा नेताहरूले अझै पनि हस्तक्षेपकारी भूमिका खेल्न सकेको देखिँंदैन । संसदीय दलको नेता चयनमा युवा नेता गगन थापाका पक्षमा धनराज गुरुङ, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल, शेखर कोइरालालगायतका चर्चित नेताहरू लाग्दासमेत थापाले २५ मत मात्रै पाए भने शेरबहादुर देउवाले ६४ मत पाएर नेतामा चुनिए । हुन त यो जितका लागि देउवाकोे तयारी पहिलेदेखि नै थियो । टिकट वितरणमा प्रमुख भूमिका पार्टी सभापति देउवाको हुने नै भयो । उनले आफ्ना पक्षका उम्मेदवारहरूलाई मिलाएरै टिकट वितरण गरेका थिए । पुराना नेताहरूलाई आफु संसदीय दलको नेता बने राष्ट्रपतिदेखि मन्त्री र विभिन्न पदमा अवसर दिने आश्वासन पनि दिएका थिए । त्यसैको परिणाम उनले सहजै संसदीय दलको नेता बन्ने अवसर पाए ।

यसपटकको राजनीतिक परिस्थितिअनुसार काङ्ग्रेसको संसदीय दलको नेता चयन हुनु भनेको अब चाँडै प्रधानमन्त्री बन्ने बाटो खुल्नु पनि हो । तर, त्यसभन्दा पनि महŒवपूर्ण सवाल काङ्ग्रेसको पुस्तान्तरणको थियो । त्यसकारण पनि काङ्ग्रेसभित्र मात्र होइन, आम नागरिकमा समेत संसदीय दलको नेता देउवा वा थापा को बन्लान् ? भन्ने सर्वत्र चासोको विषय थियो । देउवाले पुरानै काङ्ग्रेसको प्रतिनिधित्व गर्छन् भने थापाले नयाँ पुस्ताको अर्थात् रूपान्तरित काङ्ग्रेसको । देशको राजनीतिमा उठ्ने गरेको युवापुस्ता र पुरानो पुस्ताबीचको सङ्घर्षको प्रतिनिधित्व पनि यो संसदीय दलका नेता चयनले ग¥यो । तर, देउवाको विजयसँगै काङ्ग्रेसभित्र अझै परिवर्तन पक्षधरको पकड छैन र फेरि पनि उही पुरातन शैलीकै राजनीति हाबी हुन्छ भन्ने सङ्केत पनि देखिएको छ । राजनीतिमा युवापुस्ता हाबी भएमात्र देशको विकास अघि बढ्छ भन्ने मान्यता राख्नेहरू निराश हुन सक्छन् तर, युवापुस्तालाई निराश हुने छुट छैन । काङ्ग्रेसमा मात्र होइन, समग्र देशको राजनीतिमा युवा नेतृत्व आउनु जरुरी छ । त्यसका लागि सङ्घर्ष जारी राख्नुको विकल्प छैन ।

काङ्ग्रेसभित्र पुरानो पुस्तालाई चुनौती दिन जसरी नयाँपुस्ताका परिवर्तन पक्षधर नेताहरू एकजुट भए, त्यसले पक्कै पनि काङ्ग्रेस नेताहरूमा मात्र होइन, राजनीतिप्रति चासो राख्नेहरू सबैमा आशाको सञ्चार गरेको हुनुपर्छ । किनभने हार जित जे भए पनि कम्तिमा युवापुस्ता एकजुट भएर परिवर्तनका लागि आवाज बुलन्द गर्न सके । यसबाट अन्य दलका युवा नेताहरूले पनि नेतृत्वका लागि एकजुट हुनुपर्ने ज्ञान लिन सक्छन् । वर्षौंंदेखि एउटै व्यक्ति संसदीय दलको नेता भएर प्रधानमन्त्रीको उम्मेदवार बन्ने प्रचलन सबै दलमा उस्तै छ । उनीहरूले देशका लागि के कति गरे भन्ने त अहिलेसम्म राजनीति बुझ्नेहरूले बुझिसकेका होलान्, फेरि पनि उनीहरूकै हातमा देशको तालाचाबी सुम्पनुले देश परिवर्तन हुन अझै समय लाग्छ भन्ने सङ्केत गरे पनि युवापुस्ताको हस्तक्षेप बढ्दा आशावादी बन्ने ठाउँ पनि छ । अझै पनि हरेक दलका युवापुस्ताले नेतृत्वका लागि नयाँ दृष्टिकोणसहित अघि बढ्नु आवश्यक छ । पुराना नेताका कुरा काट्नै नसक्ने, जायज कुरामा पनि तर्क गर्नै नसक्ने हो भने देशले कहिले पाउँछ, युवापुस्ताको नेतृत्व ?