चाँडो चाँडो फड्को मार्दै उपमहानगर भएको र महानगरको यात्रामा अगाडि बढ्दै गरेको सहर हो इटहरी । यसको आधुनिक इतिहास लामो छैन । प्राज्ञिक इतिहास पनि कलिलै छ । सांस्कृतिक र राजनैतिक इतिहास भने अरू समान नै छ । सामाजिक र राजनैतिक सभ्यताका लागि इतिहासको महŒव हुने रहेछ । यो सन्दर्भमा इटहरीलाई सभ्य र सुसंस्कृत बाटोमा लैजाने दायित्व वर्तमान पुस्ताको काँधमा रहेको छ ।

गैसारस्थित सरस्वती स्कुलको विगत उत्खनन् गर्ने सिलसिलामा मैले इटहरी नामको आधारभूमि के हो भन्ने बारेमा पनि छोटो खोज राखेको थिएँ । त्यसैले पुष्टि गर्ने गरी इटहरी चोकमा ठिङ्गुरा बनाएर राखिएछ । इटहरीमा एउटा दरोगा थिए र अपराधीहरूलाई ठिङ्गुरा ठोक्ने (तुरुङ हाल्ने)अधिकार थियो उनलाई । थारु भाषामा ‘इटा’ भनेको ‘यो’ र ‘हरी’ भनेको ‘ठिङ्गुरा’ हो । त्यसैकारण ‘इटा हरी’ (यो ठिङ्गुरा) भन्दाभन्दै इटहरी भएको हो ।

प्रसङ्ग इटहरी चोकको नै हो । यसरी इटहरी नामकरणलाई पुष्टि गर्ने इतिहासलाई सम्मान गरियो इटहरी चोकमा । त्यसको लागि त धन्यवाद दिनै पर्छ, तर ठिङ्गुरा त खुट्टामा लगाएर सजाय दिने साधन हो । त्यसलाई आदिवासी थारुहरूलाई टाउकामा बोकाएर सजाय दिएको प्रतीक किन राखिएको ? यसलाई कुन सन्दर्भले पुष्टि गर्न खोजेको हो, यसको कल्पनाकारले ? त्यसको चित्तबुझ्दो आधार नपाउन्जेल त्यो जसरी स्थापना गरियो, त्यसले ठीक इतिहास बकेन, सही सन्देश दिएन भनेर भन्नुपर्ने भयो ।

इटहरी चोकको ट्राफिक व्यवस्थापन अहिले पनि मिलेको छैन । यसको मुख्य दुईवटा कारण छन् । एउटा निर्माणाधीन उत्तर–दक्षिण सडक सम्पन्न नहुनु र अर्को चालकहरूमा ज्ञानको कमी । चोकमा भएको सकारात्मक काम भनेको ट्राफिक लाइट हो । ट्राफिक लाइटसम्बन्धी ज्ञानको अभावका कारण चालकहरूले आफू जानुपर्नेतर्फको लेन पहिचान गर्न सक्दैनन् । सधैँ खुल्ला रहनु पर्ने देब्रेतर्फको लेन सिधा जाने वा दायाँ जाने गाडीले छेकेर बसिदिनाले अनावश्यक जाम हुने गर्छ ।

ट्राफिक लाइटको बेवास्ता गरेर निषेधित समयमा पनि गाडी अगाडि बढाउनाले दुर्घटनाको जोखिम त झन् बढे झैं लाग्छ । जेजस्तो भए पनि इटहरी चोकको ट्राफिक व्यवस्थापनको चुनौती समाधान गर्ने उपाय भनेको फ्लाइओभर मात्र हो । सरकारमा बस्नेको आँखा जहिले खुल्छ, तहिले यहाँ फ्लाइओभर बन्नेछ भनेर पर्खिनुबाहेक अरू उपाय छैन । त्यसबेलासम्म सेल्फी पुल बनाउने र आहा १ इटहरी बनाउने नक्कली भाषणहरू मात्र सुनिरहनु पर्नेछ ।

इटहरी चोकमा अहिले एउटा नयाँ कुरा देखिएको छ, त्यो हो पानीको फोहोरा । पहिले यहाँ ग्रिनबेल्ट थियो । त्यसलाई हटाएर पानीको फोहोरा राखिएछ । हेर्दा लाग्छ, कुनै पार्कमा पुगिएछ कि क्यो हो ! तर, विचारणीय कुरा के छ भने यातायातको व्यस्तता भएको सहरको मुख्यचोकमा पानीको फोहोरा राख्नु ठीक कि बेठीक ? चालकको ध्यान तान्ने कुनै चमकधमक राख्नु ठीक कि बेठीक ? के यो कुनै देशमा प्रयोगमा आएर सफल भएको कुरा हो ? चोकलाई पार्कमा जस्तो दृश्यावलोकनको लागि पानीको फोहोरा बनाउने अतिशयोक्तिपूर्ण अवधारणा कुन विद्वान को हो ? यस्ता कुराहरू कुनै पार्क बनाएर, तालतलैयातिर राखौं, चोकमा राखेर दुर्घटना ननिम्त्याऊँ । हाम्रो केवल सुझावमात्र हुन्छ । कर्ताको विचार परिवर्तन नहुन्जेल सुधार हुन पनि सम्भव छैन ।